हाइ अल्टिच्यट खेलको उच्च सम्भावना युक्त जुम्लामा जारी कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधिका लागि नेपाली सेनाको देविदत्त बटालियन र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन्। हाँकुस्थित खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलहरू जित्दै दुवै विभागीय टोलीले फाइनल भिडन्त पक्का गरेका हुन्।
उपाधि भिडन्तलाई अझ रोमाञ्चक र उत्सवमय बनाउन आयोजक संस्था ‘युथ फर कर्णाली’ ले दर्शकलक्षित विशेष अफर ल्याएको छ। फाइनल खेलका क्रममा ब्याटरले प्रहार गरेको बल बाउन्ड्री रेखा पार गरेर दर्शकदीर्घामा पुग्दा क्याच समात्ने जो-कोही दर्शकलाई प्रति क्याच १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खेलको रोमाञ्चकतासँगै दर्शकको उत्साह दोब्बर बनाउन यस्तो व्यवस्था गरिएको हो।
यसअघि सम्पन्न पहिलो सेमिफाइनल खेलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। पहिले ब्याटिङ गरेको देविदत्तले २ विकेटको क्षतिमा १५२ रनको बलियो योगफल खडा गरेको थियो।
जसमा खगेन्द्र मल्लले ६० रनको उत्कृष्ट इनिङ्स खेले। १५३ रनको विजयी लक्ष्य पछ्याएको भिक्ट्री किङ्स देविदत्तका बलरसामु खुलेर खेल्न नसक्दा मात्र ६४ रनमै समेटियो। अर्धशतक प्रहार गरेका खगेन्द्र खेलको ‘म्यान अफ द म्याच’ चुनिए।
दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले टीभीएस जुम्लामाथि ९ रनको रोमाञ्चक जित दर्ता गऱ्यो। टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ९ विकेट गुमाएर १०२ रन मात्र बनाउन सकेको थियो।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको टीभीएस जुम्लालाई कसिलो बलिङ गर्दै पुलिसले ६ विकेटको क्षतिमा ९३ रनमै रोकिदियो। बलिङतर्फ २ विकेट लिनुका साथै महत्त्वपूर्ण ६ रन जोडेका नेपाल पुलिसका दिलबहादुर थापा ‘म्यान अफ द म्याच’ घोषित भए।
चिसो मौसमका बाबजुद हाँकु मैदानमा खेलप्रेमीको उत्साहजनक उपस्थिति रहेको छ। एकातिर देविदत्तको आक्रामक लय र अर्कोतिर पुलिसको जुझारु रणनीतिबीचको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
त्यसमाथि मैदान बाहिर दर्शकका लागि राखिएको ‘छक्का समात, हजार जित’ योजनाले दर्शकदीर्घाको माहौललाई थप ताताउने निश्चित छ।
















