बुधबार, ९ मंसिर, २०८३

एन्टिबायोटिकको जथाभावी प्रयोगले बढाउँदैछ प्रतिरोध, रोकथाममा जुट्यो जुम्ला

औषधिको प्रभाव घट्दै जाने जोखिमबारे समुदायदेखि स्वस्थ संस्थासम्म सचेतना, औषधी पसलको अनुगमन र एक स्वस्थ अवधारणामा जोड।

सामान्य संक्रमण हुँदा पनि एन्टिबायोटिक खाएपछि निको भइहाल्छ भन्ने धारणा समाजमा अझै व्यापक छ। चिकित्सकको सल्लाहबिनै औषधि किन्ने, आफूलाई ठीक लागेअनुसार मात्रा घटाउने वा केही दिन खाएर छाड्ने प्रवृत्तिले भने भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बनाउन सक्छ। यही जोखिमबारे समुदायलाई सचेत गराउँदै जुम्लामा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह सम्पन्न भएको छ।

‘एक स्वस्थ, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नोभेम्बर १८ देखि २४ सम्म सञ्चालन गरिएको सप्ताहमा औषधिको जिम्मेवार प्रयोग, औषधी पसलको नियमन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र समुदायस्तरमा सचेतना फैलाउने गतिविधि गरिएका छन्।

प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेजिस्टेन्स–एएमआर) अहिले विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। ब्याक्टेरियाजस्ता सूक्ष्मजीवले आफूविरुद्ध प्रयोग गरिने औषधिको प्रभावलाई प्रतिरोध गर्न सक्ने अवस्था नै प्रतिजैविक प्रतिरोध हो। यस्तो अवस्था बढ्दै जाँदा पहिले प्रभावकारी मानिएका औषधिले संक्रमण निको पार्न नसक्ने जोखिम हुन्छ। उपचार लामो, जटिल र महँगो बन्न सक्छ।

जुम्लामा आयोजित सप्ताहले यही जोखिमलाई स्थानीय स्वस्थ प्रणाली र नागरिकको दैनिक व्यवहारसँग जोडेर बुझाउने प्रयास गरेको छ।

चन्दननाथ नगरपालिका स्वस्थ शाखा, तिला गाउँपालिका, निम्याट ग्लोबल (एनवाईएमएटी ग्लोबल), विश्व स्वस्थ संगठन, जनस्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठानको संयुक्त आयोजना तथा सहकार्यमा सप्ताह सञ्चालन गरिएको हो। कार्यक्रमको संयोजन गणेश नेपालीले गरेका थिए। सचेतना तथा अभिमुखीकरण सत्रमा कमल रावत र कमला मगरले सहजीकरण गरेका थिए।

औषधी पसलको निगरानीमा जोड

सप्ताहका क्रममा जुम्लामा एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न औषधी पसलको अनुगमन र नियमनलाई प्राथमिकतामा राखिएको छ। औषधि उपलब्ध गराउने स्थानबाटै जिम्मेवार प्रयोगको अभ्यास सुरु हुनुपर्ने निष्कर्षसहित स्थानीय तहमा निगरानी बढाउने निर्णय गरिएको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यको अध्यक्षतामा बसेको बैठकमा चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्कासहित स्थानीय जनप्रतिनिधि, प्रशासकीय अधिकृत र स्वस्थ क्षेत्रका सरोकारवालाको सहभागिता थियो। बैठकले जिल्लाभरका औषधी पसलमा प्रतिजैविक प्रतिरोधको अवस्था र एन्टिबायोटिक प्रयोगसम्बन्धी अनुगमन, निगरानी तथा आवश्यक परिपत्र गर्ने निर्णय गरेको छ।

त्यस्तै, तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्रभित्र सञ्चालित औषधी पसलमा बजार अनुगमन गर्ने र प्रतिजैविक प्रतिरोध बढाउन सक्ने गैरजिम्मेवार गतिविधिमाथि नियमन तथा निगरानी बढाउने निर्णय गरेको छ।

एन्टिबायोटिकको प्रयोगमा चिकित्सकीय सल्लाह, सही औषधि, सही मात्रा र सही अवधिको महत्त्वलाई अभियानले विशेष रूपमा उठाएको छ। संक्रमणको प्रकृति नबुझी औषधि प्रयोग गर्नु र आवश्यक नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु प्रतिरोध बढाउने जोखिमपूर्ण अभ्यास हुन्।

अस्पतालको प्राङ्गणदेखि विद्यालयसम्म

सप्ताहको सुरुवात चन्दननाथ नगरपालिका र कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठानको प्राङ्गणमा सचेतना बुथ स्थापना गरेर गरिएको थियो। बुथमा प्रतिजैविक प्रतिरोधसम्बन्धी सन्देश र शैक्षिक सामग्री प्रदर्शन गरिएका थिए।

चन्दननाथ नगरपालिकाका स्वस्थ शाखा प्रमुख क्षेत्रबहादुर महतले स्वागत मन्तव्य राखेका थिए। कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोले प्रतिजैविक प्रतिरोधको अवस्था, त्यसले पार्ने असर र रोकथामका उपायबारे सन्देश दिएका थिए।

अभियान अस्पताल र सरकारी कार्यालयको परिसरमा मात्रै सीमित रहेन। विद्यालय स्वस्थ नर्समार्फत जुम्लाका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई एन्टिबायोटिकको सही प्रयोग र प्रतिजैविक प्रतिरोधका खतराबारे शिक्षा दिइयो। विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउने उद्देश्यले विद्यालयलाई अभियानको महत्त्वपूर्ण माध्यम बनाइएको थियो।

