कार्यक्रममा जिल्लाका विशिष्ट साहित्यिक स्रष्टाहरु गजलकार, कवि लघुकथाकार सहितको व्यापक सहभागिता रहेको थियो।
“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान” भन्ने नाराका साथ आयोजक नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (गध्य) विभाग र सह-आयोजक नेपालगन्ज उपमहानगरपालिका बाँके तथा डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सुनाखरी रेष्टुरेन्ट विपी चोक, बाँकेमा ०८१ साल माघ १९ गते शनिवारका दिन बिहान ११.०० बजेदेखि सुरु भई समय सिमा ५.०० भित्रै नेपाल प्रज्ञा-प्रतिष्ठान बाँके आख्यान महोत्सव सम्पन्न भयो।
विद्वत व्यक्तित्वद्वारा प्रवचन रहेको बाँके जिल्लाको रैथाने कथा र आख्यानमा कस्ता आख्यान लेख्ने, रैथाने कथा किन र कसरी लेख्ने साथै लेख्नु पर्ने रैथाने कथा किन लेखिएनन् भन्ने विषयमा केन्द्रित रही १ दिने महोत्सव सम्पन्न भएको थियो।
सभाध्यक्ष प्राज्ञ अमर न्यौपानेले गर्नु भएको थियो भने स्रष्टा जित बहादुर शाहद्वारा कार्यक्रमको सञ्चालन गरिएको थियो। स्वागत मन्तव्य सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जका अध्यक्ष शसिराम कार्कीले गर्नु भएको थियो।
कार्यक्रममा जिल्लाका विशिष्ट साहित्यिक स्रष्टाहरु गजलकार, कवि लघुकथाकार सहितको व्यापक सहभागिता रहेको थियो।
नेपालगन्ज नगरीमा आयोजित उक्त महोत्सवमा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारीले पनि आख्यान लेखन गुणस्तरीय बनाउन स्रष्टा स्वयं जागृत हुनु पर्ने भन्दै बेलाबेलामा कार्यशाला लगायतका कार्यक्रम र अभियान गर्नुपर्नेमा पनि जोड दिनु भएको थियो। अन्य मन्तव्य राख्नेहरूमा नेपाल प्राज्ञ प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी पनि हुनुहुन्थ्यो।
प्रमुख एवं विशिस्ट तथा अन्य अतिथि नबनाई अग्रज साहित्यकारहरूलाई विचार विमर्शमा सहभागी गराई साहित्यकार जितबहादुर शाहले रैथाने कथा भनेको के हो? किन लेख्ने? भन्ने विषयमा बहस कार्यक्रम सुरुवात गरी बरिष्ठ साहित्यकार शनत रेग्मी, किरण आचार्य समेतका विचार राख्न लगाउनु भएको थियो।
बाँके जिल्लाका निबन्ध, निबन्धकार र लेखनीमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिनु भएको थियो भने समग्र आख्यानको अवस्था, सुधार गर्नुपर्ने पक्ष लगायतमा ईश्वरी प्रसाद रिजालले प्रवचन दिनु भएको थियो।
साहित्यमा राजनीतिको पनि स्थान छ। तर राजनीति भन्दा फरक रुपमा साहित्य जानुपर्छ, त्यसको अर्कै महत्त्व छ भन्ने मान्यता शनत रेग्मीज्यूको रहेको थियो।
यसैगरी कथा लेखनमा साहित्यकार सुमित्रा न्यौपानेले कस्तो कथा लेख्ने बहसमा सनत रेग्मी, धन प्रसाद सुवेदी र अमर न्यौपानेसँग सहजकर्ता सुमित्रा न्यौपानेले मिठासपूर्ण रुपमा सहजीकरण गर्नु भएको थियो।
साहित्यकार अमर न्यौपानले अब हुने साहित्यिक कार्यक्रममा तामझाम गरिने प्रथाको अन्त्य गर्ने रित र परम्परा बसाल्नु पर्छ भन्दै नेपालगन्ज महोत्सव सामान्य अवस्थामा दीप प्रज्वलन गरि उद्घाटन भएको र कोही कसैलाई सम्बोधन नगरी कार्यक्रम सञ्चालन गरिएको थियो।
