मंगलवार, ३ असार, २०८२

कविता : म गणितमा फेल भएँ

ए गणित!
खुशीको क्षेत्रफल
बढाउने सुत्र कुन हो?
अनि सपनाको उचाई
कसरी पत्ता लागाउने?
जिन्दगीको कुन पाठ र
कुन पानामा राखिएको छ
भेन चित्र बनाउ भनेर?
हिजो बिजगणित नजान्दा
कुखुरा बनेको म
आज जिन्दगीको अंक गणित नजान्दा
जिन्दगीले कुखुरा बनाइरहेछ।

के काम
ए र बिका सुत्रहरु
भाग, जोड, घटाउ र गुणनहरु
जहाँ दु:ख घटेर शुन्य हुँदैन
सुख शुन्यबाट बढ्दैन
खै कहाँ काम लागे
तथ्यांकशास्त्र र ज्यामितिका कोणहरु
पाई, अल्फा र बिटाका मानहरु।

आमाले
सय कडा ३ मा ऋण लिएर
मलाई चक्रीय ब्याज पढ्न पठाएकी हुन
अब आमा खाली खुट्टा हिँडेको
पैतालाको दुरी कुन सुत्रले नाप्ने?
बाबाले जिन्दगी भर बगाएका
पसिनाको आयतन कसरी निकाल्ने?
यी गणितका सुत्रले काम गरेनन्
म गणितमा फेल भएँ।

सामाजिकमा
छिमेकी जिउँदोको जन्ती
मर्दाको मलामी पढिन्थ्यो
तर किन
खुशी पैँचो कहिले दिदैनन्
दु:ख सापटी कसैले माग्दैनन्?
पढेर देशको सेवा गर्नुपर्छ
किताबको पानामा थिए
तर विदेशीको गुलाम बन्नु पर्छ कतै पढाइएन
म सामाजिकमा पनि फेल भएँ।

यदि
पैसाको इफोट लागाउन सकियो भने
जिन्दगीका लोडहरु
फलक्रम बिनानै उठाउन सकिन्छ
विज्ञानले किन कहिलै पढाएन?

गुरुत्वआकर्षण बलले
रुखको आँप भुइँमा खस्छ
तर
घर बनाउन कै लागि
घर छोडेर
परदेशको पृथ्वीमा नै
पसिना बगाइ रहेकाहरुलाई
घरको गुरुत्वआकर्षण बलले
हरेक पल तानिरहन्छ।
आफू उभिएको भन्दा
आफू उम्रीएको भुइँको
गुरुत्व बल बढी हुन्छ
विज्ञानले किन कहिले सिकाएन?

मेरा
खुसी हरुलाई दु:खहरुले
सदा विकर्षण गर्छन
ध्रुब्रहरु कसरी मिलाउने?
भोको पेटले आन्दोलन गर्दा
कति डेसिवलको ध्वनि उत्पन्न हुन्छ?
जिम्मेवारीको घनत्व अनि
ऋणको चाप कसरी पत्ता लगाउने?
गरिबीले बेस्सरी तोक्दा
कुन अम्ल उत्पन्न हुन्छ?
यी प्रश्नको उत्तर
मेरा सर्टिफिकेटमा छैनन्
म विज्ञानमा फेल भएँ।

जिन्दगी हासेर जिउनु पर्छ
सान्त्वना दिइरहन्छन सबै
तर
बाबाको मैले डुबाएको लगानी
अनि आमाले मेरो लागि गरेको
दु:ख देखेर हास्न
मेरो नैतिकताले कहिलै दिदैन
म नैतिकमा पनि फेल भएँ।

अर्थिक भए मात्र
अगाडी बढ्ने आट आउँछ
मलाई अर्थशास्त्रको सिद्धान्तले
कहिलै सिकाएन

म त
पढिरहेँ किताबका पानाहरु
निरन्तर चढिरहेँ माथिल्लो कक्षाहरु
आज फेल भएँ जिन्दगीको परिक्षामा
नराम्ररी पछारिए आफ्नै परिस्थितिसगँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार