शुक्रबार, २३ आश्विन, २०८३

दूल्लुको स्वास्थ्य अवस्था : पूर्ण स्तनपान ३८ प्रतिशत मात्र

र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य विषयका विद्यार्थीहरूले दैलेखको दूल्लु नगरपालिकामा ४५ दिने स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी फिल्ड अध्ययन सम्पन्न गरेका छन्।

अध्ययनपछि सार्वजनिक गरिएको प्रतिवेदनका आधारमा दूल्लु नगरपालिकाले बालबालिकामा बालभिटाको पहुँच सुधार गर्न तयार गरिएको पाँचवर्षे कार्ययोजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।

​प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयअन्तर्गत स्नातक तह (बीपीएच) तेस्रो वर्ष, छैटौँ ब्याचका सात जना विद्यार्थीले नगरपालिकाको स्वास्थ्य प्रणाली, सेवा प्रवाह, योजना तर्जुमा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सूचना प्रणाली र पोषण तथा मातृ–बाल स्वास्थ्यको सूक्ष्म अध्ययन गरेका थिए।

​अध्ययनअनुसार दूल्लु नगरपालिकामा शिशुलाई जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या करिब ३८ प्रतिशत मात्र रहेको पाइएको छ। यसैगरी बालभिटाको पहुँच तथा कभरेजमा कमी देखिएको र समुदायमा झाडापखाला, कुपोषण, मलेरिया, डेंगु, स्क्रब टाइफस तथा नसर्ने रोगहरूको जोखिम बढ्दो क्रममा रहेको औंल्याइएको छ।

​स्वास्थ्य समस्याको प्राथमिकताकरण गर्दै विद्यार्थीहरूले पूर्ण स्तनपान प्रवर्द्धनका लागि एकवर्षे लघु कार्य परियोजना र बालभिटा कभरेज सुधारका लागि पाँचवर्षे रणनीतिक कार्ययोजना निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन्।

​नगरपालिकाको सभाहलमा आयोजित अन्तिम प्रस्तुतीकरण कार्यक्रममा विद्यार्थीहरू प्रकृति चौलागाईं, गणेश नाथ योगी, प्रेक्षा न्यौपाने, शिव शंकर मण्डल र डेक बहादुर भण्डारीले स्वास्थ्य प्रोफाइल, महामारी विज्ञान विश्लेषण, पोषण सुधार कार्ययोजना तथा तार्किक ढाँचा प्रस्तुत गरेका थिए। राजेश पाण्डेले सञ्चालन गरेको कार्यक्रममा दीपेन्द्र चुनाराले स्वागत मन्तव्य राखेका थिए।

​कार्यक्रममा कार्यवाहक नगर प्रमुख विना कार्कीले फिल्ड अध्ययनमार्फत प्राप्त तथ्य र सुझावलाई नगरपालिकाले नीतिगत रूपमै आत्मसात् गर्ने बताइन्। उनले विशेष गरी बालभिटाको कभरेज बढाउन विद्यार्थीहरूले तयार पारेको पाँचवर्षे कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

​कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक ओमप्रकाश काफ्लेले दूल्लुको समग्र स्वास्थ्य प्रणाली सन्तोषजनक भए पनि नसर्ने रोगहरू तीव्र गतिमा चुनौतीका रूपमा देखा परेकाले नियन्त्रणका लागि पूर्वतयारी आवश्यक रहेको बताए। उनले स्थानीय तह र प्रतिष्ठानबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गरिने उल्लेख गरे।

​नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमले यस्ता प्राज्ञिक अध्ययनले स्थानीय तह र विद्यार्थी दुवै पक्षको सिकाइलाई मजबुत बनाउने बताए भने स्वास्थ्य शाखा प्रमुख सुशील साहीले विद्यार्थीहरूले औंल्याएका तथ्याङ्क र सुझावलाई प्राथमिक स्वास्थ्य सेवा सुधारमा उपयोग गरिने जनाएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार