दुई दिनसम्म चल्ने यो मेलाले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर शैक्षिक अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।
जुम्लाको हिमा गाउँपालिकामा तेस्रो पढाइ मेला भव्यताका साथ सुरु भएको छ। यो मेला शैक्षिक क्षेत्रमा नवप्रवर्तन, विद्यार्थीहरूको प्रतिभा र सीपको प्रदर्शन, तथा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्ने उद्देश्यले आयोजित एक महत्त्वपूर्ण पहल हो।
दुई दिनसम्म चल्ने यो मेलाले पालिकाभित्रका २३ वटा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर शैक्षिक अनुभव आदानप्रदान गर्न र स्थानीय स्तरमा शिक्षाको महत्त्व उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
यो मेला हिमा गाउँपालिकाको वडा नम्बर १, देयार गाउँको विद्यालयमा आयोजना भइरहेको छ, जहाँ शैक्षिक सामग्रीको प्रदर्शनी, विद्यार्थीहरूको सिर्जनशील प्रस्तुति र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रमहरू समावेश छन्।

हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ र सिर्जनात्मक पहलहरूको थालनी गरेको छ। पढाइ मेला आयोजनाको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नु, विद्यार्थीहरूको दबिएका प्रतिभाहरूलाई उजागर गर्नु, र शिक्षालाई व्यवहारिक सीपसँग जोडेर विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई जिम्मेवार बनाउनु हो।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मेलाको उद्घाटन गर्दै भने, “हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा सिर्जनात्मक र नयाँ कामको थालनी गरेको छ। शिक्षालाई व्यवहारिक सीपसँग जोडेर विद्यार्थी, शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउने यो पहलले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा छ।”
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूको पढाइप्रति विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्। दुर्गम क्षेत्रका विद्यालयहरूमा शैक्षिक अवस्था खस्कँदो रहेको गुनासो सुनिन्छ। यस्तो अवस्थामा पढाइ मेलाले सामुदायिक विद्यालयहरू पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रमुख आचार्यले थपे, “पढाइ मेलाले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने सन्देश फैलाएको छ। यो मेलाले शैक्षिक नवप्रवर्तन र सामुदायिक विद्यालयहरूको साख जोगाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।”

मेलामा सहभागी २३ वटा विद्यालयहरूले आ–आफ्ना शैक्षिक गतिविधिहरू प्रस्तुत गरेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए। उनका अनुसार विद्यार्थीहरूले बनाएका शैक्षिक सामग्रीहरूको प्रदर्शनी मेलाको मुख्य आकर्षण हो।
“यी सामग्रीहरूमा स्थानीय स्रोत–साधनको उपयोग गरी बनाइएका कृषि सामग्री, हस्तकला, चित्रकला, कथा, कविता, निबन्ध, गीत र अन्य सिर्जनशील कार्यहरू समावेश छन्,” उनले भने, “यी प्रदर्शनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता र सीपलाई उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउन पनि सहयोग पुर्याएको छ।”
मेलामा विद्यालयहरूबीच शैक्षिक अनुभव आदानप्रदान गर्ने कार्यक्रमहरू पनि आयोजना गरिएका छन्। शिक्षकहरूले आफ्ना शिक्षण विधिहरू र नवीन शैक्षिक अभ्यासहरू सबै सामु देखाएका छन्।
अभिभावकहरूले पनि मेलामा सहभागिता जनाएर आफ्ना बालबालिकाको प्रगति र शैक्षिक गतिविधिहरूबारे जानकारी लिने अवसर प्राप्त गरेको पालिकाकि उपाध्यक्ष सुर्पुना शाहीले बताइन्। उनले भनिन्, “यो मेला विद्यार्थीहरूको ज्ञान, सीप र प्रतिभा उजागर गर्ने अवसर हो। दबिएका प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूलाई प्रोत्साहन प्रदान गर्ने उपयुक्त थलो बनेको छ।”

मेलाको अर्को महत्त्वपूर्ण पक्ष भनेको गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम हो। यो पुरस्कारले विद्यालयहरूलाई शैक्षिक गुणस्तर सुधार गर्न थप प्रेरित गरेको छ। साथै, विद्यार्थीहरूले आफ्ना सिर्जनशील कार्यहरूको प्रदर्शनी र प्रस्तुतिमार्फत आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गरेका छन्।
मेलामा राखिएका स्टलहरूमा विद्यार्थीहरूले बनाएका विभिन्न सामग्रीहरूले स्थानीय संस्कृति, परम्परा र आधुनिक शिक्षाको संयोजनलाई झल्काएका छन्।
पछिल्लो समय निजी विद्यालयप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ। यस्तो अवस्थामा हिमा गाउँपालिकाले आयोजना गरेको पढाइ मेलाले सामुदायिक विद्यालयहरूको साख जोगाउन र त तिनीहरूलाई निजी विद्यालयहरूको तुलनामा अब्बल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको अध्यक्ष शाहीले बताए।
मेलाले सामुदायिक विद्यालयहरूको शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जोड दिएको छ। अध्यक्ष शाहीले थपे, “सामुदायिक विद्यालयको अवस्था सुधार गर्न यो पढाइ मेला नमुना बन्नेछ। हामीले शिक्षलाई जीवन उपयोगी बनाउन र विद्यार्थीहरूलाई सीपमूलक बनाउन यो मेला आयोजना गरेका हौं।”

मेलामा प्रदर्शन गरिएका शैक्षिक सामग्रीहरूले स्थानीय स्रोत–साधनको उपयोगलाई जोड दिएका छन्। उदाहरणका लागि, विद्यार्थीहरूले स्थानीय कच्चा पदार्थहरू प्रयोग गरेर बनाएका कृषि सामग्री, हस्तकला र अन्य सिर्जनशील वस्तुहरूले मेलालाई थप आकर्षक बनाएको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले बताए।
उनले भने, “सामग्रीहरूले विद्यार्थीहरूलाई स्थानीय स्रोतको महत्त्व बुझाउनुका साथै तिनीहरूलाई आत्मनिर्भर बनाउन पनि प्रेरित गरेका छन्।”
उनका अनुसार पढाइ मेलाले हिमा गाउँपालिकाको शैक्षिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। यो मेलाले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ, जसले शिक्षकहरूलाई नवीन शिक्षण विधिहरू अपनाउन प्रेरित गरेको छ।
मेलाका कारण विद्यार्थीहरूले आफ्ना सिर्जनशील कार्यहरू प्रस्तुत गर्ने अवसर प्राप्त गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए।

“उनीहरूको आत्मविश्वास र रचनात्मक क्षमता वृद्धि गरेको छ। अभिभावकहरूले पनि आफ्ना बालबालिकाको प्रगतिमा चासो देखाएर शैक्षिक प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गरेका छन्,” उनले भने।
मेलाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न र तिनीहरूलाई निजी विद्यालयको विकल्पको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यो मेलाले स्थानीय समुदायमा शिक्षाको महत्त्वबारे चेतना फैलाउनुका साथै विद्यार्थीहरूलाई व्यवहारिक र सीपमूलक शिक्षातर्फ प्रेरित गरेको छ।
समग्रमा हिमा गाउँपालिकाको तेस्रो पढाइ मेला शैक्षिक नवप्रवर्तन र विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको एक उत्कृष्ट मञ्च बनेको समन्वय प्रमुख आचार्यले थपे। “यो मेलाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न, विद्यार्थीहरूको सिर्जनशीलता र सीपलाई उजागर गर्न, र स्थानीय समुदायमा शिक्षाको महत्त्व स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।”
दुई दिनसम्म चल्ने यो मेलाले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर शैक्षिक अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। यो मेला सामुदायिक विद्यालयहरूको साख जोगाउन र तिनीहरूलाई गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा स्थापित गर्न एक नमुना पहल बनेको छ।

।
।














