गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा मौलिक गाउँले प्रेमकथा बोकेको नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ।
माया बसेको मन टाढा भए पनि सम्झनामा प्रिय व्यक्ति सधैँ नजिक हुने भाव समेटिएको गीतमा सोल्टासोल्टिनीबीचको ठट्यौली र मायालु संवादलाई प्रस्तुत गरिएको छ। प्रिय व्यक्तिको मुस्कानमा जून देख्नु, उसको नजरमा हराउनु र मनभरि उसकै नाम सजाउनुजस्ता आत्मीय अनुभूतिलाई गीतले प्रेमिल शैलीमा पस्किएको छ।
सहरमा जस्तो सहज भेटघाट हुन नसक्ने गाउँले जीवन, घरको दूरी र पर्खाइका बाबजुद प्रेम कसरी प्रगाढ बन्दै जान्छ भन्ने कथालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ। स्थानीय बोलीचाली, ग्रामीण जीवनशैली र मौलिक लोकलयको संयोजनले नेपाली गाउँघरको यथार्थ प्रेमकथालाई झल्काएको छ।
कर्णालीको जनजीवन र विकासको सवाल समेटिएको चर्चित गीत ‘रेलको बाटो’ बाट पहिचान बनाएका पण्डित सामाजिक यथार्थ र मौलिक विषयवस्तु उठाउन परिचित छन्। त्यस्तै ‘बोल माया’, ‘गलबन्दी’ र ‘रुकुम मैकोट’ जस्ता चर्चित गीतमार्फत श्रोतामाझ लोकप्रिय गायिका परियार र पण्डितको यस सहकार्यले ग्रामीण प्रेमको मिठासलाई केन्द्रमा राखेको छ।
प्रतिमा अधिकारी र सुरज पण्डितको शब्द रचना रहेको गीतमा सुरजकै संगीत छ। कुशल सिंह निएलको संगीत संयोजन रहेको गीतको समूह गायनमा सुनिता बीके, बिन्दु बीसी र पावेन्द्र सुनारले साथ दिएका छन्। दूरीले भौतिक भेटघाट कठिन बनाए पनि मनको आत्मीयता र प्रेमको गहिराइलाई कमजोर बनाउन सक्दैन भन्ने सन्देश गीतले दिएको छ।
















