मंगलवार, ३ असार, २०८२

आफ्नै पसिनाको फूलबारीमा उभिएका बलबहादुर अर्थात् बीबीसी जुम्ली

स्वदेश फर्केर इलम -२

कतारमा बिताएका वर्षहरू उनका लागि सुनौलो संयोग थिए कि भुलभुलैया? बल बहादुरले धेरै रातहरूसम्म आत्मासँग यही प्रश्न गरे। मरुभूमिको गर्मीमा रुझिएको शरीर, टाढाबाट फर्केका चिठीझैं लाग्ने घरका फोनकल, अनि प्रत्येक दिन एकै किसिमको श्रम। यी सबैले उनलाई कहिलेकाहीँ झस्काउँथ्यो, “के यही हो जीवन?”

हिमालको फेदीमा जन्मिएको एउटा सपना जब बालुवाको मरुभूमितिर हिँड्न थाल्छ, त्यसको कथा केवल पसिनाले लेखिन्छ। हिमा गाउँपालिका -३ का बल बहादुर रोकाया अर्थात फेसबुकमा बीबीसी जुम्ली नाम भएका उनको कथा पनि त्यही पसिनाले लेखिएको छ।

जुम्लाको चिसो भुइँमा आगो ताप्दै बसेका बाल्यकालका सम्झनाहरूमा कतारको तातो घाममुनि तात्तिएको फलाम जस्तौ समम मिसिँदा कस्तो होला?

सिरसिर बतासले चल्ने हावा, स्याउका फूलहरूले सेताम्य भएका गाउँका घाँसे डाँडाहरू, साँझपख घर फर्कने भेडाका बथानहरू, यी सबै छोडेर उनले त्यो दिन हवाईजहाज चढे, जसले उनलाई एउटा अनजान मरुभूमितिर उडाउँदै थियो।

सपनाको भारी काँधमा राख्दै, घरको दैलो छोड्दा आमाको आशीर्वाद उनको निधारभरि थियो। त्यो दिन जुम्लाको आकाशको रङ निलो भएर पनि केही गाढा देखिएको थियो।

कतार पुगेपछि उनलाई थाहा भयो, सपना साँच्न जति सहज लाग्छ, बोक्न त्यति नै भारी हुँदो रहेछ। पहिलो महिना तलब हातमा पर्दा ३० हजार थियो। त्यो रकमले गाउँमा चार महिनाको गुजारा चल्थ्यो। त्यसपछि महिनाहरू बित्दै गए, तलब बढ्दै गयो। ९० हजार पुग्यो। ओभर टाइम गरेर पसिनालाई अझै महँगो बनाए। महिनाको १ लाख ८० हजार पुग्यो।

तर पैसा मात्र कमाउनु जीवन होइन। विदेशमा एक्लोपन थियो। थकान थियो। दिनभर ओभानो नभएको टिसर्ट थियो। मरुभूमिको त्यो भूमिमा, जहाँ न हिमाल थिए, न स्याउका फूलहरू, उनले आफ्नो गाउँको सम्झनालाई सपनामा मात्रै देख्न थाले।

जब-जब राति आँखा चिम्लिन्थे, अँध्यारो कोठाको पर्खालमा उनलाई आँगनको ढुङ्गे बाटो देखिन्थ्यो।

कतारमा बिताएका वर्षहरू उनका लागि सुनौलो संयोग थिए कि भुलभुलैया? बल बहादुरले धेरै रातहरूसम्म आत्मासँग यही प्रश्न गरे। मरुभूमिको गर्मीमा रुझिएको शरीर, टाढाबाट फर्केका चिठीझैं लाग्ने घरका फोनकल, अनि प्रत्येक दिन एकै किसिमको श्रम। यी सबैले उनलाई कहिलेकाहीँ झस्काउँथ्यो, “के यही हो जीवन?”

