शिविरको अन्तिम दिन कुडारी स्वास्थ्य चौकीमा बिहानैदेखि मानिसहरूको लाइन लागेको थियो। बूढापाकादेखि बालबालिकासम्म, सबैले आफ्ना स्वास्थ्य समस्याबारे विशेषज्ञसँग परामर्श गर्ने अवसर पाए।
जुम्लाको तिला गाउँपालिकाका दुर्गम बस्तीहरूमा विशेषज्ञ स्वास्थ्य सेवा पुगेको छ। तर, २०८२ सालको वैशाख ११ देखि १४ गतेसम्म चार दिनसम्म यो कथा वास्तविकतामा बदलियो।
घोडेमहादेव र कुडारी स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरले ७६५ स्थानीयबासीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको सेवा प्रदान गर्यो।
तिला-३ की ५० वर्षीया रत्नकली सुनारका लागि यो शिविरले लामो समयदेखिको पीडामा मल्हम लगाइदियो। “घुँडा र छाती दुख्छ, धेरै समयदेखि सास्ती भइरहेको थियो,” उनले आफ्नो अनुभव सुनाइन्।
विशेषज्ञ चिकित्सकले उनको जाँच गरेर औषधि र सुझाव दिएपछि उनको अनुहारमा राहतको मुस्कान देखियो। “यस्तो शिविर गाउँमा नआएको भए हामीजस्ताले डाक्टरलाई कहाँ भेट्थ्यौँ र?” उनले कृतज्ञतापूर्वक भनिन्।
तिला -३ कै ६० वर्षीय हरी बहादुर खत्री पनि यो शिविरको आकर्षणले स्वास्थ्य चौकी पुगे। “हड्डी, ढाड, तालु खाइन्छ, धेरै दुख्छ,” उनले आफ्नो पीडा व्यक्त गरे।
गाउँमा सबैले शिविरको चर्चा गरेपछि उनी पनि जाँच गराउन आएका थिए। “गाउँमा सबैले भने, राम्रो शिविर बसेको छ भनी। त्यसैले आएँ,” उनले थपे।
विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरेर उपचारको सल्लाह दिएपछि उनलाई आफ्नो स्वास्थ्यप्रति ढुक्क भएको अनुभव भयो। “यस्तो अवसर हामीलाई कहिल्यै आएको थिएन। गाउँमै डाक्टर भेट्दा मनै रमायो,” उनले मुस्कुराउँदै भने।
तिला गाउँपालिकाको स्वास्थ्य शाखाले यो पहललाई सावधानीपूर्वक योजना बनाएर कार्यान्वयन गरेको थियो। घोडेमहादेव स्वास्थ्य चौकीमा दुई दिनमा २६१ जनाले स्वास्थ्य जाँच गराए भने कुडारी स्वास्थ्य चौकीमा ५०४ जनाले सेवा लिए।
तिला गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन उत्तम देवकोटाले भने, “हाम्रो उद्देश्य गाउँका बासिन्दालाई यात्रा र खर्चको बोझ बिना विशेषज्ञ सेवा प्रदान गर्नु थियो।”
उनको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी स्त्रीरोग, हाडजोर्नी, नसारोग र सामान्य चिकित्सासम्बन्धी विशेषज्ञ चिकित्सकहरूलाई ल्याएको थियो। “हामीले स्थानीयवासीको स्वास्थ्य समस्यालाई नजिकबाट बुझेर यो शिविर आयोजना गरेका हौँ,” देवकोटाले थपे।
‘जनतासँग अध्यक्ष, उपाध्यक्ष’ कार्यक्रमअन्तर्गत तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले स्वास्थ्य सेवालाई आफ्नो प्राथमिकताको केन्द्रमा राखे।
“यी शिविरहरूले एकैपटक धेरै रोगको जाँच र उपचार गर्न सकिन्छ, जसले हाम्रा बासिन्दालाई प्रत्यक्ष लाभ पुग्छ,” रोकायाले गर्वका साथ भने। उनले थपे, “हाम्रो गाउँपालिकाको ग्रामीण भेगमा यस्ता शिविरहरूले स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याएको छ।”
स्थानीय नेतृत्वको यो प्रयासलाई तिला-५ का वडाध्यक्ष ललित बहादुर शाहीले पनि प्रशंसा गरे। “यो शिविरले हाम्रा वडावासीको स्वास्थ्यमा ठूलो योगदान दिएको छ,” उनले भने, “विशेषज्ञ चिकित्सकहरू गाउँमै आएर सेवा दिँदा जनताले ठूलो राहत महसुस गरेका छन्। यस्ता शिविरले हाम्रो समुदायलाई स्वस्थ र सशक्त बनाउन मद्दत गर्छ।”
गत फागुन १४ गते जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर आयोजना गरिएको थियो। त्यो शिविरले पनि स्थानीयवासीलाई ठूलो सहयोग गरेको थियो।
तर, वैशाखको यो चारदिने शिविरले आफ्नो व्यापकता र प्रभावका कारण विशेष स्थान बनायो। दुर्गम क्षेत्रमा यस्ता विशेषज्ञ सेवाहरू विरलै उपलब्ध हुन्छन् र तिलाका बासिन्दाले यो अवसरलाई हातबाट फुस्कन दिएनन्।
शिविरको अन्तिम दिन कुडारी स्वास्थ्य चौकीमा बिहानैदेखि मानिसहरूको लाइन लागेको थियो। बूढापाकादेखि बालबालिकासम्म, सबैले आफ्ना स्वास्थ्य समस्याबारे विशेषज्ञसँग परामर्श गर्ने अवसर पाए।
रत्नकली सुनार र हरी बहादुर खत्रीजस्ता बिरामीहरूले आफ्नो उपचारको बाटो पाए, भने जयबहादुर बुढाजस्ता अरू स्थानीयवासीले यो शिविरले आफूहरूलाई स्वास्थ्यप्रति सचेत बनाएको बताए।
“हामीलाई यस्ता शिविरले आफ्नो स्वास्थ्यको ख्याल गर्न सिकायो,” जयबहादुरले भने, “गाउँमै यस्तो सेवा पाउँदा हामीलाई ठूलो गर्व लाग्छ।”