बगैंचामा फलेको स्याउ बजार नपाएर कुहिने चिन्ता अब जुम्लाका केही किसानका लागि अवसरमा बदलिन थालेको छ। काँचो स्याउ बिक्रीमै सीमित किसानले अहिले त्यसलाई चाना, चिप्सलगायतका परिकारमा रूपान्तरण गरी आकर्षक प्याकेजिङमार्फत बजारसम्म पुर्याउने सीप सिकेका छन्।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको आयोजनामा चारदिने फलफूल प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सम्पन्न भएको हो।

तालिममा सहभागी किसान तथा उद्यमीलाई स्याउ प्रशोधन, चाना तथा चिप्स बनाउने, सुरक्षित रूपमा सुकाउने, गुणस्तर कायम राख्ने र आधुनिक प्याकेजिङ गर्ने व्यावहारिक अभ्यास गराइएको थियो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशिक्षक सुवास तिमिल्सिनाले सैद्धान्तिक ज्ञानसँगै मेसिनको प्रयोगमार्फत किसानलाई व्यावसायिक उत्पादनका लागि आवश्यक सीप सिकाएका थिए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले स्याउको मूल्य अभिवृद्धि नै किसानको आर्थिक उन्नतिको महत्वपूर्ण आधार बन्न सक्ने बताए।
‘जुम्लाको स्याउको बजार विस्तारका लागि यस्तो तालिम निकै उपयोगी छ,’ उनले भने, ‘परम्परागत रूपमा काँचो स्याउ बेच्दा ढुवानी, बजार र कुहिने जोखिम हुन्छ। तर प्रशोधन र उचित भण्डारण गर्न सके किसान आफैं उद्यमी बन्न सक्छन्।’

तालिमपछि सहभागीलाई व्यावसायिक उत्पादन सुरु गर्न आवश्यक उपकरणसमेत वितरण गरिएको छ। किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीका अनुसार प्रत्येक सहभागीलाई डिजिटल तराजु, स्याउको चाना बनाउने पिलर मेसिन, चिप्स कटर, प्लास्टिक सिलिङ मेसिन तथा प्याकेजिङ सामग्री उपलब्ध गराइएको छ।
‘सिकेको सीप तालिममै सीमित नहोस् र किसानले गाउँमै सानो उद्यम सुरु गर्न सकून् भन्ने उद्देश्यले सामग्री सहयोग गरेका हौं,’ कार्कीले भने।

सहभागी लंकनाथ योगीले तालिमले स्याउ खेर जाने चिन्तालाई आम्दानीको सम्भावनामा बदलेको बताए। ‘पहिले स्याउ कुहिएर खेर जाला कि भन्ने डर हुन्थ्यो,’ उनले भने, ‘अब आधुनिक मेसिन प्रयोग गरेर गाउँमै चाना र चिप्स बनाउन सक्ने भएका छौं। यो सीपले जीविकोपार्जनको नयाँ बाटो खोलेको छ।’
स्थानीय उत्पादनको प्रशोधन, गुणस्तरीय प्याकेजिङ र प्रभावकारी ब्रान्डिङ हुन सके ‘जुम्लाको स्याउ’ फलको परिचयमा सीमित नरही ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्न सक्ने देखिन्छ।
















