शनिबार, २४ माघ, २०८२

कविता : शिक्षक

जाडोमा थरथर काँम्दै पढाउँछ
गर्मीमा पसिना पुछ्दै पढाउँछ
आधा पेट खाएर घोक्रो सुकाएर कराउँछ
एकजोर लुगाले जसोतसो एक वर्ष पुर्‍याउँछ
वर्षौँसम्म कराउँदा दमको रोगी हुन्छ
उपचार गर्ने पैसा नभएर अकालमा मर्छ
कराउँदा कराउँदा कसैलाई हर्नियाँ हाेला
चिर्ने पैसा नभएर अकालमा जान्छ चाेला

शिक्षकका श्रीमती आभूषण विहीन छन्
शिक्षिकाका श्रीमान् तेजहीन छन्
शिक्षकका सन्तती विचरा! छन्
शिक्षक स्वयम् सबैभन्दा विचरा! छ
उसको न सरुवा सहज छ
उसलाई न अतिरिक्त भत्ता छ
न समयमा मासिक तलब छ
न दुर्गम भत्ता छ न उनीहरूको इज्जत छ ।

कक्षामा शिक्षक,
कहिले धाई बनेर स्याहार गर्छ
कहिले नर्स बनेर उपचार गर्छ
कहिले जज भएर फैसला गर्छ
कहिले आमा बुबा बनेर माया गर्छ
कहिले प्रहरी भएर कारबाही गर्छ
कहिले जोकर बनेर हँसाउँछ
कहिले साथी बनेर खेलाउँछ
कहिले गुरु भएर पढाउँछ
तर जस कहिल्यै पाउँदैन
सुखका दिन पनि आउँदैन।

अर्काको भविष्य बनाउने जिम्मा लिएको छ
तर दुर्भाग्य,
आफ्नै भविष्य अँध्यारो छ
आफ्नै भविष्य अँध्यारो हुनेले
अर्काको भविष्य कसरी उज्यालो पार्न सक्छ?
बालकको भविष्य शिक्षकले मात्र बनाउँछ
मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिले होइन,
त्यसैले कर्तव्य, त्याग र बलिदानको कसीमा
मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति भन्दा
शिक्षक नै ठुलो छ।

तर, के गर्ने र!
शिक्षकको मर्यादाक्रम त दयाले राखेजस्तो छ
अब त्यो भन्दा पनि तल झार्दा हुन्छ
शिक्षकलाई त यहाँ भकुन्डो ठानिएको छ
मात्र भकुन्डो
जता हाने पनि हुन्छ
जता उफारे पनि हुन्छ
जसले हाने पनि हुन्छ
जहिले हाने पनि हुन्छ
जेले हाने पनि हुन्छ
जति हाने पनि हुन्छ
हातले हाने पनि हुन्छ
खुट्टाले हाने पनि हुन्छ।

भकुन्डो मात्र हैन नि,
शिक्षकलाई त यहाँ गधा ठानिन्छ, गधा
जति भारी बोकाए पनि हुन्छ
जसले बोकाए पनि हुन्छ
जहाँ बोकाए पनि हुन्छ
जे बोकाए पनि हुन्छ
गधाले नाइँ भन्न सक्दैन
बोकाऊ, अझै भारी बोकाऊ
गधाले अझै भारी बोक्न सक्छ
तर पेटभरि खान दिएर बोकाऊ
भोको पेट तड्पाएर होइन,
समानता र समतामूलक व्यवहारले बोकाऊ।

कक्षा बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई दोषी देख्ने
अनि, यो आन्दोलन गर्न बाध्य बनाउने चाहिँ दोषी नदेख्ने?
बिरालोलाई दैलो थुनेर कुटे झम्टन्छ अरे
निकास दिए सजिलै अर्कोतिर लम्कन्छ अरे
दमन र शोषण भए विद्रोह होला
विद्रोहले समाजमा शान्ति नहोला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार