घरजग्गाको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यस्तो अवस्थामा ठूला व्यापारीहरूले बैंकबाट लिएको ऋण नतिरे के होला ? ‘हाम्रो आमा साह्रै बाठी, चामलसँग पिठो साटिन्’ भन्ने गीत बैंकहरूसँग मिल्न गएको छ। बैंक आफैँले सय रुपैयाँ कित्तामा सेयर निष्कासन गर्यो। अनि त्यही सेयरलाई २७ सय मूल्यांकन गरेर ८० प्रतिशत कर्जा दिन्छ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमा छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकिसकेको छ।
यतिमात्र होइन, उनले साढे चार अर्ब राजस्व छली गरेको पनि अदालतले ठहर गरिसकेको छ। वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। भाटभटेनी सञ्चालक गुरुङ एमालेनिकट मानिन्छन्। त्यसैले, सर्वोच्चले दोषी ठहर गर्दासमेत उनलाई सरकारले कारबाही गरेको छैन। तर, ओली सरकार ढल्नासाथ गुरुङ पक्राउ पर्ने नै छन्।
गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन्। प्रसाईंले पनि दश अर्बभन्दा बढी ऋण बैंकबाट लिएका छन्। बैंकबाट ऋण लिनेमा ठूलादेखि साना व्यापारीसम्म छन्। फरक यही हो कि साना व्यापारीले एक लाखदेखि दश लाख रुपैयाँसम्म कर्जा लिएका छन् भने ठूला व्यापारीहरूले दश करोडदेखि अर्बौँ ऋण लिएका छन्। यता, गुरुङ र प्रसाईंलाई सामान दिने व्यापारीहरू निराश छन्।
किनभने उनीहरूले भुक्तानी पाएका छैनन्। भाटभटेनीले सामानको पैसा नदिएपछि केही वर्षअघि एक व्यापारीले संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदह गरेको हामी सबैले देखिसकेका छौँ। अहिले भाटभटेनीमा काम गर्ने कर्मचारीहरूले तीन महिनादेखि वर्षौँसम्मको तलब पाएका छैनन्। प्रसाईंले पनि कर्मचारीलाई पारिश्रमिक दिएका छैनन्।
अब गम्भीर कुरा के हो भने भाटभटेनी साहु गुरुङ र प्रसाईंले करोडको धितो राखेर अर्बौँ कर्जा लिएका छन्। साढे दुई दर्जन भाटभटेनी भवन धितो राखेर गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन्। प्रसाईंले झापाको बीएण्डबी अस्पताल र भक्तपुरस्थित घर धितो राखेर बैंकबाट दश अर्ब ऋण लिएका छन्।
प्रसाईं प्रहरी हिरासतमा पुगिसकेका छन् भने गुरुङ पनि ओली सरकार ढल्नासाथ जेल चलान हुने छन्। अनि दुवै जना जेल पुगेपछि बैंकको हालत के होला ? सोच्नैपर्ने अवस्था आएको छ। फेरि बैंकमा भएको रकम जनताको हो। अनि यिनीहरू जेल पुग्नासाथ जनता डुब्नेछन्।
काठमाडौँको अनामनगरस्थित हाल भाटभटेनी रहेको जमिन २०३१–०३२ सालमा रोपनीको १२ सय रुपैयाँमा समेत बिक्री नभएको त्यहाँका बूढापाकाले बताउँछन्। भक्तपुरको राधेराधेस्थित पनि अहिले भाटभटेनी बनेको जमिन ६ दशकअघि रोपनीको एक–दुई सय रुपैयाँमा समेत बिक्री हुँदैनथ्यो भन्छन् यहाँका स्थानीय। उनीहरूका अनुसार त्यतिबेला यहाँ मरेको मान्छे पोल्ने–गाड्ने गरिन्थ्यो।
जसका कारण यहाँ राक्षस र भूतसमेत हिँड्ने उनीहरू नै बताउँछन्। एक रोपनी जग्गामा १६ आना हुन्छ। ६ दशकअघि रोपनीको सयौँमा नबिक्ने जमिन केही वर्षअघि आनाकै ६० लाखदेखि करोडसम्म पुग्यो। गायक कुमार बस्नेतले ‘छोरीभन्दा आमा तन्नेरी, किरिम पाउडरले’ भन्ने गीत गाएका थिए।
अहिले यो गीत जमिनसँग मिलेको छ। दशकअघि रोपनी जमिन एउटै पाटो हुन्थ्यो। तर, दलालहरूले डोजर लगाएर खण्ड–खण्ड बनाएपछि त्यतिबेला सय रुपैयाँमा नबिक्ने जमिन आनाकै लाखौँमा बिक्री भयो। त्यही जमिन धितो राखेर व्यापारीहरूले बैंकबाट अर्बौँ ऋण लिए। पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी आएको सबैलाई थाहा छ।
