मंगलवार, ३ असार, २०८२

व्यापारीलाई कमाउन पाए पुग्छ, मानिसहरू जानाजानी आफैं आफ्नो ज्यान सिध्याउँदै !

हामीले पिइरहेको पानीदेखि कोक, फन्टा, जुसलगायतमा केमिकल मिसाइएको छ। हरेक खानेकुरामा केमिकल मिसाइएको छ। मिठाई देख्दा मुख रसाउँछ। तर, त्यही मिठाईले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याइरहेको छ। किनभने मिठाईमा विभिन्न अखाद्य रङहरू प्रयोग गरिएको हुन्छ। यतिमात्र होइन, यहाँ त दूध, दहीसमेत नक्कली पाइन्छ। पाउडरबाट दूध बनाइन्छ। दहीलाई राम्रो देखाउन केमिकल मिसाइन्छ।

केही समययता मानिसहरू बिरामी हुने क्रम बढ्दो छ। कोही बिरामी भएर अस्पतालमा उपचाररत छन् भने कोही घरमै थला परेका छन्। यसरी बिरामीहरूको संख्या बढ्दै जानुमा जार तथा बोतलका पानी प्रमुख कारण रहेको पाइएको छ। जार र बोतलका पानी प्रशोधित भनिए पनि त्यही पानीले रोग निम्त्याइरहेको छ।

खोला, नदी, जमिनमुनिको फोहोर पानी निकालिन्छ। अनि केमिकल मिसाएर प्रशोधित भन्दै बेचिन्छ। बजारमा एक जार पानीको ६० रुपैयाँदेखि सय रुपैयाँसम्म पर्छ। यस्तै, मिनरल वाटरको ठाउँअनुसार २० रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म असुलिन्छ। बाहिर घुमफिर गर्न निस्किँदा मानिसहरू मिनरल वाटर किनेर पिउँछन्।

यति महँगोमा पानी किने पनि गुणस्तरहीन हुन्छ। त्यही पानी पिउँदा कतिपयलाई झाडापखाला, हैजासम्म हुने गर्छ। काठमाडौंमा खानेपानीको अभाव छ। घरघरमा जारका पानीको प्रयोग गरिन्छ। जारको पानी प्रशोधित भनिए पनि त्यसमा केमिकल मिसाएर मात्र सफा र राम्रो देखाउने गरिएको छ। अनि त्यही पानीले मानिसहरूलाई रोगी बनाइरहेको छ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाकै अनुगमन र परीक्षणबाट जार र बोतलका पानी गुणस्तरहीन भेटिएको छ। जारका पानीमा अखाद्य वस्तु पाइएको छ, जसले मानिसलाई रोगी बनाउने काम गरिरहेको छ। यता, होटल, रेस्टुरेन्ट, मिठाई पसलहरू बाहिरबाट देख्दा निकै आकर्षक देखिन्छन्। तर, त्यहाँ गएर खाएकै खानेकुराले पनि रोग फैलाइरहेको छ।

होटल, रेस्टुरेन्ट, मिठाई पसलहरूमा बाहिर ताजा र राम्रो खानेकुरा देखाइन्छ। तर, अर्डर गर्दा वा खान जाँदा पाँच दिनदेखि महिनौंसम्म बासी खानेकुरा दिइन्छ। बाहिर देखिएको खानेकुरा नै दिएको होला भन्ने ठानेर ग्राहकले खान्छन्। तर, त्यो खाएपछि उनीहरू अस्पताल भर्ना हुनुपरेको छ। हुन त यहाँ मानिसहरूले आफैं आफू र अरूलाई समेत रोगी बनाइरहेका छन्।

