शनिबार, १२ मंसिर, २०८३

४१ वर्षको उमेरमा ४१औँ ब्याटको शाखा अधिकृत बनेका मुन रावल

४१ वर्षको उमेरमा ४१औँ ब्याटका शाखा अधिकृत बनेका मुन रावलले १६ वर्ष तल्लो तहमा बिताए। रोकिएको पढाइ, बढुवाको प्रतीक्षा र असफलताबीच पनि उनले हार मानेनन्। अन्ततः निरन्तर प्रयासले सपना पूरा गरे।

उमेर ४१ वर्ष। लोकसेवा आयोगको शाखा अधिकृतको सिफारिस सूचीमा नाम निस्कँदा उनी पनि ४१औँ ब्याटका सदस्य बने। उमेर र ब्याचको यो संयोगलाई उनी आफ्नो जीवनको लामो संघर्षसँग जोडेर हेर्छन्। १६ वर्षसम्म तल्लो तहको सरकारी सेवामा रहेर गरेको मेहनत, अधुरो पढाइ, बढुवाको लामो प्रतीक्षा र पटकपटकको असफलतापछि प्राप्त सफलता उनका लागि एउटा पद प्राप्त गर्नु होइन, वर्षौँदेखि मनमा बोकेको सपनाको पुनर्जन्म हो।

जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचाका मुन रावल शाखा अधिकृतमा सिफारिस भएपछि आफूभन्दा धेरै कम उमेरका नयाँ पुस्ताका साथीहरूसँग उभिन पाउँदा गर्व महसुस गर्छन्। उनी आफ्नो सफलतालाई उमेरसँग प्रतिस्पर्धा गरेर प्राप्त उपलब्धिका रूपमा होइन, समयसँग सम्झौता नगरेर हासिल गरेको परिणामका रूपमा लिन्छन्।

‘म ब्याट ४१ र मेरो उमेर पनि ४१। १६ वर्ष तल्लो तहमा काम गरेर आज यो ठाउँमा आइपुग्दा, जेनजी साथीहरूसँग उभिन पाउँदा मलाई गर्व महसुस भएको छ,’ आधारभूत प्रशासनिक तालिन लिन काठमाडौं पुगेका उनी भन्छन्।

रावलको यो सफलता एकैपटक आएको होइन। यसका पछाडि लामो जागिरे जीवन, रोकिएको पढाइ, बढुवा नहुँदाको निराशा, राजधानी देखि दुर्गममा काम गर्दाका कठिनाइ र अन्तिम समयसम्म पनि हार नमान्ने अठोट जोडिएको छ।

२०६५ सालमा बीबीएस उत्तीर्ण गरेपछि रावल लोकसेवा आयोगको तयारीमा लागेका थिए। त्यतिबेला जुम्लामा सरकारी सेवाको प्रतिस्पर्धा अहिलेको जस्तो व्यापक थिएन। अधिकृत बन्ने सपना देख्नेहरू कम थिए। नायब सुब्बाको परीक्षा दिनसमेत धेरैले आँट गर्दैनथे। गाउँमा सरकारी जागिरको पहिलो रोजाइ खरिदार थियो। रावल पनि त्यही तयारीमा लागे।

त्यतिबेला लोकसेवा आयोगको पाठ्यक्रम अहिलेको भन्दा फरक थियो। खरिदारको पहिलो पत्रमा सार्कसम्मको विषय पढ्नुपर्थ्यो भने माथिल्लो पदको तयारीमा संयुक्त राष्ट्रसंघ (यूएन) सम्बन्धी विषय पनि समेटिन्थ्यो। खरिदारको तयारी गर्दा नै रावलले यूएनसम्म पढेका थिए। रोचक लागेर पढेको त्यो विषयले उनको मनमा अधिकृत बन्ने सम्भावनाको बीउ रोपेको थियो।

तर तत्कालीन परिस्थिति र अवसरले उनलाई त्यो सपना पछ्याउन सहज बनाएन। २०६७ सालमा उनी लेखापाल पदमा सिफारिस भए। त्यसअघि केही समय गैरसरकारी संस्थामा काम गरेका उनी सरकारी सेवामा प्रवेश गरेपछि जागिरलाई नै प्राथमिकता दिन थाले।

लेखापालको जागिर सुरु भएपछि अधिकृत बन्ने कुरा उनलाई टाढाको विषय जस्तो लाग्थ्यो। जिल्लामा माथिल्लो पदमा पुग्ने उदाहरण कम थिए। गाउँमा सुब्बा नै ठूलो पद मानिन्थ्यो। आफू सुब्बा भएपछि केही वर्षमै अधिकृत भइहालिन्छ भन्ने उनको सोच थियो।

‘म सुब्बा भएको मान्छे, मेरो जिल्लामा गाउँमा सुब्बा कोही पनि छैन, सबै खरिदारै खरिदार छन्। सात–आठ वर्षमा अधिकृत भइहाल्छु नि, किन पढ्नुपर्‍यो?’ उनी त्यतिबेलाको आफ्नो सोच सम्झन्छन्।

यही सोचले उनको पढाइ केही समय रोकियो। लेखापालको जागिर खाएको एक–दुई वर्षपछि उनी काठमाडौं गएर शाखा अधिकृतको तयारीमा लागे। त्यतिबेला पाठ्यक्रम अहिलेको जस्तो थिएन। सामान्य ज्ञानको परीक्षा उत्तीर्ण गरेपछि दुई वर्षसम्म अधिकृतको परीक्षा दिन पाइन्थ्यो। रावलले परीक्षा दिए, दुई वर्ष प्रयास गरे, तर सफलता हात लागेन।

असफल भएपछि उनले आफूलाई सुब्बा पदमै सीमित राख्ने निर्णय गरे। अधिकृत बन्ने रहर पूरै मरेको थिएन, तर त्यसलाई निरन्तरता दिने वातावरण पनि थिएन। २०७४ सालमा उनले फेरि पढ्ने प्रयास गरे। प्रारम्भिक परीक्षामा नाम निस्कियो, तर त्यसपछि सफलता मिलेन।

‘मलाई गाइड गर्ने साथीहरू थिएनन्। पढ्ने मेलोमेसो नै पाइनँ,’ उनी भन्छन्।

लोकसेवाको तयारीमा पढ्ने इच्छा भएर मात्रै पुग्दैन। पाठ्यक्रम बुझ्ने, परीक्षा प्रणाली थाहा पाउने, नियमित अभ्यास गर्ने र आफूलाई निरन्तर मूल्यांकन गर्ने वातावरण पनि चाहिन्छ। रावलका लागि त्यो वातावरण सहज थिएन। त्यसपछि उनले सेवाकालीन तालिम लिए। राजस्व प्रशासन तालिम केन्द्र, हरिहरभवनमा पुगेर तालिम लिएपछि अब बढुवा हुने आशा पलायो।

२०६७ सालमा जागिर सुरु गरेका उनी २०७४ सालसम्म सात वर्ष सेवा गरिसकेका थिए। अब लेखा अधिकृत बन्ने पालो आउला भन्ने अपेक्षा थियो। तर बढुवा भएन। उनी बढुवा नहुनुको कारण कुनै सजाय वा अनुशासनात्मक कारबाही थिएन। सेवा अवधि लामो हुँदै गए पनि बढुवाको पालो नआउँदा उनी निराश हुँदै गए।

‘अहिले पनि २०६४/६५ सालका साथीहरू लेखा अधिकृत हुन सक्नुभएको छैन,’ उनी भन्छन्।

समायोजन ऐन आएपछि रावलले संघमै बस्ने निर्णय गरे। उनलाई लाग्थ्यो, लेखा अधिकृत बन्ने बाटो अब नजिकै छ। प्रदेश वा स्थानीय तह रोज्दा आफ्नो लक्ष्यबाट टाढा पुगिने हो कि भन्ने चिन्ता थियो। तर संघमा बसेर पनि २०७७ सालसम्म बढुवाको पालो आएन। १८–१९ वर्ष सेवा गरेका साथीहरू पनि बढुवा हुन नसकेको देखेपछि उनले आफ्नो निर्णय पुनर्विचार गरे।

अन्ततः उनी प्रदेश सेवामा गए। प्रदेशमा पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई एक तह वृद्धि दिने व्यवस्था थियो। त्यसको लाभ लिएर उनी छैटौँ तहका अधिकृत बने।

प्रदेश रोज्नुको अर्को कारण भौगोलिक र आर्थिक कठिनाइ पनि थियो। जुम्लाबाट काठमाडौं आएर बस्न, पढ्न र काम गर्न सहज थिएन। सरुवा गर्न पनि महालेखा नियन्त्रक कार्यालयमा निकै कठिनाइ हुने गरेको उनको अनुभव छ। जुम्ला पुग्न लाग्ने खर्च र काठमाडौंको महँगो बसाइले उनलाई लामो समय टिक्न कठिन बनाउँथ्यो।

‘हामी जुम्लाको मान्छे, काठमाडौं धेरै समय टिक्नै सक्दैनौँ। यहाँको खर्च असाध्यै महँगो छ। जुम्ला जान अहिले पनि दोहोरो भाडा मात्रै ५० हजार रुपैयाँ तिर्नुपर्छ,’ उनी भन्छन्।

संघीयता आएपछि कर्मचारीले आफ्नो प्रदेश र स्थानीय तहमा सहज रूपमा काम गर्न पाउने अपेक्षा गरिएको थियो। रावलले पनि प्रदेश रोज्दा त्यस्तै आशा गरेका थिए। तर उनको अनुभव फरक रह्यो। जुम्लामा खाली पद हुँदाहुँदै उनलाई कालिकोट सरुवा गरियो। आफूले चाहेका ठाउँमा सरुवा नपाएको उनको गुनासो छ। राजनीतिक र व्यक्तिगत लाञ्छनासमेत लगाइएको उनको भनाइ छ।

प्रदेशमा राजनीतिक नेतृत्वसँग कर्मचारीको निकटता र प्रभाव बढी हुने भएकाले सरुवामा थप कठिनाइ भोग्नुपरेको उनी बताउँछन्।

‘प्रदेशमा गएपछि झन् बिचल्लीमा परेँ। जुम्लामा खाली ठाउँ हुँदाहुँदै मलाई कालिकोटमा सरुवा गरियो,’ उनी भन्छन्।

कालिकोटको अस्पतालमा उनले तीन वर्ष काम गरे। त्यसपछि फेरि सरुवा मागे। तर चाहेको ठाउँमा सरुवा भएन। सरकारी सेवामा सरुवा सामान्य प्रशासनिक प्रक्रिया हो। तर दुर्गम जिल्लाबाट आएका कर्मचारीका लागि यो प्रक्रिया परिवार, आर्थिक अवस्था र व्यक्तिगत जीवनसँग पनि जोडिन्छ। रावलका लागि सरुवा कार्यालय परिवर्तन गर्ने विषय थिएन। यो आफ्नो जिल्लामा फर्कने, परिवारसँग नजिक हुने र भविष्यको बाटो तय गर्ने प्रश्न थियो।

यही परिस्थितिले उनलाई फेरि लोकसेवाको तयारीतर्फ फर्कायो। २०८१ साल मंसिरमा शाखा अधिकृतको विज्ञापन खुलिसकेको थियो। रावलले अब जसरी भए पनि पढ्नुपर्ने निर्णय गरे। करिब १२ देखि १५ वर्षसम्म नियमित रूपमा छाडेको पढाइ पुनः सुरु गर्नु सहज थिएन। पुरानो पाठ्यक्रम, बदलिएको परीक्षा प्रणाली र लामो समयको अन्तरालले उनलाई चुनौती दिएको थियो। तर मनले हार मानेको थिएन।

‘म पास गर्छु होला भन्ने आँट थियो,’ उनी भन्छन्।

२०८२ सालको परीक्षामा उनले एउटा अनौठो गल्ती गरे। लोकसेवा आयोगको उत्तरपुस्तिकामा प्रश्नको उत्तर लेख्ने खण्ड दुई भागमा विभाजित थियो। उनले दायाँतिर मात्र लेखे। बायाँतिरको भाग आयोगका कर्मचारीले भर्ने होला भन्ने ठानेर खाली छाडे।

परीक्षा चलिरहेको बेला उत्तरपुस्तिका जाँच गर्ने कर्मचारीले बायाँतिर पनि लेख्नुपर्ने बताएपछि उनी आत्तिए। चारवटा खण्डमा बायाँतिर लेख्न उनलाई करिब सात मिनेट लाग्यो। समयको दबाबले झन् तनाव बढ्यो। त्यसपछि केही प्रश्न बिग्रिए। त्यो वर्ष उनी सफल भएनन्।

तर असफलताले उनलाई फेरि लामो विराममा धकेलेन। त्यसपछि उनले ‘ग’ समूहको विज्ञापनमा पुनः परीक्षा दिने निर्णय गरे। काठमाडौं गएर चैतन्य इन्स्टिच्युटमा नियमित परीक्षा र मोक टेस्ट दिए। यसपटक उनी सफल भए।

शाखा अधिकृतमा सिफारिस भएपछि उनी आफूलाई नयाँ पुस्ताका साथीहरूसँग उभिएको देख्छन्। उनीभन्दा धेरै कम उमेरका साथीहरू पनि सफल भएका छन्। तर रावलका लागि त्यो तुलना गर्ने विषय होइन। उनको सफलता उमेरसँग प्रतिस्पर्धा गरेर आएको होइन, समयसँग सम्झौता नगरेर आएको हो।

‘अब मेरो जागिरको इन्टरभल सुरु भयो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘अगाडिका नराम्रा कथाहरू सकिए। अब फिल्मको सफलताको लक्ष्यतिर आइरहेको जस्तो लाग्छ।’

उनले आफ्नो जीवनलाई फिल्मसँग तुलना गरेका छन्। लामो संघर्ष, कठिन मोड, असफलता र अन्त्यमा सफलता। तर उनी यो सफलतालाई अन्तिम बिन्दु मान्दैनन्।

‘अब यो गन्तव्यलाई अझ अगाडि बढाउनेछु। सफलता होला, नहोला, त्यो आफ्नै ठाउँमा छ। तर मैले हार मानेको छैन।’

रावलले पछिल्लो पटक कुनै इन्स्टिच्युटमा नियमित कक्षा लिएनन्। सरकारी सेवामा बिताएको अनुभवले उनलाई समाज, विकास, कृषि र प्रशासनका समस्या बुझ्न सहयोग गरेको थियो। उनका अनुसार सरकारी सेवामा काम गर्दा किताबमा पढेका विषय व्यवहारमा देखिन्छन्। विकासका समस्या, कृषिका चुनौती र स्थानीय प्रशासनका जटिलता उनले प्रत्यक्ष भोगेका थिए।

त्यही अनुभवलाई पढाइसँग जोडेर उनले स्वअध्ययन गरे। नियमित परीक्षा दिए। आफ्नो कमजोरी पहिचान गरे। अन्ततः सफलता पाए।

‘मैले पछिल्लो पटक कुनै पनि इन्स्टिच्युटमा क्लास नलिएर सेल्फ स्टडी र नियमित परीक्षा दिएर यहाँसम्म आउन सकेँ,’ उनी भन्छन्।

उनको अनुभवले दुर्गममा बसेर लोकसेवाको तयारी गरिरहेका युवालाई एउटा सन्देश दिन्छ, तयारीका लागि काठमाडौंमै बस्नुपर्छ भन्ने छैन। अवसर र अभ्यासका माध्यम बदलिएका छन्। अनलाइनबाट परीक्षा अभ्यास गर्न सकिने व्यवस्था पनि छ। तर त्यसका लागि नियमितता, अनुशासन र आत्मविश्वास आवश्यक हुन्छ।

रावलले आफ्नो सफलताको यात्रामा चैतन्य इन्स्टिच्युटलाई पनि सम्झिएका छन्। विशेषगरी २०८१ सालमा मोक टेस्ट भइरहेका बेला परीक्षा दुई पटक सरेको घटना उनी बिर्सन सक्दैनन्। परीक्षा लामो समयसम्म सर्दा पनि इन्स्टिच्युटले थप शुल्क नलिएको उनको अनुभव छ।

‘चैतन्यले व्यापार गरेको छैन, सेवा गरेको छ,’ उनी भन्छन्, ‘दुई–दुई पटक परीक्षा सर्दा पनि हामीलाई निःशुल्क परीक्षा दिने वातावरण गराएको थियो। त्यो गुण कहिल्यै बिर्सिन सक्दिनँ।’

उनको यो भनाइमा आफूले पाएको सहयोगप्रतिको कृतज्ञता छ। सफलता व्यक्तिगत मेहनतको परिणाम भए पनि त्यस यात्रामा सहयोग गर्ने संस्था र व्यक्तिहरूको योगदान पनि महत्त्वपूर्ण हुन्छ भन्ने उनी ठान्छन्।

रावल अहिले हुम्ला, जुम्ला, सोलुखुम्बु, बझाङ र बाजुराजस्ता दुर्गम जिल्लामा बसेर लोकसेवाको तयारी गरिरहेका युवालाई सम्झन्छन्। उनका अनुसार दुर्गममा बस्नु अवसरबाट टाढा हुनु होइन। अनलाइन परीक्षा अभ्यास, स्वअध्ययन र नियमित तयारीबाट पनि लक्ष्य हासिल गर्न सकिन्छ।

‘खाली आफूले गर्ने अठोट र साहस हुनुपर्छ,’ उनी भन्छन्।

पुरानो सरकारी विद्यालयमा पढेका, पुरानो पाठ्यक्रमबाट तयारी गरेका र लामो समय तल्लो तहमा काम गरेका रावल आज शाखा अधिकृत बनेका छन्। उनको सफलताले लोकसेवामा उमेर, भूगोल र विगतको असफलता अन्तिम बाधा होइनन् भन्ने देखाउँछ।

उनको सफलता एउटा कर्मचारीको पदोन्नतिको विषय मात्र होइन। यो विकट क्षेत्रमा अवसर खोजिरहेका, लामो समयदेखि एउटै पदमा रोकिएका र पढाइ छाडेपछि फेरि सुरु गर्न डराइरहेका मानिसहरूको कथा पनि हो।

१६ वर्षको जागिरे जीवनपछि रावलले शाखा अधिकृतको सिफारिस पाएका छन्। उनी अब आफ्नो यात्राको नयाँ अध्याय सुरु गर्दैछन्। उनका लागि सफलता ढिलो आएको हुन सक्छ। तर त्यो ढिलो सफलताले उनलाई एउटा कुरा सिकाएको छ, मनले हार नमानेसम्म यात्रा सकिँदैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार