सोमबार, ८ पुष, २०८१

कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोह कात्तिक २८ गते हुँदै, सबै तयारी पूरा

प्रतिष्ठानले गर्न लागेको ऐतिहासिक दीक्षान्त समारोहले कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ गति दिने अपेक्षा गरिएको उपकुलपति रावलले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो प्रथम दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ। समारोह कात्तिक २८ गतेका लागि तय गरिएको छ।

यस अघि भदौ २३ गतेको लागि निर्धारण गरिएको भए तापनि प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण स्थगित गरिएको थियो। प्रधानमन्त्री ओलीको सहभागितामा समारोह सम्पन्न हुने निश्चित भएपछि सबै तयारी पूरा गरिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उनका अनुसार प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा तथा अमेरिकास्थित हार्वर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि समारोहमा सहभागी हुनेछन्।

उनले थपे, ‘दीक्षान्त समारोहको लागि मञ्च निर्माणबाहेक सबै तयारी पूरा भएको छ।’

प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले बताए।

‘हालसम्म २७ जनाले दीक्षान्तका लागि फारम भरेका छन्,’ डा. धामीले भने, ‘स्नातकतर्फ बिपिएचमा ३८ जना, बिएमएसमा १३ जना र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन्।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटन समेत गर्नेछन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेल दीक्षान्त समारोहको अघिल्लो दिन जुम्ला आइपुग्नेछन् भने प्रधानमन्त्री समारोहकै दिन पुग्ने कार्यक्रम रहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको छ। दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

प्रतिष्ठानले गर्न लागेको ऐतिहासिक दीक्षान्त समारोहले कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ गति दिने अपेक्षा गरिएको उपकुलपति रावलले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार