सोमबार, ८ पुष, २०८१

काेटीहाेमकाे काेलाहल, दमाई आचार्य र सर्टिफिकेट

शैक्षिक याेग्यताकाे विश्लेषण गर्दा कृष्ण दमाईले त केबल स्नातकोत्तर गरेका छन्, त्यो पनि एउटा भाषामा। जसको पृष्ठभूमि केलाउँदा विवाद र जातसँग जाेडिएकाे छ। दलितप्रति दाेषभाव राखेको छ। अर्काेकुरा संस्कृतमा आचार्य गर्नु सरसर्ती हेर्दा त्यस्तो गाैरव गर्नुपर्ने कारण केही देखिँदैन। एउटा दलित आचार्य हुँदैमा दलितबाट परिवर्तन भएर गैरदलित हुने हाेइन पनि।

वर्षाैं पहिले अमेरिकी पत्रकार चाल्स एन्डरसन डानाले समाचार सम्बन्धि निकै राेचक कथ्य भनेका थिए। “जब कुकुरले मान्छेलाई टाेक्छ त्यो समाचार हुँदैन। तर जब मान्छेले कुकुरलाई टाेक्छ त्यो समाचार बन्छ।” ठ्याक्कै डानाले भनेजस्तै अहिले काठमाडौंमा जारी भइरहेको काेटीहाेम महायज्ञमा आचार्य कृष्ण दमाईकाे भागवत प्रवचन समाचार बनेको छ। विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा ठुलै हल्लाखल्ला मच्चिएको छ।

धेरैलाई कृष्ण दमाईकाे काेटीहाेम आराेहरण क्रान्ति लागेको छ। नलागाेस् पनि किन! उनको नामकाे पछाडि दमाई शब्द जाे झुन्डिएको छ। केहीलाई काेटीहाेम लगायतका धार्मिक कार्यक्रममा दमाईले दुईचार स्लाेक, दुईचार दिन गाउँदैमा त्यो पनि कसैको सहानुभूतिले गर्दा परिवर्तन हुँदैन।

जसरी क्यान्सरकाे पीडालाई पेन किल्लरले थाम्न सक्दैन। त्यस्तै जातीय कुसंस्कारकाे अन्त्य दुईचार दलित पात्रलाई महायज्ञमा बाेल्न दिँदैमा हुँदैन। अर्काेतिर केहीले शास्त्रलाई आधार बनाएर भनेका छन्, एउटा दमाई कसरी आचार्य बन्नसक्छ? आचार्य बनाउने धर्मले नै शुद्व ब्राह्मण हुन सक्दैन। अझ ब्राह्मणले गर्ने कार्य गर्न मिल्दै मिल्दैन। यदि कुनै शुद्रले त्यस्तो चेष्टा गर्छ भने कडाभन्दा दण्ड दिनु भनेको छ भन्ने तर्क पनि सुनिएको छ।

समाचारका शीर्षक र बजारको बहसमा जति वैचारिक विविधता छ त्यति नै विराेधाभास र विवादास्पद छ। कृष्ण दमाई आचार्य हुनु, महायज्ञमा दुबाेकाे माला लगाएर प्रवचन दिनु डानाले भनेझैं हाे। कुनै घटना किन समाचार बन्छन्? आचार्य कृष्ण दमाई किन समाचार बने? उनलाई कुन कारणले समाचार बनाइयाे?

यसको जवाफ, नेपाली समाजमा संस्कृत भनेको कथित उपल्लो जातले मात्रै पढ्ने विद्या हो भन्ने सोच रहेकाले, आचार्य कृष्ण दमाई समाचार भए। यिनै आचार्य बनाउने शिक्षालय गुरुकुलहरुले बेलाबेलामा दलित विद्यार्थी भर्ना नलिने समाचारले किन कृष्ण दमाई समाचार बने भन्ने विषयकाे पुष्टि गर्छ।

यद्यपि यस्तो विकराल अवस्थामा विभेदभित्र बसेर कृष्ण दमाईले आचार्य पास गरे। जातलाई आधार मानेर पढ्न मिल्दैन भन्ने विषयमा उच्च शिक्षा हासिल गर्नु सामान्य हाेइन पनि। यही कारणले गर्दा पनि कृष्ण दमाईले आचार्य उत्तीर्ण गरेयता बेलाबखत समाचार बनिरहेका थिए।

कहिले आचार्य हुँदासमेत काम नपाएकाे विषय त कहिले के गैरदलितले दमाई आचार्यलाई आफ्नो कर्मकाण्डकाे धार्मिक अवसर देलान् त? यस्तैयस्तै विषयमा दमाई आचार्य चर्चामा आइरहेका थिए। यसपटक उनी ब्राह्मणहरुकाे एकल सिन्डिकेट बीचमा काेटीहाेम महायज्ञमा भागवत गीता प्रवचन दिएर पुनः चर्चाकाे विषय भएका छन्। समाचारका विषय भएका छन्।

माथि समावेश गरिएका चर्चा अलावा कृष्ण दमाईकाे आचार्य सर्टिफिकेटलाई नेपाली समाजको चरित्र, हिन्दु वर्ण व्यवस्थाकाे छुत र अछुतकाे घिनलाग्दाे खेलले सहजै स्वीकार्न निकै कठिन छ। यस्तै हल्लाखल्लाबाट उनका दुईचार ओटा नयाँ समाचार बन्न सक्छन्। उनले केहीकाे सहानुभूति पाउँछन्। तर उनको आचार्य सहितको व्यवसायिक यात्रामा जातवादी समाजमा असहज र करिबकरिब असम्भव भने अवस्य देखिन्छ।

यदि नेपाली समाजमा कृष्ण दमाईकाे कुल गाेत्र परिवर्तन गराैं वा उनलाई पशुपतिनाथकाे पुजारी राखाैं विषयलाई लिएर जनमत सङ्ग्रह गर्ने हाे भने गैरदलित बाहुल्य भएको समाजमा दलित आचार्य स्वतः हार्नेछन्। उनको पतन निश्चित जस्तै छ। नेपाली समाजको अहिले जुन जातवादी मानसिकता त्यो रहुन्जेल दलित आचार्य विभेद र वहिष्करणमा हुन्छन् नै।

अर्कोतिर उनलेे प्राप्त गरेको उपलब्धिले दलित समुदायले भाेगेकाे समस्यामा केही टेवा नहुने पनि देखिन्छ। दलितहरु आचार्य हुँदा सकारात्मक प्रभाव नपर्ने देखिन्छ। यिनै विभिन्न काेणबाट नियाल्दा आचार्य दमाईकाे यस्तो उपलब्धि कागलाई बेल पाक्याे हर्ष न बिस्मात जस्तै छ!

कदाचित् उनले धार्मिक कार्यक्रमहरुमा भागवत गीता, पुराण वाचनकाे अवसर पाए भने पनि दलितका मुद्दा र आन्दोलनलाई खासै केही प्रभाव पर्ने देखिँदैन। न त उनलाई व्यवसायिक काेणबाट फाइदा पुग्ने देखिन्छ। यद्यपि उनको व्यक्तिगत उपलब्धिलाई भने हामीले सम्मान गर्नैपर्छ।

काेटीहाेम र दमाईकाे चर्चा गरिरहँदा कृष्ण दमाईले दिइएको अभिव्यक्ति विराेधाभास देखिन्छ। “जन्मदै कोहि पनि ब्राह्मण हुँदैन, ब्राह्मण त केवल कर्मले हुन्छ, जसले सही र सत्कर्म गर्छ, जसले वेदका ऋचाहरु जान्दछ, जसले भागवत अध्ययन गर्छ, जसले मानव र माधव सेवा गर्छ, जसले सत्कर्म गर्छ त्यही आदरणीय हो।”

उनले यस्तो तर्क दिँदा आफू जन्मेको समाज, त्यही समाजले जन्मदैजातको आधारमा गरेको विभेद, उनले मानेको धर्मले उनकै वर्ण शुद्रलाई के भनेको छ त्यो हेक्का किन नराखेका हाेलान्? वर्ण व्यवस्थाले जुन प्रशिक्षण हिन्दु धर्मावलम्बीलाई दिएको छ त्यसको विरुद्धमा अहिलेकाे एक्काइसौं शताब्दीमा न कानुन बनेको छ न कुनै सामाजिक र धार्मिक नीति बनेका छन्। कृष्ण दमाईलाई अछुत मान्न धर्मले स्पष्ट रुपमा के भनेको छ भने दलित जतिसुकै विवेकशील भएता पनि ऊ शुद्र नै हाे।

शुद्रलाई जति सकिन्छ विभेद र दमन गर्नु नै धर्म हाे। ब्राह्मणप्रति सम्मान गर्नु हाे। यस्तो धार्मिक रजगजमा उनले के आधारमा जन्मदै ब्राह्मण हुँदैन भनेका हाेलान्? जबकि धर्मको कुरा छाेडाैं नेपालकाे कानुनले जन्मजातै दलितको सन्तान दलित र ब्राह्मणकाे सन्तान ब्राह्मण हुने व्यवस्था गरेको छ।

शैक्षिक याेग्यताकाे विश्लेषण गर्दा कृष्ण दमाईले त केबल स्नातकोत्तर गरेका छन्, त्यो पनि एउटा भाषामा। जसको पृष्ठभूमि केलाउँदा विवाद र जातसँग जाेडिएकाे छ। दलितप्रति दाेषभाव राखेको छ। अर्काेकुरा संस्कृतमा आचार्य गर्नु सरसर्ती हेर्दा त्यस्तो गाैरव गर्नुपर्ने कारण केही देखिँदैन। एउटा दलित आचार्य हुँदैमा दलितबाट परिवर्तन भएर गैरदलित हुने हाेइन पनि। दलितका समस्यालाई आचार्यले हल गर्दैन र गर्नसक्दैन पनि।

अर्कोतिर कृष्णले जस्तै अहिले विभिन्न संकायमा स्नातकोत्तर गर्ने, देश विदेशका विश्वविद्यालयका विद्यावारिधि गरेका र पढ्नेहरु धेरै दलितहरु छन्। तथापि उनीहरू जातीय विभेदकाे समाना गर्नुपरेको छ। शिक्षा र सर्टिफिकेट हुँदैमा दलितलाई गैरदलितले अस्वीकार गरेका कयौं घटना छन्।

नेपाली गैरदलित डायसपाेराले विदेशमा समेत दलितहरुलाई विभिन्न तरिकाबाट जातीय विभेद गरेको समाचार आइरहेका छन्। जातकै आधारमा संसदहरुले डेरा नपाएको समाज यही हाे। सरकारी कर्मचारी, शिक्षित भनिएकाबाट दलित विद्यार्थीले जातीय छुवाछुत भाेगेकाे समाज यही हो। जसकारण शैक्षिक याेग्यता हुँदैमा नेपाली समाजले दलितको जात स्वीकार्दैन। त्यस्तै आचार्य हुँदैमा दलित शुद्रबाट ब्राह्मण हुँदैन।

आचार्य कृष्णले भनेका कुराहरु विशुद्ध भ्रम हुन्। बाहुनवादी मनगढन्तकाे निरन्तरता हाे। वास्तवमा दलितहरु यस्ता धार्मिक प्राेपगण्डाबाट मुक्त हुनुपर्छ। अन्यथा दलित मुक्ति ओझेलमा अवश्य पर्नेछ।

अन्त्यमा, नेपाली समाजकाे सबैभन्दा घातक समस्या जातीय जातीय कुसंस्कारकाे अन्त्य जबसम्म जात व्यवस्थाकाे निर्मूल हुँदैन, कुत्र गाेत्रलाई तहसनहस पारिदैन तबसम्म जातीय छुवाछुतकाे अन्त्य हुँदैन। हिन्दु धर्मका बेलाबखत आइरहने यस्ता गतिविधिले दलितमाथि जातीय भेदभावकाे समस्यालाई हल गर्न सक्दैन।

यस्ता एकाध घटनाले दलितहरुलाई रनभुल्लमा राख्ने सिवाय अरु केही गर्दैन। विश्व प्रसिद्ध दार्शनिक कार्ल मार्क्सले धर्मलाई अफिम त्यसै भनेका हाेइनन्। जसरी अफिमले मानिसलाई नशाकाे दास बनाउँछ। उसको विवेकशीलतालाई शून्यमा राखिदिन्छ। त्यसरी नै धर्मले मानिसलाई उसको विवेक खाल्डोमा पुर्न लगाएर आफ्नो दास बनाएको छ। त्यसकारण यी दुईकाे मुख्य उदेश्य भनेको मानिसभित्रकाे मानवता सिध्याउनु हाे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार