मंगलवार, ३ असार, २०८२

जुम्लामा १० दिने औद्योगिक महोत्सव

महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गरेका छन्।

जुम्लाको सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।

उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा सञ्चालित यो महोत्सवले स्थानीय उत्पादन, संस्कृति, र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गरेका छन्। उद्घाटन समारोहमा बोल्दै शाहीले महोत्सवले कर्णालीको कृषि, पर्यटन, र सांस्कृतिक सम्पदालाई प्रचार–प्रसार गर्नुका साथै औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

“स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनका लागि यो महोत्सव कोसेढुङ्गा सावित हुनेछ,” उनले भने, “अधिकतम अवलोकनकर्ताहरूलाई सहभागी गराउन आयोजकले विशेष तयारी गरेको छ।”

महोत्सवमा कर्णालीका स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ, जसले रैथाने संस्कृतिको संरक्षण र प्रचारमा जोड दिनेछ। उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार, महोत्सवमा चर्चित देउडा गायकहरू नवराज भण्डारी, विपना सिंह, र सम्झना अधिकारीको प्रस्तुति हुनेछ।

साथै, जुम्लामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाएका कलाकारहरूको पनि सहभागिता रहनेछ। “यो महोत्सवले स्थानीय प्रतिभाहरूलाई मञ्च प्रदान गर्नेछ र जुम्लाको सांस्कृतिक पहिचानलाई उजागर गर्नेछ,” देवकोटाले भने।

महोत्सवमा २२ वटा स्टल राखिएका छन्, जसमध्ये पहिलो दिन पाँचवटा स्टल सञ्चालनमा आएका छन्। आयोजकका अनुसार सबै स्टल बुकिङ भइसकेका छन्।

यी स्टलहरूमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्रीहरू प्रदर्शनी र बिक्रीका लागि राखिनेछ। “हामीले स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्नेछन्,” अध्यक्ष देवकोटाले थपे।

यसअघि महोत्सव सीमाचौर र नेपाली सेनाको टुँडिखेल मैदानमा आयोजना हुँदै आएको थियो। तर, यस वर्ष सीमाचौरमा रङ्गशाला निर्माण र सेनाले मैदान उपलब्ध नगराएपछि कभर्ड हलको मैदानमा महोत्सव आयोजना गरिएको हो।

महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसरहरू पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ।

“हामी स्थानीय उद्योग, रैथाने बाली, र पर्यटन प्रवर्धनमार्फत कर्णालीको सम्भावनालाई विश्वसामु पुर्‍याउन चाहन्छौँ,” देवकोटाले भने।

यो महोत्सव वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले अवलोकनकर्ताहरूलाई स्थानीय उत्पादन किनेर र सांस्कृतिक प्रस्तुतिको आनन्द लिई महोत्सवलाई सफल बनाउन आह्वान गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार