बुधबार, १० असार, २०८३

कविता : मलाई लाग्छ

जब म सडक जाममा पर्छु,
तब म नेपाली हुँ लाग्छ,  
जब मैले नेता को, “ल्यान्डकुर्जर, प्राडो”
देख्छु तब म 
नेपाली हुँ लाग्छ, 

जब, मैले माइती घरमा,
उखु पीडित किसानहरुलाई देख्छु,
तब म नेपाली हुँ लाग्छ, 
जब म सिंहदरबार छिर्न पाउँदिन
तब म नेपाली हुँ लाग्छ,  

जब त्रिभुवन विमानस्थलमा,
देशकै आँसु देख्छु
तब म नेपाली हुँ लाग्छ, 
जब मन्दिर भक्तेको देख्छु
तब म नेपाली हुँ लाग्छ,

जब दशैंको टीका निधारमा सिँगार्छु,
तब मात्र म नेपाली हुँ लाग्छ,
तर भ्रष्टाचारमा चुर्लुम्म डुबेका ती,
नेताहरूलाई चाहिँ, सायदै लाग्दैन!

जब तिहारमा दिदीबहिनीको माया पाउँछु,
तब म नेपाली हुँ लाग्छ,
तर भाइटीका लगाएर परदेशिन बाध्य दाजुभाइहरूको पीडा कसलाई लाग्छ?
जब भित्ता भरि गौतम बुद्धको मुस्कान भेट्छु,
तब म नेपाली हुँ लाग्छ,

तर शिक्षाको अभावले,
भुलभुलैया हिँड्दै गरेका,
बालबालिकालाई के लाग्छ?
जब पोखरीमा माछा फालेर,
छठ मनाउँछु,
तब म नेपाली हुँ लाग्छ

तर सरकारी आँखा झ्याप्पै बन्द हुँदा,
सुख्खा पोखरी देख्ने किसानलाई के लाग्छ?
जब कर तिर्दा सास्ती भोग्छु,
तब म नेपाली हुँ लाग्छ,

नेताका सन्तान विलासमा रमाउँदा,
तिनीहरूलाई के लाग्छ?
जब अस्पतालको सिट,
नपाएर छटपटिन्छु,
तब म नेपाली हुँ लाग्छ,

विदेशमै उपचार गराउने,
मन्त्रीज्यूहरुलाई नेपाली हुँ
भन्ने कहिले लाग्छ?
जब सिमा मिचिएको देख्छु,
तब म नेपाली हुँ लाग्छ,

सिंहदरबारभित्रका कुर्सीमा,
टाँस्सिनेहरूलाई के लाग्छ?
जब देश छाडेर परदेश हिँड्छु,
तब म नेपाली हुँ लाग्छ,

यहाँ उद्योगधन्दा थला पार्ने,
हाकिमहरूलाई के लाग्छ?

जब मगर, नेवार, थारू राई,
लिम्बू, मधेसी भन्दै अँगालो हाल्छु,
त्यसपछि मात्रै साँच्चै ,
म नेपाली हुँ लाग्छ,

जातजातिको नाममा राजनीति,
खेल्नेहरूलाई कहिल्यै नेपाली हुँ लाग्दैन!
सकिन्छ कि सकिन्न, थाहा छैन,
तर मेरो देश फेरि उठ्ने आशा छ,
किनभने जबसम्म म 
नेपाली हुँ लाग्छ,
त्यतिन्जेलसम्म मेरो देश जिउँदो छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार