आईतवार, २५ आश्विन, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकलाई अनुसन्धान तालिम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (काह्स) ले स्नातकोत्तर तहका आवासीय (रेसिडेन्ट) चिकित्सकहरूका लागि आयोजना गरेको पाँचदिने ‘अनुसन्धान विधि’ (रिसर्च मेथोडोलोजी) सम्बन्धी तालिम सम्पन्न भएको छ। प्रतिष्ठानको संस्थागत पुनरावलोकन समिति (आईआरसी) को आयोजनामा असोज १९ देखि २३ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

​तालिमको उद्घाटन गर्दै उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोले प्रतिष्ठानको शैक्षिक तथा संस्थागत विकासका लागि अनुसन्धानलाई प्राथमिक क्षेत्रको रूपमा अघि बढाइएको बताए। स्थानीय आवश्यकतादेखि अन्तर्राष्ट्रिय समुदायसम्म प्रभाव पार्न बलियो अनुसन्धान संस्कृतिको विकास आवश्यक रहेको औंल्याउँदै उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यले स्वास्थ्य सेवा र नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने धारणा राखे।

​कार्यक्रममा प्रतिष्ठानका डिन डा. सन्दीप श्रेष्ठले अनुसन्धान केवल अध्ययनका लागि मात्र सीमित नभई बिरामीको प्रत्यक्ष उपचार र क्लिनिकल अभ्याससँग जोडिनुपर्ने बताए। त्यस्तै, शिक्षाध्यक्ष प्रा. डा. धर्मदत्त सुवेदीले अनुसन्धानका लागि प्रतिष्ठान स्रोतसाधन जुटाउन प्रतिबद्ध रहेको बताउँदै उपलब्ध अवसर र स्रोतको अधिकतम सदुपयोग गर्न चिकित्सकहरूलाई आग्रह गरे। प्रा. डा. दीपक काफ्लेले अनुसन्धानबाट प्राप्त नतिजालाई स्वास्थ्य, शिक्षा र समाजको अर्थपूर्ण सुधारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

​विभिन्न क्लिनिकल विभागका १० जना आवासीय चिकित्सक सहभागी उक्त तालिममा १३ जना विज्ञहरूले सहजीकरण गरेका थिए। तालिम अवधिभर चिकित्सकहरूलाई थेसिसका लागि अनुसन्धान प्रस्तावना (प्रपोजल) तयार गर्ने विधि, प्रमाणमा आधारित अनुसन्धान, स्वास्थ्य अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र क्लिनिकल विज्ञानमा अनुसन्धानको नैतिकताका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

​बायोस्टाटिस्टिक्सले तथ्याङ्कलाई भरपर्दो प्रमाणमा रूपान्तरण गर्ने उल्लेख गर्दै सहायक प्राध्यापक नन्दकुमार थारूले यसले प्रमाणमा आधारित नीति निर्माण र उपचार पद्धतिमा सहयोग पुग्ने बताए। यस्तै, सहायक प्राध्यापक दीर्घराज जोशीले आर्जित ज्ञानलाई प्रभावकारी रूपमा प्रयोग गर्दै स्नातक तहका विद्यार्थीलाई समेत अनुसन्धानमा जोड्नुपर्नेमा जोड दिए।

​तालिममा सहभागी प्रत्येक आवासीय चिकित्सकले तयार पारेका अनुसन्धान प्रस्तावना प्रस्तुत गरी सहजकर्ताहरूबाट सुझाव लिएका थिए। समापन समारोहमा उपकुलपति, रजिस्ट्रार, शिक्षाध्यक्ष, डिन तथा आईआरसीका पदाधिकारीहरूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रतिष्ठानले आवासीय चिकित्सकहरूको अनुसन्धान क्षमता सुदृढ बनाउँदै दिगो अनुसन्धान संस्कृति विकास गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार