मंगलवार, ३ असार, २०८२

चन्दननाथका विद्यार्थीलाई दिवा खाजामा पौष्टिक आहार

मंगलबार आयोजित अभिमुखीकरण बैठकमा नगर प्रमुख राजुसिंह कठायतले दिवा खाजाले विद्यार्थीहरूको स्वास्थ्य, अध्ययन क्षमतामा सुधार ल्याउनुका साथै स्थानीय कृषक समूह, सहकारी तथा साना किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताए।

जुम्लाको चन्दननाथ नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरू अब विद्यालयमै पौष्टिक दिवा खाजा खान पाउने भएका छन्।

यसअघि जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिकामा मात्र सञ्चालन भइरहेको विश्व खाद्य कार्यक्रम (WFP) को दिवा खाजा कार्यक्रम अब चन्दननाथका १९ वटै सामुदायिक विद्यालयमा विस्तार हुने भएको हो।

चन्दननाथ नगरपालिकामा रेरास परियोजनाअन्तर्गत सुरु भएको ‘स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम’ ले विद्यार्थीहरूलाई पोषणयुक्त भोजन उपलब्ध गराउनेछ।

मंगलबार आयोजित अभिमुखीकरण बैठकमा नगर प्रमुख राजुसिंह कठायतले दिवा खाजाले विद्यार्थीहरूको स्वास्थ्य, अध्ययन क्षमतामा सुधार ल्याउनुका साथै स्थानीय कृषक समूह, सहकारी तथा साना किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताए।

विश्व खाद्य कार्यक्रम जुम्लाका संयोजक चक्र जिसीका अनुसार आगामी फागुनदेखि कार्यक्रम लागू गरिँदै छ, जसका लागि हाल ४० लाख बजेट प्रस्ताव गरिएको छ।

कार्यक्रम अन्तर्गत विद्यालयहरूमा खाजा व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा आवश्यक सामग्री उपलब्ध गराउने योजना समेत रहेको छ।

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै शिक्षाक्षेत्रमा पोषण सुनिश्चित गर्ने यस अभियानले विद्यार्थीहरूको नियमित उपस्थिति बढाउने र उनीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार