धारा व्यवस्थापनकाे समेत आयव्यय प्रस्तुत गरिएकाे थियाे। दुई वर्षकाे अवधिमा तातोपानी धाराबाट १५ लाख ३७ हजार १ सय ८ रूपैयाँ राजस्व संकलन भएकाे जानकारी गराइएकाे छ।
जुम्लाको ताताेपानी गाउँपालिका -२ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ।
बुधबार २ नं.वडा कार्यालयकाे आयाेजना र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा सम्पन्न भएकाे हाे।
कार्यक्रममा तातोपानी गाउँपालिका -२ का सचिव तेज बहादुर रावतले २०८०/०८१ मा २ नं. वडामा लागू गरिएका कार्यक्रम र सम्पन्न याेजनाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उनका अनुसार आ.व. २०८०/०८१ मा कुल १५ वटा याेजना सम्पन्न भएका थिए।
उनका अनुसार कुल ५० लाख लागतका १५ वटै याेजना सम्पन्न भएका छन्।
‘५ लाख लागतमा बाबिरा मष्ट मन्दिर फिल्ड निर्माण र ढलान, जर्मीगाउँमा ८ लाख लागतमा कर्णाली राजमार्गदेखि तातोपानी धारासम्म रेलिङ र टायल व्यवस्थापन र कुल ६ लाख बजेटमा वडाभित्रका चार वटा आधारभुत विद्यालय व्यवस्थापनमा खर्च गरिएकाे छ,’ उनले भने।
त्यस्तै समान ५/५ लाख लागतमा गाेप्थाडागाउँमा सिंचाइ कुलाे, जर्मीगाउँमा कर्णाली राजमार्गदेखि चिहानघाटसम्म बाटाे पिसीसी, डाँगीबाडा र सुन्दर गाउँमा गाेरेटाे बाटाे ग्याविन निर्माण र धुनचेडीदेखि हिमाली आविसम्म ३ लाख लागतमा सडक मर्मत भएकाे छ।
यसैगरी सूचना सञ्चार, लक्षित वर्ग कार्यक्रम, विपद् व्यवस्थापन र सिकाई अनुभव अवलोकन याेजना सम्पन्न भएकाे वडासचिव रावतले बताए।
मुख्यमन्त्री राेजगार कार्यक्रम अन्तर्गत १५ लाखमा कर्णाली राजमार्गदेखि हिमशिखर माविसम्मकाे बाटाे आरसीसी, प्रधानमन्त्री राेजगार कायर्यक्रम अन्तर्गत ८ लाखमा बाबिरा मष्ट मन्दिरकाे फिल्ड निर्माण तथा ढलान सम्पन्न भएकाे थियोे।
यसैगरी, जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत जर्मीगाउँमा ५ लाख लागतमा मुनबाडादेखि ताहा बाडासम्म गाेरेटाेबाटाे पिसीसी, जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा ५ लाखमा सुन्दरगाउँ गाेरेटाे बाटाे पिसीसी गरिएकाे छ।
आ.व. २०८०/०८१ मा तातोपानी गाउँपालिका २ नं.वडाले १ लाख ३३ हजार ६ सय ६२ रूपैयाँ राजस्व संकलन गरेकाे थियाे। साेही आ.व.मा कुल ४ सय ८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्।
उक्त अवसरमा तातोपानी धारा व्यवस्थापनकाे समेत आयव्यय प्रस्तुत गरिएकाे थियाे।
दुई वर्षकाे अवधिमा तातोपानी धाराबाट १५ लाख ३७ हजार १ सय ८ रूपैयाँ राजस्व संकलन भएकाे जानकारी गराइएकाे छ।
सार्वजनिक सुनुवाइकाे अवसरमा ६ जना स्थानीयले वडाकाे सेवा प्रवाहका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए।
वडाबासीका जिज्ञासाको जवाफ दिदै वडाअध्यक्ष चन्द्रमान बुढाले स्थानीय नागरिककाे चाहना र आवश्यकतामा आधारित भएर याेजना अनुसार याेजना कार्यान्वयन गरिरहेकाे बताए।
त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले समृद्ध र विकासित तातोपानीका लागि सबैकाे भुमिका अहम रहेकाे जाेड दिई।
गाउँपालिका उपाध्यक्ष रेवती रावलका अनुसार वडास्तरबाट सञ्चालन हुने याेजनामा जनताकाे अर्थपूर्ण सहभागीता हुन आवश्यक छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनता, कर्मचारी र जनप्रतिनिधिकाे सहकार्यमा समृद्ध पालिका निर्माणमा हातेमालो आवश्यक छ।
उक्त अवसरमा तातोपानी गाउँपालिका २ नम्बर वडाका स्थानीय, समाजसेवी, बुद्धिजीवी तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे।














