नाम्खाका जनताका लागि लामो यात्रा गर्न स्वास्थ्य, आर्थिक स्थिति, र भौगोलिक कठिनाइका कारण चुनौतीपूर्ण रहेको छ।
विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना भएपछि स्थानीय सेवाग्राहीमा उत्साह देखिएको छ।
विकट क्षेत्रमा सरकारी स्वास्थ्य सेवाहरूको पहुँच सीमित हुँदा यहाँका नागरिक स्वास्थ्य समस्याले निकै पीडित छन्। यसपटकको शिविरले ७५ वर्षीय छिरिङ गिमा लामाजस्ता धेरैलाई राहतको आशा दिएको छ।

७५ वर्षिया छिरिङको पैदल यात्रा : स्वास्थ्य सेवाको खोजीमा
नाम्खा गाउँपालिका -१ याक्पाका बासिन्दा छिरिङ गिमा लामा आँखा समस्याले थलिएका छन्। ७५ वर्षको उमेरमा उनी एक दिनको यात्रा गर्दै महाबौद्ध माध्यमिक विद्यालय नाम्खा -४ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा पुगेका छन्।
“आँखाको समस्याले आएको हुँ। सन्चो होला भन्ने आश लागको छ,” उनी आशावादी हुँदै भन्छन्।
उनका अनुसार हुम्लाका विकट गाउँहरूबाट सहर पुगेर उपचार गराउनु अधिकांशका लागि असम्भवजस्तै हुन्छ। यहाँका जनताका लागि लामो यात्रा गर्न स्वास्थ्य, आर्थिक स्थिति, र भौगोलिक कठिनाइका कारण चुनौतीपूर्ण रहेको छ।
ठूलो संख्यामा सेवाग्राहीको सहभागिता
स्वास्थ्य सेवाको अपार आवश्यकता भएका कारण बिहानैदेखि शिविरमा सेवाग्राहीको घुँइचो लागेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नाम्खा गाउँपालिकाको आयोजनामा भएको यो शिविरले गाउँपालिकाका विभिन्न वडाका सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
६ वडामा विभाजित नाम्खा गाउँपालिकामा ८०० भन्दा बढी सेवाग्राहीले एकै दिनमा शिविरबाट लाभ लिने अनुमान गरिएको छ।

स्थानीय तहको सहयोग र भूमिका
यस स्वास्थ्य शिविरलाई नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ग्याछो लामा र अध्यक्ष प्रेम लामाले महत्वपूर्ण सहयोगी प्रयासको रूपमा हेरेका छन्।
अध्यक्ष लामाका अनुसार, विकट र हिमाली बस्तीमा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ हुँदा यो शिविरले स्थायी समाधान नभए पनि तत्काल राहत पुर्याउने आशा गरिएको छ।
विकट क्षेत्रको स्वास्थ्य सेवा सुधारको लागि यो शिविर सेतु बन्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उनले भने, “यहाँ भएका स्वास्थ्य समस्याहरूलाई नजिकबाट बुझ्न र समाधान गर्न सरकार र स्वास्थ्य संस्थाहरूको निरन्तर प्रयास आवश्यक रहनेछ।”
भविष्यको आशा
नाम्खामा भएको यो स्वास्थ्य शिविरले धेरैलाई सामान्य राहत मात्र होइन, स्वास्थ्यका क्षेत्रमा अझ प्रभावकारी र लामो समयसम्मका कार्यक्रमहरूको खाँचो औंल्याइदिएको छ।
यस्ता शिविरहरूले विकट ठाउँहरूमा रहेका समस्याहरू उजागर गर्ने स्थानीय जनताको आवश्यकता पूरा गर्न दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने कुरालाई पुष्टि गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।













