दैलेखमा स्वचालित पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र सोही नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ गरी सोधपुछ गर्ने क्रममा हतियार लुकाएर राखेको खुलेपछि प्रहरीले खोजतलास गरेको हो।
सोधपुछका क्रममा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४ स्थित राकम खोलीबजार नजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा तीन जना प्रहरीको टोली खटिएको थियो।
प्रहरी टोलीले स्थानीय इलाका प्रहरी कार्यालय राकम, दैलेखसँग समन्वय गरी खोजतलास गर्दा खोलीबजार नजिकै खोल्साको झाडीमा कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।
प्रहरीका अनुसार बरामद पेस्तोलमा ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको छ। प्रहरीले १०५०२८ नम्बरको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्याग्जिन र पाँच राउण्ड गोली बरामद गरेको जनाएको छ।
उक्त हतियार भदौ २६ गते दिउँसो १२ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
हतियारसहित पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।















