देशभर दसैंको उल्लास छाइरहँदा जुम्लाको हिमा गाउँपालिका–६ का एक विपन्न परिवारमा भने गहिरो शोक र बज्रपात आइपरेको छ। घरपरिवारको गर्जो टार्न र छोराछोरीको पढाइ खर्च जुटाउन भारतको केदारनाथ पुगेका स्थानीय धनबहादुर अधिकारीको घाँस काट्ने क्रममा भिरबाट लडेर असामयिक निधन भएको छ। घरको मुख्य सहारा गुमेपछि उनका तीन नाबालक छोराको पठनपाठन र भविष्य अन्धकारमा परेको छ।
गाउँमा रोजगारीको अभाव, गरिबी र साहुको ऋण तिर्ने बाध्यताका कारण धनबहादुर तीन वर्षअघि घरमा ताल्चा लगाएर परिवारसहित मजदुरीका लागि भारत पसेका थिए। चाडपर्व नजिकिँदै गर्दा परिवारको सपना साकार पार्न पसिना बगाइरहेका उनी गत असोज १७ गते दिउँसो करिब १ बजे केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट चिप्लिएर लडेका थिए। घटनामै उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण शव नेपाल ल्याउन सम्भव नभएपछि भारतकै रुद्रप्रयागमा उनको अन्त्येष्टि गरिएको छ। हिन्दु परम्पराअनुसार काजक्रियाका लागि मृतककी श्रीमती भारतबाट र अध्ययनका क्रममा रहेका छोराहरू काठमाडौंबाट जुम्लास्थित गाउँ पुगेका छन्।
धनबहादुरका १८ वर्षीय जेठा छोरा अग्रबहादुरले भर्खरै कक्षा १२ को अध्ययन पूरा गरेका छन् भने १६ वर्षीय माइला छोरा भूपेन्द्र सरस्वती माविमा कक्षा १० र १२ वर्षीय कान्छा छोरा उपेन्द्र बागेश्वरी माविमा कक्षा ६ मा अध्ययनरत छन्। कोठा भाडामा बसेर पढिरहेका उनीहरूको भविष्य बुबाको निधनसँगै अनिश्चित बनेको छ।
बुबाको काख खोसिएपछि अभिभावकविहीन बनेका अबोध बालकहरूको शिक्षादीक्षालाई निरन्तरता दिन परिवार तथा आफन्तजनले देश–विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूसँग आर्थिक सहयोगको याचना गरेका छन्। दसैंको केही अंश खर्च कटौती गरेर भए पनि बालबालिकाको पढाइ र पालनपोषणमा सघाउन उनीहरूले अपिल गरेका छन्।
सहयोग गर्न चाहनेका लागि आर्थिक विवरण:
बैंक: कुमारी बैंक लिमिटेड (जुम्ला शाखा)
खातावालाको नाम: धर्मेन्द्र अधिकारी
खाता नम्बर: 3110352149900001
eSewa नम्बर: 9849289393
















