राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ।
बिहान ११:३० बजे सुरु गरिएको उक्त अभियान संघीय सांसद विनिता कठायतको हस्ताक्षरबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। सुरुदेखि नै सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति र समर्थन पाइरहेको यो अभियानप्रति जुम्लामा उत्साहजनक प्रतिक्रिया देखिएको छ।
रास्वपा जुम्लाका सचिव जगतबहादुर खत्रीका अनुसार, हालसम्म खलंगास्थित कृष्ण मन्दिर नजिक मात्रै झण्डै २०० जनाले हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाएका छन्।
देशव्यापी तथा विदेशमा सञ्चालन भइरहेको यस अभियानमार्फत रास्वपाले न्याय, समानता र सत्ता दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक मूल्यको संरक्षण गर्न लागिपरेको समेत जनाएको छ।