एकदिन, ओभरटाइम सकाएर कोठाको कुनामा थकित भएर पल्टिएको रात, उनले मनमनै सोच्न थाले, “यो पसिना आफ्नै माटोमा बगाएको भए?” कमाइ राम्रो थियो, जीवन पनि व्यवस्थित देखिन्थ्यो। तर भित्री शून्यता कहिल्यै पूरा भएन। उनी आफूलाई सोध्थे, “जीवन भनेकै यति हो त?”

त्यसपछि एउटा निर्णय भयो, स्वदेश फिर्ती हुने।

कतारको त्यो रातो बालुवा उनका पाइतालामुनि थियो, अनि जहाज उड्ने दिन आँखाभरि सारा सम्झनाहरू। विमानस्थलमा गालाभरि पसिना पुछ्दै बोर्डिङ पास समाएको त्यो क्षणमा उनलाई लाग्यो, “यो समय म विदेशमा होइन, घरको बारीमा बिउ रोप्दै बिताइरहेको भए?”

सयौं रात सपना देखेर बाँचेका उनले पहिलो चोटी खुला आकाश मुनि आफ्नै गाउँको हावासँग सास फेरे। जुम्लाको आकाश अझै त्यही थियो, ढुङ्गे बाटाहरू उस्तै थिए, घरका ढोका उही काठका थिए। तर बदलिएको थियो बल बहादुरको दृष्टि।

“उतिबेला गाउँमा अवसर नै थिएनन् जस्तो लाग्थ्यो। भएर पनि हामीले देखेनछौं,” उनी भन्छन्, “पहिला विदेशमा मात्रै सम्भावना देख्थेँ, अहिले यता धेरै देख्छु।”

स्वदेश फर्केपछि पहिलो अवसर कृषि कार्यक्रमको जागिर थियो। विदेशमा पसिना बगाएका हातहरू अहिले आफ्नै माटो सिँच्न थाले। जुम्लाको उब्जाउ भूमिमा काम गर्दा उनले महसुस गरे, “सफलताको परिभाषा केवल नोटहरूमा मात्र छैन।”

अब उनले धेरैलाई विदेश नजान सुझाव दिन्छन्। तर थाहा छ, धेरैले मान्दैनन्। किनभने पहिला उनले पनि मानेका थिएनन्।

हिउँपछिको माटो जस्तै, बल बहादुरको जीवन फेरि नयाँ अङ्कुर फूटाउने तयारीमा थियो। परदेशमा घामले पोलिएका उनका हातहरू अब आफ्नै माटोलाई स्पर्श गर्न चाहन्थे।

कतारको ओभरटाइम, मरुभूमिको तातो हावासँग लडेको समय, अनि थकित रातहरूको सम्झनालाई उनले एउटा दृढ निश्चयमा रूपान्तरण गरे, अब आफ्नै खुट्टामा उभिनु छ।

पहिले उनले सम्झिए, जुम्ला किन चिनिन्छ? स्याउ, हिमाल र मौलिक संस्कृतिले। तिनै चीजलाई उनले आफ्नो जीवनसँग गाँस्ने निर्णय गरे।

जागिरले हातमुख जोडिन्थ्यो, तर त्यो उनका सपनाहरूका लागि सानो खाँबो मात्र थियो। उनी केही फरक गर्न चाहन्थे, नयाँ सोचका साथ, परम्परालाई आधुनिक तरिकाले सम्हालेर।

जग्गा सानो-ठूलो टुक्रामा छरिएको थियो। त्यसैले उनले पहिलो काम गरे, एकीकरण। छिमेकीहरूसँग सट्टापट्टा, कानुनी कागज मिलाउने झन्झट, अनि सहमतिहरू। यो सबै गर्दा उनको दुई वर्ष बित्यो, तर उनलाई हतार थिएन। किनकि यसपटक उनी कतै जाने होइन, “अन्त जाँदै नजाने गरी लागें,” उनले भने जस्तै।

जमिन तयार भएपछि, उनले स्याउ रोप्न थाले। लोकल जातका २०० बिरुवा, अनि भविष्यलाई हेर्दै ४५० इटालियन फुजी स्याउ। यी बोटहरू अहिले उनका सपनाका विरुवा हुन्, जो केही वर्षपछि हराभरा उदाउँछन्। तर हरेक बोटसँगै उनी जान्दथे, उब्जाइले समय लिन्छ।