मानिसहरू कोही भोका भएमा एक पोका बिस्कुट किनेर दिँदैनन्। तर, चुरोट, रक्सी खान र खुवाउन भने उनीहरू सक्षम छन्। पछिल्लो समय नेपालीहरूमा विशेषगरी तीनवटा रोग देखिएको छ– पहिलो क्यान्सर, दोस्रो मिर्गौला र तेस्रो कलेजो, मुटु तथा फोक्सोसम्बन्धी रोग। गाउँदेखि शहरसम्म यी रोगका बिरामी भेटिन्छन्। अस्पतालमा यस्ता बिरामीको चाप थेगिनसक्नु छ।

हामीले पिइरहेको पानीदेखि कोक, फन्टा, जुसलगायतमा केमिकल मिसाइएको छ। हरेक खानेकुरामा केमिकल मिसाइएको छ। मिठाई देख्दा मुख रसाउँछ। तर, त्यही मिठाईले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याइरहेको छ। किनभने मिठाईमा विभिन्न अखाद्य रङहरू प्रयोग गरिएको हुन्छ। यतिमात्र होइन, यहाँ त दूध, दहीसमेत नक्कली पाइन्छ। पाउडरबाट दूध बनाइन्छ। दहीलाई राम्रो देखाउन केमिकल मिसाइन्छ।

सिलप्याक मदिरामा पनि केमिकल मिसाइएको हुन्छ। घरेलु मदिरा त देशी मल, भैंसीको हड्डी, पुरानो कपडा, जुत्ता, सख्खरलगायतबाट बनाइन्छ। यो मदिरा पिएपछि कलेजो, फोक्सो, मिर्गौला सजिलै सिद्धिन्छ। चुरोट, खैनी, गुट्खाजस्ता सूर्तीजन्य पदार्थले पनि मानव शरीरको महत्त्वपूर्ण र संवेदनशील अंगलाई गम्भीर असर पुर्याउँछ। यसको असर शुरुमा नदेखिए पनि विस्तारै मानिसको ज्यानै लिन्छ।

सुपारी धेरैलाई मन पर्छ। अधिकांशले सुपारी चपाउँछन्। तर, सुपारीले स्वास्थ्य र दाँतमा समेत असर पुर्याउँछ। सुपारी खानेको दाँत चाँडै सिद्धिन्छ। दाँत दुखेपछि मानिसहरू डेन्टल पुग्छन्। त्यहाँ मानिसको स्वास्थ्यमा कमाउ धन्दा चलाइन्छ। सामान्य सफा गरेर ठीक हुने दाँतलाई समेत काम नलाग्ने भन्दै निकाल्न लगाइन्छ।

किनभने नयाँ दाँत हालेपछि डेन्टललाई फाइदा हुन्छ। एउटै नक्कली दाँत पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ। जति महँगो, त्यति राम्रो भन्दै प्रचार गरिन्छ। बिरामीले पनि ठीक होला भन्ने ठानेर लाखौं खर्चेर दाँत हाल्छन्। तर, दाँत हालेकै केही दिनमा निस्किन्छ र त्यो दाँत हाल्दा वा निकाल्दा अन्य दाँतमा समेत असर पुग्छ।

नहलिएको दाँत हलिन्छ भने पहिले निकालेको दाँत सफा गर्दा अन्य दाँतको आधा भाग नै सकिएको हुन्छ। जसले गर्दा पहिला एउटा दाँतमा मात्र समस्या थियो भने डेन्टल पुगेपछि अधिकांश दाँत उपचार गर्नुपर्ने अवस्था आउँछ। पछिल्लो समय ट्याटु खोप्नेहरूको संख्या बढ्दो छ। भर्खरका युवायुवतीले शरीरभरि ट्याटु खोपेका छन्।

ट्याटु खोपेपछि विदेश जान र सरकारी जागिर खान नपाइनेमात्र होइन, क्यान्सरसमेत निम्तिन्छ। ट्याटु खोपेका अधिकांशमा क्यान्सर देखिन थालेको छ। यो मात्र होइन, कपाल राम्रो देखाउन अनेक रङ हालिन्छ। त्यसले पनि मानिसको स्वास्थ्यमा असर पुर्याइरहेको छ। रङमा केमिकल मिसाइएको हुन्छ, जसले क्यान्सर निम्त्याउँछ।