होटल भ्याली भ्यूमा जनप्रतिनिधि, कर्मचारी र एचईआरडी इन्टरनेसनलबीच अन्तरक्रिया गरिएको थियो। स्वस्थ संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीलाई पनि प्रतिजैविक प्रतिरोधसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो।

चन्दननाथ नगरपालिका–४ स्थित नेपाली इसाई मण्डली आशिष् चर्चसहित तिला गाउँपालिकाका विभिन्न स्थानमा समुदायस्तरका सचेतना कार्यक्रम सञ्चालन गरिए। हात धुने अभ्यास र सरसफाइसँगै ‘एक स्वस्थ’ अवधारणाबारे जानकारी दिइयो। सप्ताहभर इच्छुक नागरिक तथा युवाका लागि क्विज प्रतियोगिता आयोजना गरी प्रतिजैविक प्रतिरोधसम्बन्धी ज्ञानको स्तरसमेत परीक्षण गरिएको थियो।

मानिस, पशु र वातावरणको स्वस्थ जोडिएको अभियान

प्रतिजैविक प्रतिरोधको जोखिम मानिसले औषधि प्रयोग गर्ने व्यवहारमा मात्रै सीमित छैन। पशुपन्छीमा औषधिको प्रयोग, खाद्य उत्पादन प्रणाली र वातावरणमा फैलिने प्रदूषणसँग पनि यसको सम्बन्ध हुन्छ। त्यसैले यसको रोकथामका लागि स्वस्थ क्षेत्रको प्रयास मात्र पर्याप्त हुँदैन।

‘एक स्वस्थ’ अवधारणाले मानिस, पशु र वातावरणको स्वस्थ एकअर्कासँग जोडिएको मान्छ। यस अवधारणाअनुसार मानव स्वस्थ, पशु स्वस्थ, खाद्य सुरक्षा र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्नुपर्ने हुन्छ।

जुम्लामा आयोजित अभियानले यही बहुक्षेत्रीय दृष्टिकोणलाई स्थानीय तहसम्म पुर्‍याउने प्रयास गरेको छ। औषधिको जिम्मेवार प्रयोगसँगै सरसफाइ, हात धुने अभ्यास, खाद्य सुरक्षा र वातावरण संरक्षणलाई पनि सचेतनाको विषय बनाइएको छ।

प्रभातफेरीबाट जनचेतनाको सन्देश

सप्ताहको अन्तिम दिन कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठान, चन्दननाथ नगरपालिका र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागितामा सचेतनामूलक प्रभातफेरी निकालिएको थियो। ‘वाक द टक’ नाम दिइएको प्रभातफेरीले खलङ्गा बजार परिक्रमा गरी जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको प्राङ्गणमा पुगेर कोणसभाको रूप लिएको थियो।

कोणसभामा कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य संकायका उपप्राध्यापक ओमप्रकाश काफ्लेले प्रतिजैविक प्रतिरोध सचेतनामा जनस्वास्थ्यको भूमिकाबारे प्रकाश पारे। प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाले प्रतिजैविक प्रतिरोधसम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गरिन्।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले ‘एक स्वस्थ’ अवधारणाअन्तर्गत मानव, पशु, खाद्यान्न र वातावरणीय स्वस्थ प्रणालीबीच तथ्याङ्क तथा निगरानी एकीकरणको आवश्यकता औंल्याए। उनले सीमित बजेट, स्थानीय तहमा जनशक्ति तथा क्षमताको कमी, खाद्य सुरक्षा र वातावरण संरक्षणका चुनौती तथा एन्टिमाइक्रोबियल प्रयोगसम्बन्धी नियमनमा सुधार गर्नुपर्ने विषय उठाए।

उनले स्थानीय तहमा जनचेतना अभिवृद्धि र स्वस्थ प्रणालीबीच समन्वय बढाउनुपर्नेमा जोड दिँदै साताव्यापी अभियानको औपचारिक समापन गरे।

अभियानपछि निरन्तरताको चुनौती

जुम्लामा सप्ताहका क्रममा भएका सचेतना कार्यक्रम, अन्तरक्रिया र औषधी पसल अनुगमनसम्बन्धी निर्णयले प्रतिजैविक प्रतिरोध रोकथामका लागि स्थानीय स्तरमा चासो बढाएको देखिन्छ। तर सात दिनको अभियानले मात्रै यो समस्या समाधान हुने छैन।

एन्टिबायोटिकको प्रयोगसम्बन्धी नागरिकको व्यवहार परिवर्तन, औषधी पसलको नियमित अनुगमन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र मानव, पशु तथा वातावरणीय स्वास्थ्यबीच समन्वय आवश्यक छ। अभियानमा गरिएका निर्णय व्यवहारमा कार्यान्वयन हुनु र त्यसको नियमित अनुगमन हुनु नै यसको प्रभावकारिता मापन गर्ने आधार हुनेछ।

प्रतिजैविक प्रतिरोध रोकथाम स्वस्थ संस्थाको मात्रै जिम्मेवारी होइन। औषधि आवश्यक हुँदा स्वास्थ्यकर्मीको सल्लाहमा प्रयोग गर्ने, आफूखुसी एन्टिबायोटिक नकिन्ने, अरूलाई दिइएको औषधि सेवन नगर्ने र औषधिको मात्रा तथा अवधि चिकित्सकीय निर्देशनअनुसार पूरा गर्ने व्यवहारले पनि जोखिम घटाउन सक्छ।

जुम्लामा सम्पन्न विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहले यही सन्देश दिएको छ, औषधिको प्रभाव जोगाउनु आजको उपचारका लागि मात्रै होइन, भोलिका पुस्ताको स्वस्थ सुरक्षाका लागि पनि आवश्यक छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार