जुम्ला स्थित प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरमा बिहीबार दिउँसो २:४० बजे अज्ञात व्यक्तिले दानपेटिका फोडेर रकम चोरी भएको छ। मन्दिर परिसरमा प्रहरी यूनिट खडा भएको र सुरक्षाकर्मीको उपस्थिति रहेको अवस्थामा पनि दानपेटिका चोरी भएको हो।
चन्दननाथ मन्दिरका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार, सिसिटिभी फुटेजमा अज्ञात व्यक्तिले दानपेटिका फोडेर रकम चोरी गरेको स्पष्ट देखिएको छ। प्रारम्भिक अनुमानअनुसार करिब १२ हजार रुपैयाँ चोरी भएको बताइएको छ।
जानकारीअनुसार, सुरक्षाकर्मी खाजा खान गएको मौका छोपेर चोरले दानपेटिका फोडेको हो। मन्दिर परिसरमा प्रहरी यूनिट रहँदा पनि यस्तो घटना हुनुले सुरक्षाकर्मीको लापरबाही र फितलो निगरानी स्पष्ट हुन्छ।
मन्दिरमा चोरी हुनेमा यो पहिलो पटक भने होइन। केही वर्षअघि मन्दिरबाट दत्तात्रयसहित अन्य बहुमूल्य मूर्तिहरू चोरी भएका थिए, तर ती चोरीका दोषीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। मूर्ति चोरीको घटनाले मन्दिरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको थियो र अहिलेको दानपेटिका चोरीले त्यही कमजोरीलाई पुनः उजागर गरेको छ।
दानपेटिका चोरीको घटनापछि स्थानीयवासी र भक्तजनहरू त्रसित भएका छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाएको दान सुरक्षित नरहेको भन्दै मन्दिर व्यवस्थापन र प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यता, प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य जारी राखेको दाबी गरेको छ। तर डिएसपी रविन बाबु रेग्मीले यो घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।














