जुम्लामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्लीका २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनील कुमार शाही रहेका छन्। उनीहरूलाई चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारबाट पक्राउ गरिएको हो।
मंसिर २ गते दिउँसो करिब ४ः४५ बजे जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।
प्रहरीले बरामद गरेको उक्त पदार्थ मान्यताप्राप्त तराजुमा नापतौल गर्दा शुद्ध तौल १८० मिलिग्राम रहेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई मंसिर २ गते नै जिल्ला अदालत जुम्लामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
प्रहरीले बरामद गरेको पदार्थ परीक्षणबाट पुष्टि हुन बाँकी रहेकाले त्यसको प्रकृति र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
















