मंगलवार, ३ असार, २०८२

संघर्षलाई संगित बनाउनले सुजनको कर्णप्रिय स्वर

काठमाडौंका गल्लीहरूमा कतिपयले उनलाई देख्थे, ‘यो केटाले अझै कता पुग्ला र?’ भन्ने भावका साथ। तर, सुजनलाई थाहा थियो, खोला जस्तै बगिरहे, अन्ततः समुन्द्र पुगिन्छ।

नुवाकोटको विदुर नगरपालिका-३ मा एउटा बालक हुर्किँदै थियो, जसले कुनै बेला सङ्गीतलाई जीवनको गहना बनाउने सपना देखेको थियो।

घरको आँगनमा गीत गुञ्जँदा, उनको मुहारमा उत्साहको चमक देखिन्थ्यो। उनी अर्थात सुजन खड्का(३१)। तर, समयसँगै यो सपनालाई वास्तविकताले चुनौती दिन थाल्यो।

परिवारका सदस्यहरु उनलाई ‘राम्रो विषय’ पढेर सुरक्षित भविष्य बनाओस् भन्ने चाहन्थे, तर उनका सपना र सङ्गीतका स्वरहरू टाढिन चाहँदैनथे। बाल्यकालमा सुजनले रेडियोमा सुन्ने गीतहरूसँगै आफ्नो स्वर मिलाउने गर्थे।

विद्यालयमा आयोजना हुने साना-साना कार्यक्रमहरूमा उनी गीत गाउने पहिलो रोजाइ बन्थे। पहिलो पटक स्कूलको एउटा कार्यक्रममा उनको गीत गुञ्जिएको थियो, दर्शकदीर्घाबाट ताली बजेको थियो।

त्यो तालीले उनको मनमा एउटा बीउ रोपिदियो, “मैले जीवनभर यही गर्नुपर्छ!”

तर, सपना देख्नु र त्यसलाई पूरा गर्नु दुई फरक कुरा हुन्। विद्यालयपछि जब करियरको कुरा उठ्यो, परिवारले चाहना राखे कि उनी ‘यथार्थपरक’ विषय रोजून। तर, सुजनले ललितकला क्याम्पस रोजे।

फाइन आर्टमा स्नातक पूरा गरेपछि, उनले सङ्गीतलाई अझ नजिकबाट चिन्न थाले। परिवार र समाजका लागि यो अचम्मको निर्णय थियो। धेरैले भने, “सङ्गीतबाट भविष्य बन्दैन।” तर, उनी आफ्नै तालमा अघि बढ्न चाहन्थे।

साँझहरू काठमाडौंका बारहरूमा बित्न थाले। उनका स्वरहरू विभिन्न रेष्टुरेन्ट र लजहरूमा प्रतिध्वनित हुन थाले। भोक लागेको बेलामा गीत गाउनु, थकित हुँदा पनि मुस्कान छर्नु, यी सबै उनका दैनन्दिन संघर्षका हिस्साहरू थिए।

काठमाडौंका गल्लीहरूमा कतिपयले उनलाई देख्थे, ‘यो केटाले अझै कता पुग्ला र?’ भन्ने भावका साथ। तर, सुजनलाई थाहा थियो, खोला जस्तै बगिरहे, अन्ततः समुन्द्र पुगिन्छ।

रियालिटी शोहरू उनले टाढैबाट हेरिरहे। लाग्थ्यो, यो सपना पनि धेरै पर छ। तर, कुनै दिन आफ्नो स्वरलाई ठूलो स्टेजमा सुनाउने उनको संकल्प कमजोर भएन।

त्यही संकल्पले उनलाई ‘दी भ्वाइस अफ नेपाल’ को अडिसन स्टेजसम्म पुर्‍यायो। जब उनी अडिसनमा उभिए, उनका दिन-रातका संघर्षहरू आँखासामु नाचिरहेका थिए। उनले आँखा चिम्म गरेर पहिलो सुर निकाले।

एक सेकेन्ड… दुई सेकेन्ड…
त्यसपछि पहिलो कुर्सी घुम्यो।
त्यसपछि दोस्रो।
तेस्रो… चौथो!

चारै जना कोचहरूले उनलाई रोजे। यो क्षण उनको जिन्दगीको सबैभन्दा ठूलो क्षणमध्ये एक बन्यो। त्यो क्षणमा, बारमा गाएका गीतहरू, समाजका टिप्पणीहरू, आफन्तका सल्लाहहरू, सबैको उत्तर, थियो उनको सफलतामा।

अब उनी ‘बाटल राउण्ड’मा प्रतिस्पर्धा गर्दैछन्। तर, उनको यात्रा केवल ‘भ्वाइस’ सम्म सीमित छैन। उनी नेपाली सङ्गीत क्षेत्रमै एउटा नाम स्थापित गर्ने लक्ष्य राख्छन्। उनले आफैंलाई बारबार सम्झाएका छन्।

“जब स्वर आत्माबाट आउँछ, त्यसलाई रोक्न कसैले सक्दैन,” उनी भन्छन्।

सुजन अब प्रेरणाको अर्को नाम बन्न थालेका छन्। संघर्षलाई सङ्गीत बनाउने उनको यात्रा अझ टाढा जानेछ। हाम्रो पनि कामना छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार