मंगलवार, १६ भाद्र, २०८३

बाढीले हामी चढेको बस बगायो: पाँच मिनेटले ज्यान बच्यो

आँखाअगाडि घटिरहेका घटनाले शरीर शिथिल बनायो। मनमा अनेक प्रश्न उठे। जीवनमा गरेका काम, भेटेका मानिस र परिवारसँग बिताएका क्षणहरू एकैपटक स्मृतिमा आउन थाले। त्यो क्षणमा मानिसले आफ्नो जीवन कति नाजुक रहेछ भन्ने कुरा सबैभन्दा नजिकबाट महसुस गर्दोरहेछ।

२०८३ साल भदौ १० गते बिहान करिब ७ बजे गोसाइँकुण्ड यात्राका लागि निस्कँदै गर्दा मैले कल्पना पनि गरेको थिइनँ। केही घण्टापछि मेरो जीवनकै सबैभन्दा भयावह क्षणसँग सामना हुनेछ भनेर।

जुम्लाको चन्दननाथ नगरपालिका–९ घर भई हाल गल्छी गाउँपालिकामा कार्यरत म, सामान्य यात्राको सोच लिएर निस्किएको थिएँ। तर विपद्ले बाटोमा मेरो जीवन र मृत्युबीचको दूरी केही मिनेटमा सीमित गरिदियो।

त्यो दिन हामी गोसाइँकुण्डका लागि गल्छीबाट बेत्रावती बजारतर्फ जाँदै गर्दा बजार पुग्न करिब पाँच, छ मिनेट मात्रै बाँकी थियो। बेत्रवती भन्दा अगाडि खाना खान गाडी रोक्न ड्राइभरलाई आग्रह गर्दा सुरुमा ड्राइभरले गाडी रोक्न मानेका थिएनन्।

धेरै आग्रह र सबैलाई सम्झाएर बल्ल गाडी रोक्न लगाइएको थियो। तर गाडी रोकिएको दुई तीन मिनेटमै अचानक भीषण बाढी आइपुग्यो। केही क्षणमै हामी चढेको गाडीसमेत बाढीले बगायो। गाडी बगेपछि ज्यान जोगाउन म जङ्गलतर्फ भागेर माथिल्लो डाँडामा पुगेँ।

त्यसपछि त्रिशूलीस्थित आर्मी ब्यारेकमा पुग्न सफल भएँ। त्यहाँ नेपाली सेनाले उद्धार गर्नुका साथै गाडीको व्यवस्था गरेर हामीहरूलाई सुरक्षित रूपमा काठमाडौँ पठायो।

केही समयअघिसम्म जीवनकै भयावह अवस्थाबाट गुज्रिए पनि सेनाको सहयोगका कारण सकुशल काठमाडौँ पुग्न सकेँ। अहिले भने गल्छी गाउँपालिकाको कार्यालयमा सुरक्षित रूपमा पुगिसकेको छु।

आज देश दुनिया शोकाकुल छ। पाँच मिनेट ढिलो भएको भए म आज बेपत्ता सूचिमा वा मेरो जीवन तलमाथि भइसकेको हुने थियोे। देशले मनाउन बाध्य भएको शोकमा मेरो परिवार पनि जबर्जस्ती मिसिन पुगेको छ। तर म नै दुर्घटनामा परेको भए मेरो परिवार थप पीडित हुने थियोे। संयोग म बाँचेँ।

त्यो घटना सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ। केही समयअघिसम्म सामान्य लागिरहेको यात्रा अचानक त्रास, अन्योल र अनिश्चितताले भरियो। वरिपरिको वातावरण बदलिँदै जाँदा के भइरहेको छ भन्ने बुझ्नै कठिन भयो।

आँखाअगाडि घटिरहेका घटनाले शरीर शिथिल बनायो। मनमा अनेक प्रश्न उठे। जीवनमा गरेका काम, भेटेका मानिस र परिवारसँग बिताएका क्षणहरू एकैपटक स्मृतिमा आउन थाले। त्यो क्षणमा मानिसले आफ्नो जीवन कति नाजुक रहेछ भन्ने कुरा सबैभन्दा नजिकबाट महसुस गर्दोरहेछ।

म अहिले पनि सोच्ने गर्छु, यदि त्यो दिन म पाँच मिनेट अगाडि त्यहाँ पुगेको भए के हुन्थ्यो होला? पाँच मिनेट ढिलो भएको भए के हुन्थ्यो होला? उत्तर कल्पना गर्दा पनि मन आत्तिन्छ। किनकि मेरो जीवनको कथा त्यही पाँच मिनेटले अर्कै बनाउन सक्थ्यो।

पाँच मिनेट।

सामान्य अवस्थामा पाँच मिनेटको खासै अर्थ हुँदैन। पाँच मिनेट कुर्नु, पाँच मिनेट ढिलो हुनु वा पाँच मिनेट चाँडो पुग्नु हामीमध्ये धेरैका लागि सामान्य कुरा हो।

तर मेरो जीवनमा त्यही पाँच मिनेट जीवन र मृत्युबीचको दूरी बन्यो। आज म यो अनुभव सुनाइरहेको छु भने त्यसको पछाडि त्यही पाँच मिनेटको संयोग छ।

त्यो क्षणपछि जीवनलाई हेर्ने मेरो दृष्टिकोण नै बदलिएको छ। पहिले पनि जीवन अमूल्य छ भन्ने थाहा थियो, तर त्यसको वास्तविक अर्थ आफ्नै आँखाअगाडि विपद्को सामना गरेपछि मात्र गहिरोसँग बुझेँ।

मानिसले भविष्यका लागि अनेक योजना बनाउँछ। भोलि के गर्ने, अर्को वर्ष कहाँ जाने, कसरी अगाडि बढ्ने भन्ने सोचिरहन्छ। तर जीवनले कहिलेकाहीँ एउटा क्षणमै सबै योजना रोकिदिन्छ।

विपद्को त्यो क्षणमा धन, पद, प्रतिष्ठा वा भविष्यका योजनाभन्दा ठूलो कुरा एउटै हुन्छ, जीवन।

त्यसैले अहिले हरेक बिहान आँखा खुल्दा भगवान्लाई धन्यवाद दिन्छु। हरेक सास पहिलेभन्दा गहिरो लाग्छ।

परिवारका सदस्यसँगको भेट, साथीभाइसँगको कुराकानी र सामान्य दिनचर्याका सानासाना क्षणहरू पनि विशेष लाग्न थालेका छन्। हामीले सामान्य ठानेका कुराहरू नै वास्तवमा जीवनका सबैभन्दा ठूला उपहार रहेछन्।

त्यो यात्रामा मैले एउटा अर्को कठोर सत्य पनि नजिकबाट महसुस गरेँ, विपद् कसैलाई खबर गरेर आउँदैन। हामी जतिसुकै सावधानी अपनाए पनि प्रकृतिका अगाडि मानिसको सामर्थ्य सीमित रहेछ।

त्यसैले यात्रा गर्दा होस् वा अन्य कुनै काममा, परिस्थितिको संवेदनशीलता बुझ्नु र आवश्यक सावधानी अपनाउनु अत्यन्त महत्वपूर्ण रहेछ।

तर मेरो व्यक्तिगत अनुभवभन्दा पनि अहिले मेरो मनमा अर्को चिन्ता ठूलो छ। यही विपद्को घडीमा हाम्रो जुम्लाका केही मानिसहरू पनि बेपत्ता हुनुभएको खबरले मन अत्यन्त दुःखी बनाएको छ।

आफ्नै जिल्लाका मानिसहरू सम्पर्कविहीन भएको खबर सुन्दा पीडा झन् गहिरो हुँदोरहेछ। उहाँहरू जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ भन्ने आशा छ। उद्धार तथा खोजीमा खटिनुभएका सबैप्रति सम्मान व्यक्त गर्दै बेपत्ता सबैको छिटोभन्दा छिटो सुखद र कुशल समाचार सुन्न पाइयोस् भन्ने कामना गर्दछु।

विपद्ले मानिसको वास्तविकता पनि देखाउँछ। कठिन समयमा को आफ्नो हो, कसले साथ दिन्छ र कसको प्रार्थना तथा शुभेच्छाले मनलाई बल दिन्छ भन्ने कुरा त्यतिबेला थाहा हुँदोरहेछ।

मेरो कठिन समयमा साथ, सहयोग, हौसला र शुभेच्छा दिनुहुने सबैप्रति म हृदयदेखि आभारी छु। तपाईंहरूको माया र प्रार्थनाले त्यो भयावह क्षण पार गर्ने साहस दिएको छ।

आज म बाँचिरहेको छु। त्यसैले अब जीवनका हरेक पललाई पहिलेभन्दा बढी सम्मान गर्नेछु। हरेक भेटलाई अर्थपूर्ण बनाउनेछु। हरेक यात्रालाई जिम्मेवारीपूर्वक लिनेछु। र हरेक सासलाई भगवान्को अमूल्य उपहार सम्झनेछु।

कहिलेकाहीँ जीवनले ठूलो पाठ सिकाउन वर्षौं लगाउँदैन। एउटा क्षण काफी हुन्छ। मेरो जीवनमा त्यो पाठ सिकाउने क्षण थियो, भदौ १० गतेको त्यो यात्रा।

त्यो दिन मैले मृत्युको नजिक पुगेर जीवनको मूल्य बुझेँ। र आज पनि मनमा एउटै कुरा दोहोरिन्छ, धन्य भगवान्, पाँच मिनेटले ज्यान बच्यो। बाँच्नु आफैमा ठूलो सौभाग्य रहेछ। जीवन पाउनु भगवान्को सबैभन्दा ठूलो कृपा रहेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार