पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाका विभिन्न सडक खण्डको नियमित मर्मतसम्भारका लागि सडक मर्मत समूह गठन गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ। कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको उक्त कार्यालयले २०८३ मङ्सिर १० गते पहिलो पटक सूचना जारी गर्दै गोठीज्यूला–कालाकाँडा–माझचौर मुगु सडक, जुम्ला एयरपोर्ट–उर्थु–न्याउरीघाट–भुलभुले मुगु सडक तथा जुम्ला दानसाँघु–चोत्र डोल्पा सडकको नियमित मर्मतसम्भारका लागि आवश्यक जनशक्ति छनोट गर्न लागेको जनाएको हो।
कार्यालयका अनुसार गोठीज्यूलादेखि कालाकाँडा लेखसम्मको १२.४ किलोमिटर सडक खण्डका लागि ५ जना, जुम्ला एयरपोर्टदेखि पटमारा (स्कुल) सम्मको १२.१ किलोमिटर खण्डका लागि ५ जना र दानसाँघुदेखि दोचलगार्ड गर्ज्याङ्गकोटसम्मको ८.४ किलोमिटर खण्डका लागि ४ जना मर्मतसम्भारकर्ता आवश्यक परेको छ। छनोट भएका सदस्यहरूले सडकलाई राम्रो अवस्थामा राख्न सँगै मिलेर आधारभूत सरसफाइ, फोहोर हटाउने तथा साना मर्मतका कामहरू गर्नुपर्नेछ। यो रोजगारी पूर्णकालीन रूपमा एक वर्षको अवधिका लागि हुनेछ।
सडक राम्रो अवस्थामा रहेको खण्डमा सम्पूर्ण सडकका लागि मर्मत समूहलाई मासिक रूपमा सडक मर्मत सम्भार निर्देशिका, २०८३ बमोजिम रकम भुक्तानी गरिनेछ। तर, सडकका केही भाग राम्रो अवस्थामा नरहेमा मासिक भुक्तानीमा कटौती लागू हुने सूचनामा उल्लेख छ।
सदस्य छनोटका लागि १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका नेपाली नागरिक, शारीरिक तथा मानसिक रूपमा कार्य गर्न सक्षम र सडकबाट बढीमा आधा घण्टाको पैदल दूरीमा बसोबास भएको हुनुपर्ने अनिवार्य मापदण्ड तोकिएको छ। साथै बेरोजगार वा आफ्नो समयको २५ प्रतिशतभन्दा कम मात्र रोजगारीमा संलग्न भएका गरिब, दलित तथा सीमान्तकृत समुदायका सदस्यलाई विशेष प्राथमिकता दिइनेछ।
छनोटमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने र कम्तीमा ४० प्रतिशत पिछडिएका समूह (दलित, जनजाति, अन्य सीमान्तकृत तथा वञ्चित समूह) बाट हुनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक तथा मापदण्ड पुगेका व्यक्तिहरूले रीतपूर्वकको ढाँचामा दरखास्त भरी २०८३ मङ्सिर २० गते कार्यालय समयभित्र पूर्वाधार विकास कार्यालय जुम्लामा दर्ता गराउनुपर्नेछ।
















