उद्घाटनको दिन भएका दुई खेलमा भिक्टोरी किङ्स र श्री देवीदत्त बटालियन विजयी भएका छन्।
समुद्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाइ। वरिपरि हिउँदको आभास दिन थालेका हिमाली डाँडाहरू, पातलिँदो चिसो हावा र हरियालीबीच समथर पारिएको हाँकु क्रिकेट मैदान।
मंगलबार बिहान जब अम्पायरको इसारासँगै बलरले रन-अप लिए र ब्याटको किनारा लाग्दै लेदरको बल सीमारेखातिर दौडियो, जुम्लाको खेलकुद इतिहासमै एउटा नयाँ अध्याय कोरियो।
नेपालमा क्रिकेटको कुरा गर्दा सामान्यतया तराईका समथर फाँट, चितवनको मैदान वा काठमाडौंका त्रिवि स्थित क्रिकेट रंगशाला र मूलपानी क्रिकेट रंगशालाको तस्बिर आँखाअगाडि आउँछ। तर, यसपटक ब्याट र बल घन्किएको आवाजले कर्णालीको हिमाली भूगोललाई जगाइदिएको छ।
जुम्लाको इतिहासमै पहिलोपल्ट आयोजना भइरहेको ‘हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता’ (कर्णाली प्रिमियर लिग – केपीएल) ले स्थानीय युवा मात्र होइन, सिंगो खेल वृत्तको ध्यान तानेको छ।
एथलेटिक्सको भूमिमा क्रिकेटको नयाँ सपना
भौगोलिक विकटता, पूर्वाधारको अभाव र कठोर मौसमका कारण कर्णाली लामो समयसम्म एथलेटिक्स र विशेषगरी लामो दूरीको दौडमा मात्र सीमित रह्यो।
हरिबहादुर रोकायाजस्ता म्याराथन धावक जन्माएको यस भूमिमा क्रिकेट खेल्ने पूर्वाधारको कल्पना गर्नु पनि केही वर्षअघिसम्म धेरैका लागि असम्भवजस्तै थियो।
तर, पछिल्लो दशकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको चामत्कारिक प्रदर्शनको प्रभाव यहाँका कुना-कन्दरासम्म पुगेको आयोजक संस्था युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले बताए।
उनका अनुसार टिभी र मोबाइलको पर्दामा पारस खड्का, रोहित पौडेल वा दीपेन्द्रसिंह ऐरीको छक्का हेरेर प्रेरित भएका कर्णालीका युवाहरूले अन्ततः ढुंग्यान र भिरालो भूगोल पन्छाउँदै आफ्नै मैदान तयार पारे।
बल र ब्याटको रोमाञ्च
उचाइमा क्रिकेट खेल्नु मैदानमा खेल्नुजस्तो सामान्य हुँदैन। वैज्ञानिक हिसाबले पनि उच्च भूभागमा हावाको चाप पातलो हुने भएकाले बलले सामान्यभन्दा बढी गति लिन्छ भने खेलाडीको शारीरिक स्ट्यामिनाको ठूलो परीक्षा हुने अन्तर्राष्ट्रिय धावक हरि रोकायाको अनुभव छ।
हाँकु मैदानमा सुरु भएको यो प्रतियोगितामा जुम्ला र कालिकोटका स्थानीय खेलाडीसहित बाहिर बस्दै आएका कर्णालीका प्रतिभावान युवाहरू समेटिएका ११ टिम मैदानमा उत्रिएका आयोजकले जनाएको छ।
उनका अनुसार प्रतियोगिताले खेलाडीमा ऊर्जा मात्र भरेको छैन, जुम्लालाई क्रिकेटको नयाँ केन्द्र बनाउने सपनाको ढोका पनि खोलेको छ।
भूगोल र स्रोतसाधनको अभाव देखाएर पछि हट्ने पुरानो मानसिकतालाई तोड्दै यो आँट गरिएको आयोजक टिमका गोविन्द देवकोटाको भनाइ छ। उनले भने, ‘कर्णालीमा प्रतिभाको कुनै कमी छैन, केवल मैदान र अवसरको अभाव थियो।’
उनका अनुसार प्रतियोगितामार्फत जुम्लालाई स्याउ र मार्सी धान फल्ने जिल्लाका रूपमा मात्र होइन, स्पोर्ट्स टुरिजम र हाइ-अल्टिच्युड क्रिकेटको सम्भावना बोकेको थलोका रूपमा राष्ट्रिय मञ्चमा चिनाउन खोजिएको छ।
पर्यटन र प्रतिभाको संगम
पाँच दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ नगदसहित पदक प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ पनि थप पुरस्कारको व्यवस्था गरिएको छ।
युथ फर कर्णालीका अध्यक्ष भारतीका अनुसार हाई अल्टिच्युडको मैदानमा देशभरका खेलाडीलाई आकर्षित गर्दै जुम्लालाई क्रिकेटको नयाँ गन्तव्य बनाउने दीर्घकालीन योजना छ।
‘हामीले यसलाई खेलकुद प्रतियोगिता मात्र मानेका छैनौँ, यो जुम्लाको पहिचान, यहाँको पर्यटन प्रवर्द्धन र युवा सशक्तीकरणको माध्यम हो,’ भारतीले भने, ‘यहाँको चिसो मौसम र उच्च भूगोलमा राष्ट्रिय स्तरका खेलाडीलाई समेत ल्याएर खेलाउन सकिने आधार हामी तयार गर्दैछौँ।’
मैदानमा पसिना बगाइरहेका स्थानीय खेलाडीहरूका लागि भने यो आफ्ना कमजोरी सुधार्ने र सम्भावना देखाउने सुनौलो अवसर बनेको छ।
‘हामीले सधैँ टेलिभिजनमा मात्र ठूला प्रतियोगिता हेर्यौँ, आफ्नै ठाउँमा यसरी प्रतियोगिता खेल्न पाउनु हाम्रो लागि ठूलो कुरा हो,’ स्थानीय खेलाडी महेश हमाल भन्छन्।
उनका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर दिनेछ र हाम्रो क्षमता पहिचान गर्न ठूलो सहयोग पुग्नेछ।
(केपिएल) उद्घाटनको दिन भएका दुई खेलमा भिक्टोरी किङ्स र श्री देवीदत्त बटालियन विजयी भएका छन्। पहिलो खेलमा भिक्टोरी किङ्सले टिम कासलाई नौ ओभरमै पराजित गरेको हो।
यस्तै, दोस्रो खेलमा पहिले ब्याटिङ गरेको श्री देवीदत्त बटालियनले ९६ रनको लक्ष्य दिएकोमा जवाफी ब्याटिङमा उत्रिएको गुठीचौर–१ टोली ३१ रनमै अलआउट भएको थियो।
















