हिमाका चार पढाइ मेला शैक्षिक जागरणका चार महत्त्वपूर्ण पाइला बनेका छन्। विद्यालयहरूमा सामग्री निर्माणको उत्साह बढ्यो, शिक्षक तथा विद्यार्थीमा सिर्जनशीलता विकास भयो र अभिभावकमा विद्यालयको शैक्षिक गतिविधिप्रति चासो बढ्यो।
कहिलेकाहीँ समयको एउटा सानो प्रयासले भविष्यको लामो बाटो कोरिदिन्छ। कुनै अभियान ठूलो बजेटले होइन, एउटा सुन्दर सोच, सामूहिक इच्छाशक्ति र केही कर्मशील हातहरूको निरन्तर मेहनतले सफल हुन्छ। हिमा गाउँपालिकाको शैक्षिक इतिहासमा पढाइ मेलाको सुरुवात पनि यस्तै एउटा प्रयास थियो। आज फर्केर हेर्दा ती चारवटा मेला शैक्षिक सामग्रीको प्रदर्शनी र प्रतिस्पर्धा मात्र थिएनन्। ती हिमाको शैक्षिक चेतना जगाउने, विद्यालयहरूलाई सिर्जनशील बनाउने र सिकाइलाई कक्षाकोठाको सीमाभन्दा बाहिर पुर्याउने महत्त्वपूर्ण अभियान थिए।
अवधारणाको जन्म:
हिमा आधारभूत विद्यालय, कोईरेलीमा मेरो करिब आठ वर्ष बितिसकेको थियो। यस अवधिमा मैले शैक्षिक सामग्री निर्माण, तिनको प्रयोग र बालमैत्री शिक्षण सिकाइलाई विशेष प्राथमिकता दिँदै आएको थिएँ। विद्यालयस्तरमै शैक्षिक सामग्री प्रदर्शनी मेला सफलतापूर्वक सम्पन्न गरेको अनुभव पनि थियो। विद्यालयका भित्ता छापामय सँगै सामग्रीले सजिएका थिए। कक्षाकोठालाई सिकाइमैत्री बनाउने, स्थानीय स्रोतसाधनबाट सामग्री बनाउने र विद्यार्थीलाई गरेर सिक्ने वातावरण दिने अभ्यास विद्यालयको नियमित गतिविधि जस्तै बनिसकेको थियो। यही बेला २०८० को स्थानीय तहको निर्वाचनपछि लक्ष्मणबहादुर शाही हिमा गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभयो।
गाउँपालिकाको शैक्षिक गतिविधिलाई थप सक्रिय र सिर्जनशील बनाउने उद्देश्यले पढाइ मेला आयोजना गर्ने अवधारणाले आकार लिन थाल्यो। प्रारम्भिक चरणमा गाउँपालिका अध्यक्षको सक्रियतामा अथक मेहनत र तत्कालीन किर्डाक नेपालको सहयोग, सम्पूर्ण विद्यालयको छलफल र सहकार्यले कार्यक्रमको रूपरेखा तयार भयो। अवधारणा तयार भएपछि मेला कहाँ गर्ने भन्नेमा छलफल सुरु भयो। अध्यक्षको नेतृत्वमा विद्यालय अनुगमन टोली अध्ययनका लागि हिमा आधारभूत विद्यालय, कोईरेली पुग्यो। विद्यालयको समग्र अवस्था, शैक्षिक वातावरण, सामग्री निर्माणको अभ्यास र कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमताको अध्ययनपछि पहिलो पढाइ मेला यही विद्यालयमा गर्ने निर्णय भयो।
सम्भवतः त्यस बेला गाउँपालिकाभित्र शैक्षिक सामग्री निर्माण र प्रयोगमा सक्रिय विद्यालयमध्ये कोईरेली अग्रपङ्क्तिमा थियो। विद्यालयको सक्रियता, छापामय कक्षाकोठा, सामग्री निर्माणको अनुभव र मेरो व्यक्तिगत शैक्षिक अभियानले पनि यो निर्णयलाई बल पुर्याएको थियो। यसरी एउटा सानो विद्यालयले हिमा गाउँपालिकाकै पहिलो पढाइ मेलाको जग बसाल्ने ऐतिहासिक अवसर पायो।
कोईरेलीको आँगनमा पहिलो मेला:
२०८० जेठ १४ र १५ गते गणतन्त्र दिवसको अवसरमा हिमा गाउँपालिकाको पहिलो पढाइ मेला हिमा आधारभूत विद्यालय, कोईरेलीमा सम्पन्न भयो। कार्यक्रम आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण थियो। स्रोतसाधनको सीमितता, व्यवस्थापकीय कठिनाइ र पहिलोपटक गर्न लागिएको नयाँ अभ्यासका बीच पनि विद्यालय परिवार उत्साहित थियो। विद्यालय सानो भए पनि सोच र सपना सानो थिएन। शिक्षक, कर्मचारी र समुदाय सक्रियतापूर्वक जुटे। गाउँपालिकाका कर्मचारीको मेहनत, समन्वय र व्यवस्थापकीय सहयोग पनि उत्तिकै स्मरणीय रह्यो।
गाउँपालिकाको नेतृत्व र किर्डाक नेपालको प्रारम्भिक सहकार्यले एउटा शैक्षिक अवधारणालाई व्यवहारमा उतार्न सम्भव बनायो। पहिलो मेला भएकाले होला, गाउँपालिकाभित्रका विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकमा विशेष उत्सुकता देखियो। सबैले नयाँपन र चासोका साथ मेला अवलोकन गरे। विभिन्न शैक्षिक विधामा विद्यार्थी र शिक्षकको सक्रिय सहभागिता थियो। कतिपय विद्यालयमा स्थानीय शैक्षिक सामग्री निर्माणको अभ्यास लगभग शून्यप्रायः थियो। तर मेलाको तयारीले ती विद्यालयलाई पनि सामग्री बनाउन, नयाँ अभ्यास गर्न र आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न प्रेरित गर्यो।
त्यो दृश्य सामग्रीको प्रदर्शनी मात्र थिएन, विद्यालयभित्र लुकेको सिर्जनशीलताको उद्घाटन पनि थियो। शिक्षकका सीप, विद्यार्थीका कल्पना र स्थानीय स्रोतसाधनको शैक्षिक उपयोग एउटै थलोमा देख्न पाइन्थ्यो। पुस्तकमा पढेका विषयवस्तु सामग्रीमार्फत बुझाउने, देखाउने र प्रयोग गरेर सिक्ने अवसरले शिक्षण सिकाइलाई थप जीवन्त बनाएको थियो।
वास्तवमा पहिलो पढाइ मेलाले हिमाको सुस्ताउँदै गएको शैक्षिक गतिविधिलाई चलायमान बनाउन कोसेढुङ्गाको काम गर्यो। विद्यालयहरूमा सामग्री निर्माणको संस्कार विकास भयो, शिक्षकहरूबीच सिर्जनात्मक प्रतिस्पर्धा बढ्यो र विद्यार्थीमा सिकाइप्रतिको उत्साह थपियो। पहिलो प्रयासको सफलताले नै गाउँपालिकालाई यस्ता कार्यक्रम निरन्तरता दिन प्रेरित गर्यो।
निरन्तरताको यात्रा: दोस्रोदेखि चौथो मेलासम्म
पहिलो मेलाले जग बसालेपछि यात्रा रोकिएन। २०८१ असार ५ र ६ गते रुपाकोट आधारभूत विद्यालय, बाजागाडमा दोस्रो पढाइ मेला सम्पन्न भयो। २०८२ सालमा कालिका आधारभूत विद्यालय, देयार गाउँमा तेस्रो मेला भयो र २०८३ असारमा कालिका माध्यमिक विद्यालय, तलिकुडुमा चौथो मेला सम्पन्न भयो।
यी सबै कार्यक्रमको निरन्तरतामा हिमा गाउँपालिकाको आर्थिक, व्यवस्थापकीय तथा संस्थागत सहयोग महत्त्वपूर्ण रह्यो। शैक्षिक सुधारका लागि गाउँपालिकाले गरेको यो प्रयास प्रशंसनीय थियो। विद्यालयहरूलाई एउटै मञ्चमा उभ्याएर आफ्नो अभ्यास प्रस्तुत गर्ने र अरूबाट सिक्ने अवसर दिनु आफैँमा सकारात्मक शैक्षिक हस्तक्षेप थियो।
चारवटै मेलाले विद्यालयको शैक्षिक गतिविधिमा नयाँ उत्साह थपे। शैक्षिक सामग्री निर्माणमा उल्लेख्य सुधार आयो र विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास भयो। विद्यार्थीले प्रतिभा देखाउने अवसर पाए भने शिक्षकले नयाँ शिक्षण विधि र सामग्रीबारे अनुभव आदानप्रदान गरे। अझ महत्त्वपूर्ण कुरा, विद्यालयको सक्रियता विद्यालयभित्र मात्र सीमित रहेन। अभिभावक र स्थानीय नागरिकले समेत कुन विद्यालयले कस्तो शैक्षिक अभ्यास गरिरहेको छ र विद्यार्थीको सिकाइका लागि कति मेहनत भइरहेको छ भन्ने कुरामा चासो राख्न थाले। विद्यालयको मूल्याङ्कन भवन र भौतिक संरचनाले मात्र होइन, कक्षाकोठाभित्रको सिकाइ वातावरण र शैक्षिक सक्रियताले पनि हुनुपर्छ भन्ने चेतना विस्तार हुँदै गयो।
उपलब्धिसँगै केही अधुरा अपेक्षा:
हरेक अभियान पूर्ण हुँदैन। उपलब्धिसँगै केही कमजोरी र अधुरा अपेक्षा पनि रहन्छन्, पढाइ मेलाको यात्रामा पनि यस्ता पक्ष देखिए। पढाइ मेला मूलतः शिक्षक, विद्यार्थी र विद्यालयको शैक्षिक सिर्जनशीलता प्रस्तुत गर्ने कार्यक्रम हो। तर कतिपय शिक्षकले आफूहरूलाई तयारी, सहभागिता र अवलोकनमा अपेक्षित रूपमा समेट्न नसकिएको गुनासो गरेका थिए। लामो समय लगाएर बनाइएका सामग्रीको अवलोकन, अन्तरक्रिया र अनुभव आदानप्रदानका लागि समय पर्याप्त नभएको अनुभूति पनि रह्यो।
अर्को महत्त्वपूर्ण पक्ष पुरस्कार र त्यसको प्रभावकारितासँग जोडिएको थियो। सहभागी विद्यालयमध्ये उत्कृष्ट छानेर प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई लाखौँ रुपैयाँसम्मको पुरस्कार घोषणा गरिएको थियो।
यसले विद्यालयहरूमा उत्साह र प्रतिस्पर्धा थप्यो। तर प्रश्न पुरस्कार वितरणमा मात्र सीमित हुनु हुँदैनथ्यो। निर्माण गरिएका सामग्रीको दीर्घकालीन प्रयोग, संरक्षण र कक्षाकोठामा तिनको प्रभावकारी उपयोग कसरी भइरहेको छ भन्ने विषयमा निरन्तर अनुगमन आवश्यक थियो, जुन भएन। विद्यालयले मेहनत गरेर बनाएका सामग्री मेलाको प्रदर्शनीपछि थन्किनु हुँदैनथ्यो, ती विद्यार्थीको दैनिक सिकाइका साधन बन्नु पर्थ्यो। मेलाले सिर्जना गरेको उत्साहलाई नियमित शिक्षण अभ्यासमा रूपान्तरण गर्न पालिकाबाट थप निरन्तरता र अनुगमन अपेक्षित थियो।
पढाइ मेला दुई दिनको उत्सव मात्र होइन। यो विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने निरन्तर अभियान हो। शिक्षकको सिर्जनशीलता, विद्यार्थीको सिकाइ उपलब्धि र कक्षाकोठाको व्यवहार परिवर्तनसँग जोडिन सके मात्र यसको वास्तविक उद्देश्य पूरा हुन्छ।
अबको अपेक्षा: प्रदर्शनीबाट प्रयोगसम्म
आज फर्केर हेर्दा हिमा गाउँपालिकाका चारवटा पढाइ मेला शैक्षिक जागरणका चार महत्त्वपूर्ण पाइला बनेका छन्। पहिलो मेलाले जग बसाल्यो, दोस्रो र तेस्रोले निरन्तरता दिए, अनि चौथोले यो अभियानलाई संस्थागत यात्रातर्फ अघि बढायो। यी कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि विद्यालयहरूमा सामग्री निर्माणको उत्साह बढ्नु, शिक्षक तथा विद्यार्थीमा सिर्जनशीलता विकास हुनु र अभिभावकमा विद्यालयको शैक्षिक गतिविधिप्रति चासो बढ्नु हो। अहिले स्थानीय नागरिकले समेत विद्यालयको सक्रियता र शैक्षिक अभ्यासलाई चासोका साथ मूल्याङ्कन गर्न थालेका छन्, जुन आफैँमा ठूलो उपलब्धि हो।
अब गाउँपालिकाले विगतका अनुभवबाट सिक्दै पढाइ मेलालाई अझ व्यवस्थित, सहभागितामूलक र परिणाममुखी बनाउन आवश्यक छ। शिक्षकको अर्थपूर्ण सहभागिता, सामग्रीको संरक्षण, नियमित प्रयोग, विद्यालयस्तरीय अनुगमन र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कनलाई यस अभियानको अभिन्न हिस्सा बनाउनुपर्छ।
अन्ततः पढाइ मेलाको सफलता कसले कति पुरस्कार जित्यो, कति सामग्री प्रदर्शन भए वा कति दर्शक आए भन्नेमा मात्र मापन हुँदैन। यसले कक्षाकोठामा कस्तो परिवर्तन ल्यायो, विद्यार्थीको सिकाइ कति प्रभावकारी बनायो र शिक्षकको शिक्षण अभ्यासलाई कति सिर्जनशील बनायो भन्ने कुराले नै यसको सार्थकता निर्धारण गर्छ।
उज्यालोको अपेक्षा:
आज ती दिन सम्झँदा मनमा सन्तोष छ। एउटा सानो विद्यालयबाट सुरु भएको प्रयासले सिंगो गाउँपालिकाको शैक्षिक अभियानको रूप लिन सक्यो। कोईरेलीको आँगनमा रोपिएको त्यो सिर्जनशीलताको बीउले हिमाका अन्य विद्यालयमा पनि नयाँ उत्साह र सम्भावनाका पालुवा पलाउन मद्दत गर्यो। समयसँगै आयोजक विद्यालय फेरिए, प्रदर्शनीका स्थल फेरिए, सहभागी अनुहार फेरिए। तर ती मेलाले बोकेको शैक्षिक परिवर्तनको सपना फेरिनु हुँदैन। ती दिनका मेहनत, सिर्जना र सामूहिक प्रयास स्मृतिमा मात्र सीमित नरहून्, हरेक विद्यालयका कक्षाकोठामा जीवित रहून्। किनकि शिक्षा सुधारको यात्रा मेला आयोजना गरेर होइन, मेलाले जगाएको चेतनालाई दैनिक शिक्षण सिकाइमा उतारेर पूरा हुन्छ।
हिमाका ती चार पढाइ मेला विगतका सम्झना मात्र होइनन्, आगामी शैक्षिक यात्राका लागि प्रेरणाका चार उज्याला दीप हुन्। तिनको उज्यालो अब प्रत्येक विद्यार्थीको सिकाइ, प्रत्येक शिक्षकको अभ्यास र प्रत्येक विद्यालयको शैक्षिक संस्कृतिमा फैलियोस्, यही अपेक्षा, यही शुभकामना।















