सिंजा गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमले यस्ता सूचकहरूको अध्ययनमा जोड दिएको थियो। विद्यार्थीहरूले स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गरी उनीहरूको स्वास्थ्य समस्याहरू, जीवनशैली र स्वास्थ्य सेवाको पहुँचबारे जानकारी सङ्कलन गरे।
सिंजा गाउँपालिका सांस्कृतिक र ऐतिहासिक धरोहरको हो। हालै एक अभूतपूर्व स्वास्थ्य पहलको साक्षी बनेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका एमबीबीएस पाँचौं ब्याचका प्रथम वर्षका विद्यार्थीहरूले त्यहाँ सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न गरेका छन्।
यो कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र सचेतनाको अभावलाई सम्बोधन गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा स्थापित भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले विगत केही वर्षदेखि कर्णाली क्षेत्रको स्वास्थ्य सेवालाई सुदृढ बनाउन विभिन्न पहलहरू गर्दै आएको छ।
विशेषगरी, एमबीबीएसका विद्यार्थीहरूलाई सामुदायिक स्वास्थ्य अध्ययनको हिस्साको रूपमा ग्रामीण क्षेत्रमा पठाउने परम्पराले यहाँका बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुगेको छ।
एक महिना प्रतिष्ठानका ५० जना एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले सिंजा गाउँपालिकाको १, २, ३, ५ र ६ नम्बर वडाहरूमा स्वास्थ्य सचेतना र निदान कार्यक्रम सञ्चालन गरे। प्रत्येक वडामा १० जनाको समूह बनाएको थियो।
समूह नायिकाको रुपमा सिंजाको चुलेलगाउँ, अवस्थिबडा, लगायतका गाउँहरुमा पुगेकि विद्यार्थी अनुश्री पाण्डेले स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गरी स्वास्थ्य सम्बन्धी जानकारी र सचेतना फैलाउने काम गर्दा खुसी लागेको बताइन्।
उनले भनिन्, “हामी डाक्टर बनेर यस्तै समुदायका मान्छेहरुको रोक नपदानको काम गर्ने हो। अहिले नै सिक्ने अवसर मिलेको छ। खुसी छौं।”
प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेका अनुसार, यो कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक स्वास्थ्यको समग्र मूल्याङ्कन गर्नु र स्थानीय स्तरमा रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, र सचेतनाको स्तर वृद्धि गर्नु थियो।
“हामीले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेका हौं,” काफ्लेले भने, “साथै, ग्रामीण समुदायमा स्वास्थ्य समस्याहरूको पहिचान र समाधानका लागि यो एउटा महत्वपूर्ण अवसर हो।”
कार्यक्रमको समापन समारोहमा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले यो पहलको खुलेर प्रशंसा गरे। उनले भने, “हाम्रो गाउँपालिकामा डाक्टर पाउनु भनेको पहिले सपना जस्तै थियो।”
उनले थपे, “विगतमा हामी अहेब र सीएमएलाई डाक्टर भन्थ्यौं। तर, आज ५० जना एमबीबीएस विद्यार्थीहरू हाम्रो समुदायमा आएर स्वास्थ्य सेवा र सचेतना फैलाउँदा हामी अत्यन्तै खुसी छौं।”
उनका अनुसार हाम्रो क्षेत्रमा रोगव्याधिका कयौं कथाहरू छन्। कतिपय रोगहरू अज्ञानताका कारण जटिल बनेका छन्। अब यस्ता कार्यक्रमले रोगको निदान र रोकथाममा ठूलो सहयोग पुर्याउनेछ।
उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन र गाउँपालिकाले आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सामुदायिक स्वास्थ्य निरुपण भनेको कुनै समुदायको स्वास्थ्य अवस्थाको समग्र विश्लेषण हो। यसमा सामाजिक, भौतिक, जैविक, आर्थिक, र सांस्कृतिक पक्षहरूको अध्ययन गरिन्छ।
यो प्रक्रियाले समुदायमा विद्यमान रोगहरूको ढाँचा, मृत्यु दर, जन्म दर, रोगको प्रचलन र अन्य स्वास्थ्य सूचकहरूको विश्लेषण गर्छ। यसले स्वास्थ्य सेवा योजना, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका लागि मार्गदर्शन प्रदान गर्छ।
