कुटीरो रिसर्च सेन्टरले सम्मेलनलाई एकदिने साहित्यिक कार्यक्रममा सीमित नराखी कर्णालीमा अध्ययन, अनुसन्धान, चिन्तन, लेखन र विचार निर्माणको वातावरण विकास गर्ने दीर्घकालीन बौद्धिक अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
कर्णालीलाई लामो समयदेखि राज्यको मूलधारबाट टाढा रहेको ‘सीमान्त भूगोल’का रूपमा बुझिँदै आएको सन्दर्भमा कर्णालीको आवाज, ज्ञान र सिर्जनालाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्यले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुने भएको छ।
कुटीरो रिसर्च सेन्टरको आयोजनामा हुने सम्मेलनको पहिलो संस्करण आगामी कात्तिक ९ गते हुनेछ। सम्मेलनलाई साहित्यिक जमघटका रूपमा मात्र नभई कर्णालीको ज्ञान, अनुभव, सिर्जना र सामाजिक यथार्थमाथि बहस गर्ने बौद्धिक थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ। सम्मेलनको मूल अवधारणा ‘किनारादेखि केन्द्रसम्म’ भन्ने वैचारिक यात्रामा केन्द्रित हुनेछ।
भौगोलिक विकटता, राज्यको कमजोर उपस्थिति, अवसरको असमान वितरण र केन्द्रमुखी विकास दृष्टिकोणका कारण कर्णाली लामो समयदेखि राष्ट्रिय बहसको किनारामा परेको आयोजकको निष्कर्ष छ।
तर ‘सीमान्त’ हुनु राजधानी वा राजनीतिक केन्द्रबाट भौगोलिक दूरीमा मात्र सीमित नभई सामाजिक, सांस्कृतिक, आर्थिक र बौद्धिक रूपमा किनारामा पारिएका समुदायका आवाजलाई मूलधारमा ल्याउने विषयलाई सम्मेलनले बहसमा समेट्नेछ।
नेपालमा राज्यको संरचना, विकास र ज्ञान निर्माणसम्बन्धी बहस लामो समयदेखि केन्द्र वरिपरि घुम्दै आएको आयोजकको भनाइ छ। काठमाडौं लगायतका राजनीतिक तथा बौद्धिक केन्द्रमा हुने बहसले विभिन्न भूगोल र समुदायका विषय उठाए पनि कर्णालीको आफ्नै अनुभव, ज्ञान र सिर्जनाले पर्याप्त स्थान पाउन सकेको छैन।
त्यसैले कर्णालीलाई अध्ययनको विषय मात्र नभई विचार निर्माण गर्ने भूगोलका रूपमा स्थापित गर्ने प्रयास सम्मेलनमार्फत गरिनेछ।
कर्णालीको चर्चा गर्दा गरिबी, अभाव, विकटता र पछौटेपनलाई मात्र अगाडि सार्ने गरिएको भन्दै आयोजकले यहाँ पुस्तौंदेखि विकसित भाषा, लोककथा, लोकसाहित्य, देउडा, लोकगीत, संगीत, कला, हस्तकला, परम्परागत सीप, मौखिक इतिहास र स्थानीय ज्ञानको ठूलो संसार रहेको छ। ती ज्ञान र सिर्जनाको पर्याप्त दस्तावेजीकरण र राष्ट्रिय बहस हुन सकेको उसको छैन।
सम्मेलनमा स्थानीय ज्ञान र सिर्जनालाई संरक्षण गर्ने विषयसँगै त्यसलाई समकालीन समाज, प्रविधि र बजारसँग जोड्ने विषयमा समेत छलफल हुनेछ।
कर्णालीका परम्परागत सीपलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने ? स्थानीय कथालाई नयाँ साहित्यिक विधामा कसरी रूपान्तरण गर्ने ? मौखिक इतिहासलाई कसरी अभिलेख गर्ने र स्थानीय भाषालाई डिजिटल माध्यमबाट कसरी विस्तार गर्ने ? भन्ने विषयमा बहस गरिनेछ।
त्यस्तै कर्णालीको सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसम्म पुर्याउने सम्भावना, स्थानीय मिथक र लोककथालाई नयाँ पुस्ताको सिर्जनासँग जोड्ने उपाय तथा सीमान्त समुदायका अनुभवलाई साहित्यिक विमर्शमा समेट्ने विषय पनि सम्मेलनका प्राथमिकतामा छन्।
‘कुन समुदायको कथा लेखिन्छ ? कसको आवाज साहित्यमा आउँछ ? कसको ज्ञानलाई ज्ञान मानिन्छ ?’ जस्ता प्रश्नलाई समेत सम्मेलनको बहसमा ल्याइने आयोजकले जनाएको छ। अनुसन्धानकर्ता, लेखक, साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार र युवालाई एउटै बहसमा जोड्ने तयारी गरिएको छ।
सम्मेलन एक दिन सञ्चालन हुनेछ। उद्घाटन सत्रपछि पाँचवटा फरक सत्रमा विविध विषयमा छलफल हुनेछ भने साँझ साहित्यिक कार्यक्रम आयोजना गरिनेछ। सम्मेलनमा सहभागी हुने अतिथिको नाम क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ।
कुटीरो रिसर्च सेन्टरले सम्मेलनलाई एकदिने साहित्यिक कार्यक्रममा सीमित नराखी कर्णालीमा अध्ययन, अनुसन्धान, चिन्तन, लेखन र विचार निर्माणको वातावरण विकास गर्ने दीर्घकालीन बौद्धिक अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
कुनै भूगोललाई केन्द्रमा ल्याउन सडक, सञ्चार र भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन, विचार निर्माणको पूर्वाधार पनि आवश्यक हुन्छ। त्यसैले ‘सीमान्त साहित्य सम्मेलन’ले कर्णालीलाई ‘पछाडि परेको भूगोल’ भन्ने प्रचलित भाष्यभन्दा बाहिरबाट हेर्दै आफ्नै ज्ञान, सभ्यता, अनुभव र सिर्जनात्मक क्षमतालाई राष्ट्रिय साहित्यिक तथा बौद्धिक विमर्शको केन्द्रमा ल्याउने प्रयास गर्नेछ।
सम्मेलनले ‘कुनै भूगोल सीमान्त कसरी बन्छ ?’, ‘सीमान्त हुनु प्राकृतिक अवस्था हो कि राज्यको नीति, शक्ति संरचना र विकास दृष्टिकोणले निर्माण गरेको अवस्था हो ?’ र ‘सीमान्तकृत समुदाय केन्द्रमा पुग्नुपर्ने हो कि केन्द्र नै सीमान्ततर्फ फर्किनुपर्ने हो ?’ जस्ता प्रश्नमाथि समेत विमर्श हुनेछ।
‘सीमान्त साहित्य सम्मेलन’को मूल मर्म सीमान्तलाई केन्द्रको दयामा होइन, आफ्नै ज्ञान, सिर्जना र आवाजका आधारमा केन्द्रसँग संवाद गर्न सक्ने बनाउनु हो।
















