यो नतिजा केवल एक गाउँपालिकाको सफलता मात्र नभई सुशासन र प्रभावकारी व्यवस्थापनको नमुना समेत भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।
तातोपानी गाउँपालिका, जुम्ला, पछिल्लो मूल्यांकनमा उत्कृष्ट स्थानीय तह घोषित भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान हासिल गरेको तातोपानीले कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन, र योजनाको सफल कार्यान्वयनका आधारमा उच्चतम अंक प्राप्त गरेको छ।
यो नतिजा केवल एक गाउँपालिकाको सफलता मात्र नभई सुशासन र प्रभावकारी व्यवस्थापनको नमुना समेत भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।
“तातोपानीले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ, जसले यसलाई जुम्लाको अन्य पालिकाभन्दा अग्रस्थानमा उभ्याएको छ,” उनले भने, “यो समग्र तातोपानीबासीको उपलब्धि हो। आगामी दिनमा यसलाई कायम राख्नु हाम्रो दायित्व हुनेछ।”
त्यस्तै दोस्रो स्थानमा ९२ प्रतिशत अंकसहित कनकासुन्दरी गाउँपालिका रहेको छ भने, हिमा गाउँपालिकाले ६९.५ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।
तातोपानीले यस्तो उपलब्धि हासिल गर्नु संयोग नभएर गाउँपालिकाको योजनाबद्ध कार्यशैली, पारदर्शिता र दिगो विकासको सोच भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए।
“तातोपानी गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्यांकनमा समेत उल्लेखनीय प्रगति देखाएको छ,” उनले भने।
उनका अनुसार तातोपानीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गर्दै गाउँपालिकाले समग्रमा ९० प्रतिशत मूल्यांकन सुरक्षित गरेको छ।
तातोपानी गाउँपालिका स्थानीय आर्थिक विकास मूल्यांकनमा समेत ९२ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ।
“तातोपानी गाउँपालिकाको यो उपलब्धि स्थानीय शासन प्रणाली कस्तो हुनुपर्छ भन्ने राम्रो उदाहरण हो,” अध्यक्ष चौलागाईंले भने, “वित्तीय पारदर्शिता, प्रभावकारी सेवा प्रवाह, नागरिक सहभागिता, र योजनाको इमानदार कार्यान्वयनले स्थानीय तहलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने उदाहरण तातोपानीले प्रस्तुत गरेको छ।”
तातोपानीको यो सफलता भविष्यका लागि प्रेरणादायी भएको उपाध्यक्ष रेवती रावलले बताइन्। “वास्तविकरूपमा नागरिकहरूको जीवनस्तर सुधार्ने लक्ष्य राखेर गरिएको प्रयास नै तातोपानी गाउँपालिकाको पहिचान हो,” उनले भनिन्, “आगामी दिनमा पनि यस गाउँपालिकाले प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिनेछ।”