साहित्यकार पुष्करनाथ रिजालले बाँकेको निबन्ध विधा, प्रवृति, चुनौती र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। सरल र सहज ढंगले प्रस्तुत गरिएको उक्त कार्यपत्रमा ईन्द्रमणी मानव, शनत रेग्मीले केही थान निबन्ध लेखेका छन्। बाँकेमा जति लेखिनु पर्थ्यो त्यति लेखिएका छैनन् भन्दै बाँकेमा लेखिएका निबन्धमा विवरणात्मक, वर्णनात्मक शैलीका हुने जस्ता केही सवाल कार्यपत्रमा उल्लेख गरेको पाइयो।
नेपालगन्जमा २०६६ सालमा बृहद साहित्यिक कार्यक्रम भएको थियो। यसपछि यहि महोत्सव नै ऐतिहासिक भएको कुरा पनि उल्लेख गर्नु भएको थियो।
निबन्ध खासगरी सहजै मनमा लागेका कुरामा लेख्न सकिने भएपनि लेख्ने कुरालाई चिन्न नसकिनु, लेखिएका निबन्धमा मानक नहुनु, शैली शिल्पगत कुरा नहुनु, निबन्धलाई भनेजति खँदिलो बनाउन नसक्नु, निबन्धमा हुनुपर्ने आयाम नहुनु जस्ता आजभोली लेखिने गरेका निबन्ध लेखनमा समस्या रहेको औंल्याउनु भएको थियो। यसबाहेक सिमित १/२ जना बाहेक धेरै निबन्धकार बाँकेमा जन्मिन नसक्नु अर्को चुनौती समेत औंल्याउनु भयो।
रैथाने कथामा कम्तीमा २/३ पुस्ताले एकै ठाउँमा बसेर जीवन बिताएको जातीलाई रैथाने भनि बुझ्छौँ। बाँकेको सन्दर्भमा थारु मधेशी, पहाडबाट आएर २/३ पुस्ता बिताएका पहाडीलाई पनि रैथाने जाति भन्न सकिन्छ भन्दै सनत रेग्मी ज्यूले समाजमा जसले जे भोग्छ जसले जे देख्छ त्यो कुरा प्रत्यक्ष देख्ने भोग्नेले भोगाई बारे लेखिने कथा रैथाने कथा हुन् भनि थप परिभाषा दिनुभयो।
पुर्ख्यौली बस्ती छोडि नयाँ बस्ती जोडी बस्ने पनि रैथाने हुन् भन्दै साहित्यकार किरण म्यामले पनि अर्थ्याउँदै परिभाषा दिनु भयो। साहित्यकार शेखर चौधरीले दंगीशरण राजाको कथा सुनाउँदै थारु जातीले लामो समय बिताइसकेकाले थारु जातिसँग पाइने कथा रैथाने हुन् भनी परिभाषा लगाउनु भयो।
उहाँहरूले प्रस्तुत गरेका कार्यपत्र माथि पंक्तिकारले,
धनीकि बुहारीले लाउन्या सुनका तिलहरी
धनी भन्नु मात्रै रै छ ज्यानको बिलहरी।
चिसो हावा डण्डा पानी जुम्ला बजारको
मेरो मात्तै माया होकि माया हजारको।
भन्ने यी जुम्ली लोकगीत भित्र पनि कर्णाली अञ्चलको माटोको सुगन्ध मिसिएको रैथाने कथा चित्रण हुन सक्छ भनि सुझाव यो। साहित्यकार भिमबहादुर शाही समेत २/४ जना अरु साहित्यकार समेतले रैथाने भाषा र कथामाथि टिप्पणी एवं सुझाव दिएका थिए।
समग्रमा सफा सुन्दर छङ्ग खुलेको नेपालगन्ज नगरीको मौसम, पारिलो घाम, धम्बोझीबाट अटो रिक्सामा सरर गर्दै बसेर बिपी चोक भित्र रहेको सुनाखरी रेष्टुरेन्टमा सम्पन्न नेपाल प्रज्ञा प्रतिष्ठान एवं सिर्जना साहित्य प्रतिष्ठानको समन्वयमा आयोजित बाँके रैथाने एवं आख्यान महोत्सवमा प्रज्ञा पतिष्ठानका प्राज्ञ, सदस्य सचिव बाँके जिल्लाका प्राज्ञ, विभिन्न बिधाका अग्रज एवं नबोदित साहित्यकार कवि लेखक बीच सम्पन्न समिक्षात्मक कार्यक्रमले एक खालको नवीन बहार ल्याउन सफल भएको, छरिएर रहेका साहित्यकर्मीलाई एकै ठाउँमा भेला गराई समाजमा लेख्न पर्ने र उजागर गर्नुपर्ने थुप्रै विषय भएकाले आफूले देखे जाने बुझेसम्मका विषयमा कलम चलाई भावी पुस्तालाई वर्तमानको कोसेली सुम्पिन उपस्थित सबैको एकमत रह्यो।
बेला बेला यस्ता कार्यशाला गोष्ठी समिक्षात्मक कार्यक्रम भैरहुन् भन्ने सुझाव सहित छुट्टिएको यस महोत्सवको अझै धित मरेको थिएन।
२०८१/१०/१९ नेपालगन्ज।














