शिविर गुड न्युज फर नेपाल र बि एन अस्पताल, गणेशमान चोक, नेपालगञ्जको प्राविधिक सहयोगमा सिंजा गाउँपालिकाले आयोजना गर्ने जनाइएको छ।
जुम्लाको सिंजा गाउँपालिकामा आगामी कार्तिक २८ गते (बुधबार) नराकोट स्वास्थ्य चौकीमा निशुल्क कान स्वास्थ्य शिविर आयोजना हुने भएको छ। ग्रामीण क्षेत्रमा कान उपचार सेवाको अभावमा विभिन्न कानसम्बन्धी समस्याबाट पीडित नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु शिविरको उदेश्य रहेको छ।
सामान्य कानको समस्या हुँदा पनि टाढा सहर जानुपर्ने बाध्यता, साथै कानसम्बन्धी समस्यामा घरेलु उपचारमा निर्भरता बढ्दा, धेरैले जटिल अवस्था भोग्दै आएका छन्। यसै कारणले समयमा उपचार नपाउँदा बहिरोपनको सम्भावना समेत बढ्ने गरेको छ। यस शिविरमार्फत समुदायमा कान समस्याको सही पहिचान गरी जटिलता घटाउने, साथै कान स्वास्थ्यसम्बन्धी सचेतना दिने काम हुनेछ।
शिविर गुड न्युज फर नेपाल र बि एन अस्पताल, गणेशमान चोक, नेपालगञ्जको प्राविधिक सहयोगमा सिंजा गाउँपालिकाले आयोजना गर्ने जनाइएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार शिविरमा बिरामीहरूको प्रारम्भिक पहिचान गरीनेछ भने आवश्यक परेमा आगामी दिनान अप्रेसनको योजना बनाइने छ।
विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क कान परीक्षण, अडियोमिटरद्वारा सुनाइ क्षमताको जाँच र कानमा रहेका कानेगुजी, फोहोर वा बाहिरी वस्तु हटाउन सक्सन मेसिनद्वारा कान सफा गरिने व्यवस्था पनि गरिएको छ। साथै, आवश्यक औषधि निःशुल्क वितरण गरिनेछ।
अध्यक्ष धितालले कान पाक्ने, दुख्ने, पिप वा पानी आउने, कम सुन्ने, चिलाउने, कराउने, वा डम्ब हुने समस्या भएका सबै बिरामीलाई यस शिविरमा उपस्थित भएर लाभ उठाउन आग्रह गरेका छन्।















