मंगलवार, ३ असार, २०८२

जाजरकोटमा सहिद विदुर स्मृति दोस्रो यु–१९ भलिबल कप सम्पन्न, वाइ.ए.पि टिम च्याम्पियन

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा भेरी २ का हरिश शाही चयन भएका छन्।

जाजरकोटको सदरमुकाममा अवस्थित त्रिभुवन मावि, थाप्लेमा चार दिनसम्म चलेको सहिद विदुर स्मृति दोस्रो यु–१९ भलिबल कप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भेरी नगरपालिका वडा नं. १ को वाइ.ए.पि टिमले प्रतियोगिताको च्याम्पियन उपाधि हासिल गरेको हो।

दोस्रो स्थानमा नलगाड–७ को बगरभिल्ला होटेल टिम र तेस्रो स्थानमा भेरी नगरपालिका वडा नं. २ को टिम रहेका छन्। विजेता टिमले क्रमशः ५०, ३५ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा भेरी २ का हरिश शाही चयन भएका छन्। त्यस्तै, उत्कृष्ट डिफेन्डरमा भेरी १ का सन्दीप विक, उत्कृष्ट ब्लकरमा कमल परियार, उत्कृष्ट सटरमा दीपक शाही, उत्कृष्ट स्पाइकरमा बिमल विक र उदयमान खेलाडीको रूपमा खडक रानाले सम्मान पाएका छन्।

यो प्रतियोगिता सहिद स्मृति युवा क्लबले आयोजना गरेको हो, जुन जाजरकोटका सक्रिय युवा प्रेम बहादुर विकले आफ्ना सहिद बुवा कर्ण बहादुर विक ‘विदुर’ को स्मृतिमा स्थापना गरेका हुन्।

क्लबका अध्यक्ष प्रेमबहादुर विकका अनुसार, यो प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेत गराउनु र खेलकुदमार्फत सकारात्मक परिवर्तन ल्याउनु हो। उनले यो कार्यक्रमले युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सहिद विदुर स्मृति पुरस्कारअन्तर्गत ४० वर्षमुनिका पाँच जना प्रभावशाली व्यक्तित्वलाई पनि सम्मान गरिएको छ। पुरस्कृत हुनेमा भेरी नगरपालिकाकी उपप्रमुख सिता जैसी, पत्रकार रेशम खड्का, व्यवसायी भिमबहादुर कार्की, खिमबहादुर सिंह र कृषक मोतिराम रावत रहेका छन्।

समापन समारोहमा जाजरकोट जिल्ला समन्वय समितिकी उपप्रमुख दलबहादुर सिंहसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष प्रेमबहादुर विकले आगामी संस्करणलाई अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार