जुम्लाका युवा व्यवसायी दिनेश खड्काले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
खड्काले डि.के. स्टेप इन फेसन सेन्टर, कलंकीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।
उनले विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएका छन्।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेको भन्दै खड्काले विपद्मा परेका नागरिकलाई सरकार, निजी क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ’ भन्ने भावनासहित उनले सहयोग गरेको बताएका छन्। उनले विपद्को समयमा आर्थिक सहयोगसँगै पीडित परिवारप्रति सहानुभूति, हौसला र साथ आवश्यक रहेको उल्लेख गरेका छन्।
खड्काले अन्य उद्योगी व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, युवा तथा सक्षम नागरिकलाई समेत बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका छन्।
उनी भन्छन्, ‘सहयोग रकमले होइन, मनले ठूलो हुन्छ। आउनुहोस्, यो कठिन समयमा पीडितहरूसँग उभिऔँ।’
खड्काको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भुक्तानी विवरणसमेत सार्वजनिक गरिएको छ।

















