शुक्रबार, ९ आश्विन, २०८३

प्राकृतिक विपद् र जताततै ठगी, नेपाल आउन डराउँदै विदेशी !

नेपाली आफ्नै सिंहदरबार, संसद् भवन, अदालत जलाउँछन् । अनि विदेशीले नेपाली सुरक्षित छ भनेर पत्याउँछन् ? नेपालमा विदेशीले लगानी गर्न नचाहनुको कारण त्यही हो ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको भिषण बाढीमा मर्नेको संख्या डेढ हजार पुग्न लागिसकेको छ । बाढीमा हजारौं बेपत्ता छन् । जसमा दर्जनौं देशका विदेशी नागरिक पनि रहेका छन् । नेपाल घुम्न आएका उनीहरु बाढीपछि सम्पर्कविहिन अवस्थामा छन् ।

उनीहरु अब भेटिन गाह्रो छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा पनि विदेशीले ज्यान गुमाए । हायात होटलमा बसिरहेको श्रीमतीको ज्यान गएपछि श्रीमानले क्षतिपूर्ति दाबी गरेका छन् । कोरोना महामारीका कारण नेपालमा २०७६ चैत ११ र २०७८ वैशाख १६ गतेदेखि लकडाउन भयो ।

लकडाउनका बेला नेपालमा रहेका कतिपय विदेशीलाई तिनकै देशको विमान आएर लिएर गयो, कति कोरोनाले बिते । २०७२ वैशाख १२ गते महाभूकम्प गयो । ढलेको घरबाट विदेशी नागरिकले ज्यान गुमाए । २०८० कात्तिक १७ गतेको भूकम्पमा पनि उनीहरुको ज्यान गयो ।

नेपालमा आइरहने बाढी पहिरोले विदेशी नागरिकलाई प्रभावित बनाउँदै आएको छ । घुम्न जाने क्रममा अचानक आएको बाढी पहिरोमा उनीहरु बेपत्ता भएको घटनाहरु पनि छन् । मुलुकमा भइरहने विमान दुर्घटनामा विदेशीले ज्यान गुमाइरहेको अवस्था छ । यो त भइपरी आउने घटनामा विदेशी नागरिकले ज्यान गुमाएको घटना भयो ।

तर, यस्ता घटनाले नेपाल असुरक्षित हो कि भन्ने मानसिकताको विकास हुँदै गएको छ । यसलाई राज्यले चिर्न आवश्यक छ । विदेशी पाहुना हुन् । उनीहरुलाई आउँदा नेपाललाई नै फाइदा हुन्छ । उनीहरु यहाँ बस्दा विभिन्न ठाउँ घुम्छन् । राज्यको ढुकुटीमा राजश्व आउँछ । होटल व्यवसायीहरुको आम्दानी हुन्छ ।

पर्यटकले नेपालको राज्यकोषमा योगदान गर्दै आएका छन् । उनीहरु नेपाल आउँदा यहाँको सम्पदाको विश्वासभर चर्चा हुन्छ । विडम्बना, आफ्‌नो आम्दानी गरिदिँदै आएका पर्यटकलाई सुरक्षा दिन सकेको छैन भने व्यवसायीले ठग्ने क्रम जारी छ । विदेशी भन्नेबित्तिकै होटल व्यवसायीले उनीहरुलाई ठग्छन् ।

नेपालीलाई साढे दुई सय–तीन सयमा खुवाउने खानाको भाउ विदेशी देख्नेबित्तिकै बढ्छ । रुमहरुको पनि मनलाग्दी रेट लिइँदै आइएको छ । ट्याक्सी व्यवसायीले विदेशीसँग मनपरी भाडा उठाउँछन् । विदेशी घुमाउने गाइडहरुले जहाँ कमिशन पाइन्छ, त्यहीँ लगेर विदेशी राख्छन् ।

आफूहरुलाई कमिशन आउने हरियो प्लेटको गाडीमा उनीहरु यात्रा गराउँछन् । हवाई उद्धारका नाममा हेलिकप्टर व्यवसायीहरुले विदेशीलाई लुटिरहेका छन् । उनीहरुबाट पनि पैसा खाने, इन्स्योरेन्स पनि क्लेम गर्ने । नेपाली उत्पादन सामान बेच्नेहरुले पनि विदेशी ठगेका छन् ।

विदेशी देख्नेबित्तिकै माग्ने मान्छे यत्तिकै झुम्मिन्छन् । बन्दहड्तालको नाममा विदेशीलाई दुःख दिने क्रम जारी छ । पछिल्लो समय सातै प्रदेशमा ठूल्ठूला होटल खुल्ने क्रम जारी छ । विदेशीलाई लक्षित गरी ती होटलमा करोडदेखि अर्‌बौं लगानी गरिएको छ । यस्तै पाराले विदेशी घुम्न आउँछन् ?

विदेशी आएनन् भने के हुन्छ ? राज्यलाई राजश्व आउँछ ? व्यापार व्यवसाय चल्छ ? नेपालको अर्थतन्त्रमा विदेशी पर्यटकको पनि योगदान छ । उनीहरु आएका छन् र मुलुकका व्यापार व्यवसाय चलेको छ । तर, यो कुरामा राज्य र व्यापारी नै गम्भीर भएको पाइँदैन । नेपाल घुम्न आउँदा कतिपय विदेशी नागरिक सार्वजनिक यातायातमा यात्रा गर्छन् ।

उनीहरुलाई उभ्याएर यात्रा गराइन्छ । केही समयअघि एउटा पनौतीको सार्वजनिक बसमा विदेशी नागरिक चढे । सो गाडीमा सरकारी कर्मचारी पनि थिए । तर, उनीहरु सिटबाट उठेनन् । विदेशी भएपनि नदेखेझैं गरे । सरकारी कर्मचारी जनता र राष्ट्रको सेवक हुन् । उनीहरुले सधैँ राष्ट्रको हित हुने काम गर्नुपर्छ ।

नेपालको राज्यकोषमा योगदान पुर्‍याउने पाहुनाहरु उठिरहँदा उनीहरु बसिरहे । विदेशीको हकमा मात्र होइन, ज्येष्ठ नागरिक, अपाङ्गता र बालबच्चा भएकाहरु गाडी चढ्दा पनि उनीहरु सिट छोड्दैनन् । राष्ट्रसेवक कर्मचारीमै सेवाभावको अभाव छ । यता, विदेशीलाई निजी प्लेटका सवारीले ठगिरहेका छन् ।

सरकारले सबै प्रदेशमा ट्याक्सीको दर्ता खोलिदिने हो भने उनीहरु ठगिने क्रम रोकिन्छ । सहज रुपमा उनीहरुले सेवा पाउँछन् । नेपालको कानुन नबुझेर धेरै विदेशी कानुनको कठघरामा परिरहेका छन् ।

देशभरको कारागारमा हजारौं विदेशी छन् । उनीहरुसँग वकिल राख्ने पैसा छैन । जुन देशका नागरिक हुन्, त्यही देश पठाइदिए भइहाल्यो । अहिले नेपालीहरु पनि विभिन्न देशको जेलमा छन् । तिनका आफन्तलाई यहाँ कति पीडा छ । नेपालको जेलमा भएकाको परिवारलाई पनि उत्तिकै पीडा छ ।

सरकारले पक्राउ परेका विदेशीलाई फिर्ता पठाइदिएमा उताबाट पनि नेपाली पठाइदिन सक्छ । सरकारले शुरुवात त गर्नुपर्यो नि । बरु उनीहरुलाई कारबाहीस्वरुप अर्कोपटकबाट नेपाल आउन नदिने । विदेशीलाई जेलमा कोचेर राख्ने सिस्टम गलत छ । उनीहरुलाई पाल्नुपर्दा राज्यको ढुकुटीमा भार थपिएको छ ।

अर्कोतिर, यहाँको ऐनकानुन, नीतिनियम नबुझ्‌दा उनीहरु समस्यामा छन् । विदेशीहरु सम्पदा क्षेत्रमा जाँदा राजश्व तिर्नुपर्छ । त्यसले राज्यको ढुकुटीमा योगदान पुर्याउँछ । तर, नेपाली नागरिकता त्यागेका गैरनेपालीहरु पैसा तिर्दैनन् । सम्पदा क्षेत्रमा जाँदा उनीहरु नेपाली बोल्छन् ।

नेपाली आफन्तसँगै घुम्न गएका हुन्छन् । अनुहार पनि नेपाली नै देखिन्छ । जान्छन्, घुम्छन् तर राजश्व तिर्दैनन् । अन्य देशको नागरिकता लिइरहेकाले पनि राज्यलाई ठग्न छोडेका छैनन् । नेपाल जलवायु परिवर्तनको चपेटामा छ । जलवायु परिवर्तनका कारण नेपालमा अप्रिय घटना घटिरहेका छन् ।

जसले नेपाल असुरक्षित हो कि ? भन्ने प्रश्न उठेको छ । पटकपटक आउने प्राकृतिक विपद्, देशमा भइरहने आन्दोलनका कारण विदेशी डराएका छन् । उनीहरुलाई कसरी सुरक्षित महसुश गराउने ? नेपाल सुरक्षित छ भनेर कसरी विश्वमाझ फैलाउने ? यो काम सरकारको हो ।

केही दिनअघि भारत भ्रमणमा गएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपाली आफ्नै सिंहदरबार, संसद् भवन, अदालत जलाउँछन् । अनि विदेशीले नेपाली सुरक्षित छ भनेर पत्याउँछन् ? नेपालमा विदेशीले लगानी गर्न नचाहनुको कारण त्यही हो ।

सरकार सुरक्षाको प्रत्याभूत गर्न सक्दैनन् । अनि कसले लगानी गर्छ ? यो सरकारले न विदेशीको मन जित्न सक्यो न नेपालीको । विदेशी नेपाल आउन र लगानी गर्न डराइरहेकै छन् । नेपाली व्यवसायी नै थप लगानी गर्न चाहने स्थितिमा छैनन् । यसले अर्थतन्त्र धराशायी बन्दै गएको छ ।

विदेशी नागरिक भित्रिएनन् भने अहिले धमाधम खुलिरहेका होटलहरुको लगानी डुब्छ । अर्थतन्त्रमा नोक्सानी हुन्छ । अन्य व्यापार व्यवसाय पनि चौपट हुन्छ । त्यसैले राज्यले विदेशी नागरिकलाई विश्वास दिलाउनु अहिलेको आवश्यकता भइसकेको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार