दैलेख । स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै दैलेखको आठबीस नगरपालिका–६, सिहासैनमा घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। अभियानमार्फत विभिन्न दुई टोलका १५५ भन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण, औषधि र परामर्श सेवा पाएका छन्।
आठबीस नगरपालिका–६ अन्तर्गतका खड्का गडेन र राता टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा प्रदान गरेको हो। खड्का गडेन टोलका ४६ जना र राता टोलका १०९ जना गरी १५५ जनाभन्दा बढी नागरिक सेवा अभियानबाट लाभान्वित भएका छन्।
दुर्गम बस्तीका नागरिकलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचारका लागि टाढाको स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले गाउँमै पुगेर सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीको टोलीले नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यकताअनुसार औषधि वितरण र स्वास्थ्यसम्बन्धी परामर्श दिएको थियो।
शनिबार सार्वजनिक बिदाको दिनसमेत स्वास्थ्यकर्मीलाई परिचालन गरी सेवा सञ्चालन गरिएको थियो। आठबीस नगरपालिका–६ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख नवराज शर्मा स्वयं औषधि र स्वास्थ्यकर्मीको टोलीसहित विभिन्न बस्तीमा पुगेका थिए।

मोटरसाइकलमा औषधिका कार्टुन बोकेर गाउँ पुगेका शर्मा स्वास्थ्य इन्चार्ज विनोद कुमार कठायतसहित तीन जना स्वास्थ्यकर्मीसँगै सेवामा खटिएका थिए।
‘जनताको समस्या जहाँ छ, सेवा पनि त्यहीँ पुग्नुपर्छ भन्ने हाम्रो सोच हो,’ वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख शर्माले भने, ‘विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भएका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौं।’
उनले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
स्थानीयवासीले स्वास्थ्यकर्मी र औषधिसहितको टोली गाउँमै पुगेपछि आफूहरूलाई निकै सहज भएको बताएका छन्। विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा प्रभावकारी बनेको उनीहरूको भनाइ छ।
ग्रामीण क्षेत्रमा यातायातको असुविधा, आर्थिक अवस्था र भौगोलिक कठिनाइका कारण सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचारमा ढिलाइ हुने समस्या देखिँदै आएको छ। यस्तो अवस्थामा नागरिक बसेकै ठाउँमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदा समयमै उपचार र स्वास्थ्य परामर्श प्राप्त गर्न सहज हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य इन्चार्ज विनोद कुमार कठायतले समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा नागरिकको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिनसमेत सहज हुने बताए।
‘स्वास्थ्य संस्थासम्म आउन नसक्ने नागरिकसम्म पुग्नु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘घरदैलोमै सेवा पुग्दा विशेषगरी ज्येष्ठ नागरिक र अन्य कमजोर अवस्थाका नागरिकलाई बढी सहज हुन्छ।’
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले आधारभूत आवश्यकता र समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन्। सार्वजनिक बिदाको दिनसमेत स्वास्थ्यकर्मीलाई परिचालन गरी बस्तीमै सेवा पुर्याइनु जनमुखी सेवा प्रवाहको सकारात्मक प्रयासका रूपमा हेरिएको छ।
आठबीस नगरपालिका–६ सिहासैनका अन्य बस्ती तथा टोलमा समेत यस्ता घरदैलो स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिन सके ग्रामीण क्षेत्रका धेरै नागरिकले समयमै स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ।

