सिंजा गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमले यस्ता सूचकहरूको अध्ययनमा जोड दिएको थियो। विद्यार्थीहरूले स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गरी उनीहरूको स्वास्थ्य समस्याहरू, जीवनशैली, र स्वास्थ्य सेवाको पहुँचबारे जानकारी सङ्कलन गरे।
उनीहरूले रोग रोकथामका उपायहरू, सरसफाइ, पोषण, र औषधिको सही प्रयोगबारे सचेतना फैलाउने काम गरेको सहायक प्राध्यापक काफ्लेले बताए।
कार्यक्रमको एक महत्वपूर्ण पक्ष थियो एन्टिबायोटिकको अत्यधिक र अनुचित प्रयोगले निम्त्याउने खतराहरूबारे सचेतना फैलाउनु। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार, एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) विश्वव्यापी स्वास्थ्यका लागि ठूलो चुनौती बनेको छ।
अनावश्यक र गलत तरिकाले एन्टिबायोटिक प्रयोग गर्दा ब्याक्टेरियाहरूमा प्रतिरोधी क्षमता विकास हुन्छ, जसले सामान्य रोगको उपचार पनि जटिल बनाउँछ।
सिंजाका ग्रामीण समुदायमा पनि एन्टिबायोटिकको अनुचित प्रयोगको समस्या रहेको विद्यार्थीहरूले पाए। “कतिपय स्थानीय बासिन्दाहरू सामान्य ज्वरो, रुघाखोकी, वा अन्य समस्याहरूमा पनि डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्ने गरेको पाइयो,” एमबीबीएस अध्ययनरत विद्यार्थी भाग्यनाराण यादवले भने।
यो प्रवृत्तिलाई रोक्न विद्यार्थीहरूले घर-घरमा पुगेर एन्टिबायोटिकको सही प्रयोग, यसको जोखिम, र वैकल्पिक उपचार विधिहरूबारे जानकारी दिए।
“हामीले स्थानीय बासिन्दाहरूलाई बुझायौं कि हरेक रोगको उपचारमा एन्टिबायोटिक आवश्यक हुँदैन,” उनले भने, “सामान्य भाइरल ज्वरोमा पनि एन्टिबायोटिक खाने बानीले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ।”
कार्यक्रमले स्थानीय समुदायमा ठूलो प्रभाव पारेको छ। सिंजा गाउँपालिकाको -३की ४५ वर्षीया काली बुढाले भनिन्, “हामीलाई पहिले रोगको बारेमा यति धेरै थाहा थिएन। डाक्टर साबहरूले हामीलाई खानेकुरा, सरसफाइ र औषधिको सही प्रयोगबारे सिकाए। अब हामी सचेत भएका छौं।”
त्यस्तै, २ नम्बर वडाका ३२ वर्षीय रामसिंह रावतले भने, “हाम्रो गाउँमा डाक्टर आउँदा हामीले धेरै कुरा सिक्यौं। विशेषगरी, औषधि खाँदा डाक्टरको सल्लाह लिनुपर्छ भन्ने कुरा हामीलाई नयाँ लाग्यो।”
स्थानीय बासिन्दाहरूले यो कार्यक्रमले उनीहरूको स्वास्थ्यप्रति चासो र सचेतना बढाएको बताए। कतिपयले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव पनि दिए।
यो कार्यक्रमले एमबीबीएसका विद्यार्थीहरूलाई पनि ठूलो सिकाइको अवसर प्रदान गरेको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, स्थानीय समुदायको जीवनशैली र उनीहरूले भोग्ने स्वास्थ्य समस्याहरूको प्रत्यक्ष अनुभवले विद्यार्थीहरूको दृष्टिकोणमा परिवर्तन ल्याएको छ।
“हामीले किताबमा पढेका कुराहरूलाई यहाँ व्यवहारमा उतारेका छौं,” एक विद्यार्थीले भने, “स्थानीय समुदायसँगको अन्तरक्रियाले हामीलाई डाक्टरको जिम्मेवारी र सामुदायिक स्वास्थ्यको महत्व बुझायो।”
प्रतिष्ठानका सहायक प्राध्यापक काफ्लेले पनि विद्यार्थीहरूको उत्साह र सक्रियताको प्रशंसा गरे। उनले भने, “यो कार्यक्रमले विद्यार्थीहरूलाई ग्रामीण स्वास्थ्य सेवाको चुनौती र अवसरहरूबारे गहिरो बुझाइ प्रदान गरेको छ। उनीहरूले यहाँ सिकेका कुराहरू भविष्यमा डाक्टरको रूपमा काम गर्दा उपयोगी हुनेछ।”
सिंजा गाउँपालिकामा सञ्चालित यो कार्यक्रमले धेरै सकारात्मक प्रभाव पारे पनि केही चुनौतीहरू पनि देखिए। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच, शिक्षाको कमी र अन्धविश्वासका कारण स्वास्थ्य समस्याहरू जटिल बनेको पाइएको विद्यार्थी पाण्डेको अनुभव छ।
नियमित स्वास्थ्य शिविर, सचेतना कार्यक्रम र स्थानीय स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरेर यस्ता समस्याहरूलाई कम गर्न सकिने स्थानीयको बुझाई छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस्ता पहलहरूलाई विस्तार गरी अन्य गाउँपालिकाहरूमा पनि सञ्चालन गर्नुपर्ने स्थानीय बासिन्दाहरूले माग गरेका छन्।