महिला तथा युवतीहरू राम्री बन्न विभिन्न महँगा क्रिमको प्रयोग गर्छन्। मुखमा भएका दाग तथा डण्डीफोर मेसिनको प्रयोग गरेर हटाइन्छ। बाहिरी रूपमा त राम्री देखिन्छ, तर भित्रभित्रै त्यसले निम्त्याएको रोगले मानिसको ज्यानै लिन्छ। पछिल्लो समय बजारमा आयुर्वेद पसलहरू छ्यापछ्याप्ती भेटिन्छन्।

तर, आयुर्वेद व्यापारीहरूले आफ्नो फाइदाका लागि रोग नलागेका व्यक्तिलाई समेत रोग लागेको भन्दै आफ्नो औषधि खुवाएर रोगी बनाउने गरेका छन्। अस्पतालमा पनि केही समययता यस्तै ठगी धन्दा मौलाएको छ। कतिपय अस्पतालले चेकजाँच गर्न आएका व्यक्तिलाई रोग नभए पनि विभिन्न रोग रहेको बताएर आफ्नो औषधि बेच्छन्।

अनि त्यो औषधि खाएपछि निरोगी व्यक्ति समेत रोगी बन्छ। आयुर्वेद र अस्पतालले ठग्छन् नै, साथै माता, धामीझाँक्रीका नाममा ठग्ने क्रम अझै रोकिएको छैन। अन्धविश्वासमा परेर मानिसहरू बिरामी हुँदा माता कहाँ पुग्छन्। त्यहाँ पुग्नेहरूले आफ्नो धनसम्पत्ति उपचार गर्दागर्दै वा मातालाई दिएर सिद्ध्याउँछन्।

व्यापारीहरूले आफ्नो फाइदाका लागि जनतालाई रोगी बनाए। जनता पनि सचेत भएनन्। हामी जन्मिँदा निरोगी हुन्छौं। तर, बाहिरको खानेकुरा खाएसँगै रोग लाग्छ। शुरुमा सामान्य रोग लाग्छ। तर, भनिन्छ नि, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो। हामी रोग लागेपछि उपचार गर्न जान्छौं। डाक्टर सही परेमा र आफ्नो स्वास्थ्यलाई गम्भीर रूपमा लिएमा उपचारपछि ठीक हुन सकिन्छ।

तर, डाक्टर गलत परेमा र बाहिरका खानेकुरा खान नछोडेमा त्यो व्यक्ति बच्न सक्दैन। यसैले, मानिसले आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्छ। सरकारले पनि जनतालाई सचेत गराउनुपर्छ। मदिरा, सूर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउनुपर्छ। साथै, अभिभावकहरूले आफ्ना छोराछोरीलाई बाहिरी खानेकुरा खान दिनुहुँदैन।

विद्यालयमा शिक्षक-शिक्षिकाले विद्यार्थीलाई बाहिरका खानेकुरा खानबाट रोक्नुपर्छ। अहिले त विद्यालयबाहिर चटपटे, पानीपुरी बेच्न राखिएको हुन्छ। त्यो खाएर अधिकांश विद्यार्थी बिरामी भएका छन्। किनभने पानीपुरीको झोल अखाद्य पानी वा पिसाबबाट समेत बनाइने गरेको छ। पहिला मानिसहरू गरिब थिए, च्यातिएको कपडा लगाउँथे। अहिले ठ्याक्कै उल्टो छ। बाहिरबाट मानिस राम्रा र धनी देखिन्छन्, तर भित्र रोगै-रोग छ। अनि मानिस जतिसुकै शिक्षित भएर के गर्नु, जब उसले आफ्नै ज्यानको ख्याल गर्न सक्दैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार