जुम्लाको कनका सुन्दरी गाउँपालिकाले सबैभन्दा पहिला बजेट ल्याएको छ। जिल्लाका अन्य सात पालिकाले असार १० मा नीति तथा कार्यालय र बजेट ल्याउने तयारी गरिरहँदा कनकासुन्दरीले एक दिनअघि नै बजेट ल्याएको हो।
पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटको आकार करिब ५० बराबरको छ। सोमबार सम्पन्न १५औं गाउँसभामा उपाध्यक्ष प्रेमकली बुढाले प्रस्तुत गरेको बजेटले स्थानीय आवश्यकता र सम्भावनालाई प्राथमिकतामा राखेको छ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधार विकासलाई विशेष जोड दिइएको छ। गाउँपालिका अध्यक्ष दामोदर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय माग र गाउँबस्तीबाट छनोट भएका योजनालाई समेट्दै आत्मनिर्भरता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ।
“हामी नागरिकलाई घरदैलोमै सरकारको अनुभूति गराउँदै उत्पादनमुखी विकासमा ध्यान दिनेछौं,” आचार्यले भने।
कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड १ लाख, सशर्त पूँजीगत अनुदान २ करोड ७० लाख, सशर्त चालु अनुदान १६ करोड ३० लाख र विशेष अनुदान १ करोड ७८ लाख प्राप्त भएको छ।
त्यस्तै, राजस्व बाँडफाँडबाट ९ करोड १९ लाख ८४ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड २५ लाख ४९ हजार, सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार र राजस्व बाँडफाँडबाट ७ लाख प्राप्त भएको छ।
आन्तरिक राजस्वबाट ३२ लाख र अन्य आन्तरिक स्रोतबाट ४ करोड ६५ लाख संकलन हुने अनुमान छ। गैरसरकारी संस्थाहरू आईएनएफबाट १७ लाख ८६ हजार र क्याड नेपाल, जुम्लाबाट ९२ लाख ८५ हजार बजेट प्राप्त भएको छ।