घरजग्गाको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यस्तो अवस्थामा ठूला व्यापारीहरूले बैंकबाट लिएको ऋण नतिरे के होला ? ‘हाम्रो आमा साह्रै बाठी, चामलसँग पिठो साटिन्’ भन्ने गीत बैंकहरूसँग मिल्न गएको छ। बैंक आफैँले सय रुपैयाँ कित्तामा सेयर निष्कासन गर्यो। अनि त्यही सेयरलाई २७ सय मूल्यांकन गरेर ८० प्रतिशत कर्जा दिन्छ।
छिमेकी मुलुकहरूमा नेपालीमा बढीमा पाँच लाख रुपैयाँ पर्ने गाडी यहाँका अटो शोरुमहरूले दश लाखदेखि करोडौँमा बेचिरहेका छन्। त्यही गाडीलाई बैंकले फेरि किनेको मूल्यको ८० प्रतिशत कर्जा प्रवाह गर्छ। बैंकमा संकट आउँदै छ। ठूला व्यापारीहरूका कारण बैंक टाट पल्टिने अवस्थामा पुगिसकेको छ। गुरुङ र प्रसाईं त उदाहरण मात्रै हुन्।
बैंकबाट करोडको धितो राखेर अर्बौँ ऋण लिनेमा हजारौँ ठूला व्यापारीहरू छन्। तिनीहरूले बैंकको साँवाब्याज तिरेका छैनन्। बैंक धर्मसङ्कटमा परेको छ। धितो लिलाम गयो भने पनि कर्जा उठ्दैन, नगरोउँ भने त्यो पनि गुम्ला भन्ने डर। फेरि बाहिर बैंक डुब्ने चर्चा आगोजस्तै फैलिएको छ। बैंकमा बचत गर्नेहरूको समेत निद्रा र भोक हराएको छ।
सहकारीजस्तै बैंक पनि भाग्ने डर आम नागरिकमा छ। त्यसैले, बैंकबाट आफ्नो पैसा निकाल्नतिर मानिसहरू लागिसकेका छन्। सहकारी बचतकर्ताहरू निक्षेप डुबेपछि आन्दोलन गरिरहेका छन्। उनीहरू आन्दोलनमा होमिएको वर्षौँ बितिसक्यो। तैपनि बचत फिर्ता पाएका छैनन्। यो देखेर बैंकका बचतकर्ताहरू सतर्क भएका छन्।
उनीहरू धमाधम निक्षेप निकालिरहेका छन्। सहकारी होस् वा बैंक, डुब्नुको मुख्य कारण घरजग्गा, गाडी र सेयर हो। छिट्टै नाफा कमाउन आँखा चिम्लेर लगानी गर्दा व्यक्ति, बैंक, वित्तीय संस्था यसमा डुबेका छन्, फसेका छन्। कबाडीको भाउमा समेत बिक्री नहुने अवस्थामा आइसकेको छ। देश मन्दीमा छ। बेरोजगारी छ। काम गरेको ठाउँबाट समेत तलब नपाएको अवस्था छ। पैसा हुनेले त लुकाइसके। अहिले भाटभटेनी, सुपरमार्केट र बिगमार्ट सुनसान देखिन्छ। कुहिएको सामान बेचिएर हो वा पैसा नभएर हो, कुन्नि।
व्यापार–व्यवसाय ठप्पै भइसकेको छ। अधिकांश व्यापारीको मुखबाट एउटै कुरा सुनिन्छ, “बाँच्न नसकेर सटर बन्द गर्नुपर्छ।” बजार झन्–झन् मन्दीतर्फ मोडिएको छ। राजस्व उठ्ने मालपोत र यातायात कार्यालय सुनसान छन्। नेपालका अधिकांश बैंकमा मारवाडीहरूको लगानी छ। दुर्गा प्रसाईंले भन्थे, “मारवाडीहरूलाई देश निकाला गर्नुपर्छ। यिनीहरूले नेपालीलाई ठगे।”
अब साँच्चिकै मारवाडीहरूले नेपालीलाई कङ्गाल बनाउने दिन नजिकिएको छ। किनभने बैंकमा सङ्कट आउनासाथ नेपाली जनताको पैसा लिएर यिनीहरू त आफ्नो देश फर्किहाल्नेछन्। सहकारीमा बचतकर्ताको डुबेको पैसा फिर्ता गर्ने भन्दै सरकारले सहकारी प्राधिकरण खडा गर्यो। तर, प्राधिकरण गठन भएको यत्रो महिना बितिसक्दा पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन।
यता, राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि सरकारले सकिरहेको छैन। मानिसहरूले ब्याजको लोभमा आफूसँग भएको सम्पूर्ण रकम सहकारी र बैंकमा राखे। काम नगरी बसिबसी खाने उनीहरूको उद्देश्य थियो। तर, “चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी” भनेझैँ ब्याजको लोभमा पर्दा मानिसहरूको जीवनभरको दुखको कमाइसमेत डुबेको छ। बूढापाकाले भन्थे, “लोभीको धन, लुचाले खान्छ।” खाइ–नखाइ मानिसहरूले सहकारीमा बचत गरे। अहिले ठगहरू त्यो पैसा नै लिएर भागे।