त्यही भएर, १५० भेडा पाले। ती भेडा उनको दैनिकीको आधार बने। जब स्याउका बिरुवा बिस्तारै हुर्किंदै थिए, भेडाहरूले उनका दिनहरू धाने। दुईजना गोठाला भेडाहरू हेर्थे, अनि उनी आफैं समय-समयमा गोठमा जान्थे। कतारको ड्युटी भन्दा भिन्न, यहाँ हरेक बिहान उनको आफ्नै माटोमा सुरू हुन्थ्यो।

तर उनलाई थाहा थियो, यो सजिलो यात्रा होइन। उनी भन्छन्, “धेरै हदसम्म सफल भएको छु।” अझै धेरै गर्न बाँकी छ, तर एकचोटि गाउँ छोड्ने मन बनाएका उनी अब गाउँ छोड्ने कल्पना पनि गर्न चाहँदैनन्।

कतारको मरुभूमिमा एक लाख ८० हजार तलब कमाउने हातहरूले अहिले आफ्नै माटोमा सुन फलाउने सपना देखिरहेका छन्। बल बहादुरका लागि स्वदेश फिर्ती केवल भौगोलिक यात्रामात्रै थिएन, यो सोचाइको यात्रासमेत थियो, पसिनाको अर्थ कहाँ खोज्ने? आफ्नै माटोमा कि अर्काको भूमिमा?

त्यही सोचले उनलाई जुम्लाको खेतबारीमा ल्यायो। सानो लगानीबाट सुरु भएको उनको परियोजना अहिले ४८ लाखभन्दा बढीको लागतमा पुगिसकेको छ। यो सबै लगानी विदेशमा कमाएको पसिनाको परिणाम हो। सरकारी सहयोग भने अहिलेसम्म शून्य छ।

“सरकारी अनुदान प्रभावकारी छैन,” उनको गुनासो छ। तर उनले आशा छोडेका छैनन्। “अहिले छैन भने पनि भोलि आउला, तर म प्रतीक्षामा बस्ने मान्छे होइन।”

उनी तीन वर्षपछि आफ्नो फार्मले वार्षिक १२ लाखभन्दा बढी नाफा दिने दाबी गर्छन्। उनी भन्छन्, “किसान नै व्यवसायिक बन्न सकेनन्, अनि अवसर नपाएजस्तो लाग्छ।”

त्यही कुरालाई लिएर उनी विभिन्न मञ्चहरूमा बोल्न थालेका छन्। भोगाइहरू सुनाउँछन्, योजनाहरू बाँड्छन्। केही समयअघि काठमाडौंमा एउटा कार्यक्रममा उनले आफ्नो यात्रा सुनाउँदा धेरैले प्रश्न गरे, “एक लाख ८० हजारको जागिर छोडेर कसरी फर्किन सक्यौ?”

उनी थोरै मुस्कुराए। अनि भने, “जता हेरे पनि अवसरै अवसर देखिने आफ्नै गाउँको माटोमा सुन फलाउने सोच छ। त्यसैले सबैथोक त्याग्न सकियो।”

आज, बल बहादुरको हातभरिको माटो प्रमाण हो। विदेशमा मात्र होइन, आफ्नै माटोमा पनि भविष्य रोप्न सकिन्छ। उनका बारीका स्याउका बिरुवाहरू जस्तै, उनको सपना पनि हुर्कंदै छ। केही वर्षपछि ती बिरुवाहरूमा फल लाग्नेछन् र सँगै एक निर्णयको मीठो परिपूर्णता पनि।

कतारको बालुवामा हराएको सपना अहिले जुम्लाको हावामा बाँचिरहेको छ। उनी उभिएका छन्, आफ्नै माटोमा, आफ्नै पसिनाको फूलबारीमा।

यो पनि पढ्नुस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार