नेपालको सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणमा रहेको बंगलादेशको ‘द को–अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड’ (सीसीयूएलबी) को २० सदस्यीय प्रतिनिधिमण्डलले बुधबार भद्रकालीस्थित अर्गानिक मिनी मार्केटको अवलोकन गरेको छ ।
जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको उक्त मिनी मार्केटमा पुगेको टोलीलाई संस्थाका प्रमुख व्यवस्थापक ऋषिराज पाण्डेले स्वागत गर्दै संस्थाका गतिविधिबारे जानकारी गराए ।
पाण्डेले जुम्लाका किसान सदस्यले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजको सङ्कलन, बजारीकरण र बिक्री गर्दै आएको बताए । स्थानीय उत्पादनलाई बजारसँग जोडेर सदस्यको आयआर्जन वृद्धि गर्न संस्थाले काम गरिरहेको उनको भनाइ थियो ।

अवलोकनका क्रममा प्रतिनिधिमण्डलले मिनी मार्केटमा राखिएका मार्सी चामल, स्याउ, च्याउको चाना, सिमी दाल, टिमुर, अर्गानिक चियालगायत रैथाने उत्पादन खरिद गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालसमेत सहभागी अवलोकनका क्रममा विदेशी प्रतिनिधिहरूले नेपाली सहकारीमार्फत उत्पादित स्थानीय वस्तुप्रति चासो देखाएका थिए ।
बंगलादेशको सहकारी मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिस्ट्रार, सीसीयूएलबीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले नेपालका ९ वटा बचत तथा ऋण सहकारी संस्था, नेफ्स्कून र सहकारी रजिस्ट्रारको कार्यालयको अवलोकन तथा अन्तरक्रिया गर्ने कार्यतालिका छ ।
नेफ्स्कून र सीसीयूएलबीबीच सन् २००५ देखि पारस्परिक अध्ययन भ्रमणमार्फत सहकारी क्षेत्रको ज्ञान, सीप र असल अभ्यास आदानप्रदान हुँदै आएको छ ।
















