भित्रभित्रै खोक्रिएर
बाहिर बाँचेको
भ्रष्टाचारको भुतले तर्साएको
अनगिन्ती समस्याले पिल्सिएको
ए जिन्दगी धिक्कार छ जिन्दगी
ढुङ्गाको सिरानी बनाएर
निदाउनु पर्छ यहाँ
धारिला सीसामा
पाइला टेकेर
जिउनु पर्छ यहाँ
यहाँ बाँचे पनि धिक्कार
यहाँ मरे पनि धिकार
ए जिन्दगी धिक्कार छ जिन्दगी
भित्तामा अल्झाएर राखेको
दर्पण जस्तो यो जिन्दगी
हातबाट छुट्दा
ढुङ्गामा बजेर
प्याट्ट फुट्न सक्ने जिन्दगी
ए जिन्दगी धिक्कार छ जिन्दगी
रबरको त्यो बेलून जस्तो
सस्तो जिन्दगी
कुनै बस्तुसँग स्पर्श गर्न नपाउँदै
प्याट्ट फुट्न सक्ने
ए जिन्दगी धिक्कार छ जिन्दगी
गणतन्त्रको भुतले
सताएको यो, जिन्दगी
महँगीको रापले
तताएको यो, जिन्दगी
वर्षायामको मौसम जस्तो
परिवर्तित
पलमै टन्टलापुर घाम
पलमै झरी बादल झर्न सक्ने
ए जिन्दगी धिक्कार छ जिन्दगी
ए जिन्दगी धिक्कार छ जिन्दगी!!
(कवि छेडागाड नगरपालिका -२ साल्मा जाजरकोटका हुनुहुन्छ।)















