अज्ञात व्यक्तिद्वारा भएकाे आगलागी निभाउन स्थानीय नागरिक परिचालन भएपनि आगाे नियन्त्रण बाहिर गएकाे ताताेपानी गाउँपालिका -४ का अध्यक्ष अमर बहादुर राेकायाले बताए।
जुम्लाकाे ताताेपानी गाउँपालिका -४ काे वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। वडा नं ४ स्थित पाण्डेबाडा र नियापानी गाउँकाे बीचमा पर्ने ‘चाक्लिधारा राष्टि्य वन’ क्षेत्रमा भिषण आगलागि भएकाे हाे।
आइतबार दिउँसाे ३:१५ बजे अज्ञात व्यक्तिद्वारा भएकाे आगलागी निभाउन स्थानीय नागरिक परिचालन भएपनि आगाे नियन्त्रण बाहिर गएकाे ताताेपानी गाउँपालिका -४ का अध्यक्ष अमर बहादुर राेकायाले बताए।
उनले भने, “दुई गाउँकाे बीचमा पर्ने राष्टि्य वनमा आगलागी भएकाे छ। स्थानीय परिचालन भएपनि नियन्त्रण बाहिर छ। हावाहुरी लागेकाेले आगाे नियन्त्रण गर्न मुस्किल भएकाे छ। आगाे निभाउनका लागि सबै सुरक्षा निकायसंग सहयाेग मागेका छाैं।”
आगाे तत्काल नियन्त्रणमा ल्याउन नसकेकाे अवस्थामा आगलागी भैरहेकाे वन क्षेत्र वरपरका गाउँहरु पाण्डेवाडा र नियापानी गाउँलाई क्षति हुने स्थिति छ।
यता प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले आगाे नियन्त्रणका लागि सुरक्षा फाैज परिचालन गरिएकाे बताए। सुक्खा समयमा आगलागीका घटना बढ्ने भएकाेले सर्तक हुनु पर्ने उनकाे भनाई छ। जिल्ला विपद व्यवस्थापन समितिका संयाेजक समेत रहेका प्रजिअ शाहीले आगाे नियन्त्रण सँगै गाउँमा हुन सक्ने क्षति राेक्न सबै संयन्त्र परिचालन गर्ने उल्लेख गरे।
सशस्त्र प्रहरी बलका प्रमुख एसपि लाल बहादुर शाहीले आगाे नियन्त्रणका लागि प्रहरी सहायक निरिक्षककाे कमाण्डमा २१ जनाकाे टाेली आगलागी स्थानतर्फ गएकाे बताए। यता नेपाल प्रहरीका पनि १० जना सुरक्षाकर्मी लाई आगाे नियन्त्रणका लागि पठाइएकाे छ।