मंगलवार, ३ असार, २०८२

स्तन क्यान्सर: जीवन रक्षाका लागि सचेतना र समयमै कदम

जब स्तन बढ्छ, भित्र गिर्खाजस्तो संरचना महसुस हुन सक्छ। महिनावारीको समयमा स्तन संवेदनशील, सुन्निएको वा दुख्ने गर्छ, जुन सामान्य मानिन्छ। यस्तो अवस्थामा युवावस्थाबाटै आफ्नो स्तनको स्व-परीक्षण गर्ने बानी बसाउन सके पछि हुने असामान्य परिवर्तन सजिलै पत्ता लगाउन सकिन्छ।

स्तन क्यान्सर एक यस्तो रोग हो जसले स्तनका कोषहरूलाई असामान्य रूपमा बढ्न बाध्य बनाउँछ र ट्युमरको रूपमा परिणत गर्छ। यदि यो प्रक्रिया नियन्त्रणमा नराखिए, ट्युमर शरीरका अन्य भागहरूमा फैलिन सक्छ र घातक बन्न सक्छ।

सन् २०२२ मा विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यो रोगले विश्वभर ६ लाख ७० हजार मानिसको ज्यान लियो, जसले यसको गम्भीरतालाई प्रस्टाउँछ। रोचक तथ्य के छ भने, सम्पूर्ण स्तन क्यान्सरका घटनाहरूमध्ये करिब आधा महिलाहरूमा कुनै विशेष जोखिम कारक बिना नै देखिन्छ, जसमा लिङ्ग र उमेरबाहेक अन्य स्पष्ट कारण हुँदैन।

त्यसैगरी, १८५ मध्ये १५७ देशहरूमा सन् २०२२ मा यो रोग महिलाहरूमाझ सबैभन्दा सामान्य क्यान्सरको रूपमा दर्ज भयो। विश्वको कुनै पनि देश यो रोगबाट अछुतो छैन। यद्यपि पुरुषहरूमा यो रोग दुर्लभ छ र कुल घटनाको ०.५-१% मात्रै पुरुषमा देखिन्छ।

विश्वव्यापी तथ्यांकले मानव विकास सूचकांक (HDI) अनुसार स्तन क्यान्सरको प्रभावमा ठूलो असमानता देखाउँछ। उदाहरणका लागि, उच्च मानव विकास सूचकांक भएका देशहरूमा हरेक १२ मध्ये १ महिलाले आफ्नो जीवनकालमा यो रोगको सामना गर्नुपर्छ भने ७१ मध्ये १ को मृत्यु यसैबाट हुन्छ। यो असमानताले स्वास्थ्य सुविधा, जागरूकता र जीवनशैलीको भिन्नतालाई उजागर गर्छ।

नेपालमा नसर्ने रोगहरूको वृद्धि तीव्र गतिमा भइरहेको छ। यहाँ महिलाहरूमाझ हुने क्यान्सरमध्ये पहिलो स्थानमा पाठेघरको क्यान्सर छ भने दोस्रोमा स्तन क्यान्सर। नेपाली महिलाहरूका लागि यो दोस्रो सबैभन्दा घातक रोग बनेको छ।

स्रोतसाधन सीमित भएका देशहरू जस्तै नेपालमा यो रोगको निदान प्रायः ढिलो हुन्छ, जसले उपचारको प्रभावकारिता घटाउँछ। यहाँ धेरैजसो महिलाहरूले अपर्याप्त उपचार, पीडा कम गर्ने सुविधा वा उपशामक हेरचाह मात्र पाउँछन्।

सामाजिक-आर्थिक असमानता, स्वास्थ्य सेवाको न्यून पहुँच र अपर्याप्त वित्तीय स्रोतले रोकथाम र उपचारमा ठूलो बाधा उत्पन्न गरिरहेको छ। नेपालमा यो रोगको बढ्दो प्रभावलाई नियन्त्रण गर्न प्रभावकारी कदमको खाँचो छ, तर हालसम्म भएका प्रयासहरू पर्याप्त देखिँदैनन्।

स्तनको विकास किशोरावस्थाको प्रमुख संकेत हो। प्रायः किशोरीहरूमा महिनावारी सुरु हुनुअघि नै स्तनको वृद्धि हुन्छ। यो समयमा स्तनमा नियमित परिवर्तनहरू हुन्छन्, जुन स्वाभाविक प्रक्रिया हो।

जब स्तन बढ्छ, भित्र गिर्खाजस्तो संरचना महसुस हुन सक्छ। महिनावारीको समयमा स्तन संवेदनशील, सुन्निएको वा दुख्ने गर्छ, जुन सामान्य मानिन्छ। यस्तो अवस्थामा युवावस्थाबाटै आफ्नो स्तनको स्व-परीक्षण गर्ने बानी बसाउन सके पछि हुने असामान्य परिवर्तन सजिलै पत्ता लगाउन सकिन्छ।

यो कुनै लाजमर्दो वा नगर्नुपर्ने कुरा होइन। जसरी हामी आफ्नो कपाल वा अनुहारको हेरचाह गर्छौं, त्यसैगरी महिनामा एक पटक केही मिनेट समय निकालेर स्तनको परीक्षण गर्नु जीवन रक्षाको पहिलो कदम हुन सक्छ। यो सानो प्रयासले ठूलो जोखिमबाट बचाउन सक्छ।

स्तन क्यान्सरका कारणहरू विविध छन्। महिला हुनु नै पहिलो जोखिम हो, विशेष गरी प्रौढावस्थामा। यदि परिवारमा आमा, दिदी, बहिनी वा छोरीलाई यो रोग भएको छ भने वंशाणुगत जोखिम बढ्छ।

बीआरसीए वान र बीआरसीए टु जस्ता जीनमा उत्परिवर्तन भएमा सम्भावना झनै उच्च हुन्छ। १२ वर्षअघि महिनावारी सुरु हुने वा ५५ वर्षपछि रजोनिवृत्ति हुने महिलाहरूमा हार्मोनल असन्तुलनले खतरा थप्छ।

नियमित मदिरा सेवन, गर्भ नरोक्ने औषधि डीईएसको प्रयोग, परिवार नियोजनका लागि लामो समयसम्म हार्मोनल पिल्स वा सुईको प्रयोग, रजोनिवृत्तिको प्रभाव कम गर्न हार्मोन रिप्लेसमेन्ट थेरापी लिने महिलाहरू पनि जोखिममा हुन्छन्। मोटोपनाले पनि एस्ट्रोजन हार्मोनको उत्पादन बढाउँछ, जुन क्यान्सरको कारक बन्न सक्छ।

कहिल्यै गर्भवती नहुने वा ३० वर्षपछि पहिलो बच्चा जन्माउने महिलाहरूमा पनि यो रोगको सम्भावना बढी हुन्छ। बच्चा वा युवावस्थामा छातीको रोगका लागि विकिरण उपचार लिएकाहरूमा भविष्यमा खतरा बढ्छ। साथै, निष्क्रिय जीवनशैली र चिल्लो खानपानले पनि यो रोगलाई निम्त्याउन सक्छ।

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा लक्षणहरू देखिँदैनन्, जसले धेरैलाई भ्रममा राख्छ। तर, रोग बढ्दै जाँदा स्तन वा पाखुरामुनि कडा, अनियमित र नदुख्ने गिर्खा देखिन्छ। स्तन वा मुन्टोको आकार-प्रकारमा परिवर्तन, रातोपना, चाउरीपना, सुन्तलाको छाला जस्तो देखिनु, मुन्टो भित्र धसिनु, वरपरको छालामा कत्ला वा सुन्निनु जस्ता संकेतहरू प्रकट हुन्छन्।

स्तनबाट दूधबाहेक रातो, पहेँलो, हरियो वा पीपजस्तो तरल पदार्थ निस्कनु पनि लक्षण हो। मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु, गम्भीर अवस्थामा हड्डी दुख्नु, पाखुरा सुन्निनु वा तौल घट्नु जस्ता समस्या देखिन सक्छन्।

यद्यपि, सबै गिर्खाहरू क्यान्सर हुँदैनन्। तथ्यांकअनुसार १० मध्ये ८ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्, तर परीक्षणबिना यो निश्चित गर्न सकिँदैन।

घरमा स्तन परीक्षण गर्ने उत्तम समय महिनावारी भएको ७-१० दिनपछि हो। २०-३९ वर्षका महिलाले हरेक तीन वर्षमा एक पटक र ४० वर्षमाथिकाले वर्षमा एक पटक स्तन परीक्षण गर्नुपर्छ।

विधि सरल छ। ठूलो ऐनाअगाडि नांगो उभिएर एउटा हात उठाउनुस् र अर्को हातका बीचका तीन औंलाले विस्तारै गोलाकार मालिस गर्दै परीक्षण गर्नुस्।

पहिले हल्का दबाबले छाला, मध्यम दबाबले बीचको तन्तु र जोडले दबाएर भित्री भाग जाँच्नुस्। स्तन, छाती, पाखुरामुनि, काखी र काँधसम्म छाम्नुस्। त्यसपछि ऐनामा आकार, रंग, चाउरीपना र मुन्टोबाट तरल पदार्थ निस्कन्छ कि हेर्नुस्। यो नियमित गर्नाले असामान्यता तुरुन्तै थाहा हुन्छ।

प्रारम्भिक जाँचमा स्व-परीक्षण पहिलो कदम हो। महिनावारी सुरु भएदेखि हरेक महिलाले गिर्खा, मुन्टोको परिवर्तन वा काखीका लिम्फ नोड सुन्निएको छ कि जाँच्नुपर्छ। म्यामोग्राम विशेष एक्स-रे हो जसले स्तनको भित्री चित्र लिन्छ र ४० वर्षमाथिका महिलालाई वार्षिक रूपमा सुझाइन्छ।

अल्ट्रासाउन्ड र एमआरआईले थप जानकारी दिन्छ। यदि गिर्खा फेला परे, रस जाँच वा बायोप्सीमार्फत क्यान्सर हो कि होइन पुष्टि हुन्छ। रस जाँचमा सुईले तरल पदार्थ निकालेर विश्लेषण गरिन्छ भने बायोप्सीमा मासुको नमूना लिएर सूक्ष्मदर्शकले जाँचिन्छ।

उपचार रोगको चरण र उमेरमा निर्भर हुन्छ। शल्यक्रियामा गिर्खा मात्र (लम्पेक्टोमी) वा पूरै स्तन (मास्टेक्टोमी) हटाइन्छ। केमोथेरापीले कडा औषधि प्रयोग गरी क्यान्सर कोष मारिन्छ।

विकिरण चिकित्साले शक्तिशाली किरणले प्रभावित क्षेत्र नष्ट गर्छ। हार्मोन उपचारले हार्मोनल असन्तुलन नियन्त्रण गर्छ, जुन कतिपय क्यान्सरको कारण हुन्छ। यी विधिहरू एकल वा संयोजनमा प्रयोग हुन्छन्।

नेपालमा स्तन क्यान्सर दोस्रो प्रचलित घातक रोग हो। ढिलो निदानका कारणहरूमा सचेतनाको कमी, सीमित स्क्रिनिङ कार्यक्रम, स्वास्थ्य सुविधाको अभाव र सामाजिक-सांस्कृतिक अवरोध छन्।

महिलाहरू लाज वा अज्ञानताले जाँच गर्न हिच्किचाउँछन्। सरकारले राष्ट्रव्यापी क्यान्सर साक्षरता, निःशुल्क जाँच र सुलभ उपचारका लागि नीति बनाउनुपर्छ। समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य जरुरी छ।

यो रोग जीवन बदल्ने भए पनि समयमै पहिचान र उपचारले नियन्त्रण सम्भव छ। हरेक महिलाले नियमित परीक्षणको बानी बसाल्नुपर्छ र समाजले खुला संवादलाई प्रोत्साहन गर्नुपर्छ। सानो सावधानीले ठूलो संकट टार्न सकिन्छ।

अत्यावश्यक नसर्ने रोगहरूको प्याकेज (पेन) कार्डियो भास्कुलर रोग, सीओपीडी, क्यान्सर (पाठेघर र स्तन), मधुमेह र मानसिक रोगहरुको उपचार स्वास्थ्य चौकीहरू, प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू, जिल्ला अस्पताल र अन्य अस्पतालहरूमा स्क्रिन, निदान, उपचार नि:शुल्क हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार