जहाँ धेरैले सीमितता देख्छन्, उनीहरू त्यहीँ अवसर खोजिरहेका छन्। उनीहरूको यात्रा निरन्तर चलिरहेको छ। हिमाल, पहाडको कठिन मोडहरु पारि गरिरहेको बोलेरो जीपझैं।
गाउँको एउटा सानो कोठा। बाहिर सामान्य दिनचर्या। घरआँगनमा उही पुरानै चहलपहल। त्यही कोठाभित्र भने २७ वर्षीय हरिशरण न्यौपानेले आफ्नो भविष्यको एउटा सानो नक्सा कोर्दै थिए।
उनको हातमा ठूलो पूँजी थिएन। व्यापारका लागि ठूलो पूर्वाधार थिएन। बजार पनि ठूलो थिएन। तर मनमा एउटा विश्वास थियो, आफ्नै ठाउँमा बसेर पनि केही गर्न सकिन्छ।
जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकुमा बितेको बाल्यकाल सम्झिँदा हरिशरणलाई व्यापारप्रतिको आफ्नो आकर्षण निकै पुरानो लाग्छ। विद्यालयका किताबभन्दा बजारमा देखिने सामान, व्यापारी र ग्राहकबीचको संवाद तथा किनबेचको गतिविधिले उनलाई बढी तान्थ्यो। अरूले सामान्य रूपमा देखेको बजारमा उनी सम्भावना खोज्थे।
त्यही सोचले उनलाई घरकै एउटा कोठाबाट सानो किराना पसल सुरु गर्ने ठाउँमा पुर्यायो।
त्यो पसलबाट ठूलो आम्दानी हुने अपेक्षा थिएन। तर हरिशरणका लागि त्यो पसल पैसाभन्दा ठूलो कुरा थियो, आफैले केही गर्न सक्छु भन्ने आत्मविश्वासको सुरुवात।
समय बित्दै गयो। सानो व्यापारबाट उनले बजार बुझ्न थाले। ग्राहकको आवश्यकता, सामानको माग, लगानीको जोखिम र व्यवसायमा व्यवहारको महत्व सिक्दै गए। अनि उनको मनमा अर्को ठूलो योजना जन्मियो।
करिब पाँच वर्षअघि विश्वविद्यालयमा अध्ययन गरिरहेकै बेला उनले जुम्ला बजारमा ‘एच–वान ९९’ नामको कपडा पसल सञ्चालनमा ल्याए।
त्यो निर्णय सहज थिएन। पढाइसँगै व्यवसाय सम्हाल्नु आफैमा चुनौती थियो। त्यसमाथि सीमित बजारमा ठूलो लगानी गर्नु जोखिमपूर्ण थियो। तर हरिशरणलाई जोखिमभन्दा सम्भावना ठूलो देखिन्थ्यो।
व्यवसाय विस्तारका लागि आवश्यक पूँजी जुटाउने क्रममा परिवार उनका लागि बलियो आधार बन्यो। उनका दाजु टिकराज न्यौपानेले आफ्नो जागिरको तलब धितो राखेर १० लाख रुपैयाँ ऋण जुटाउन सहयोग गरे।
हरिशरणका लागि त्यो १० लाख रुपैयाँ मात्र थिएन। त्यो परिवारले आफूमाथि गरेको भरोसा थियो।
‘पैसा त ऋण लिएर पनि जुटाउन सकिन्थ्यो होला। तर मलाई सबैभन्दा ठूलो हिम्मत परिवारले गरेको विश्वासले दिएको हो,’ हरिशरण सम्झिन्छन्।

त्यसपछि उनको व्यापारिक यात्रा विस्तार हुँदै गयो। जुम्लाको सानो बजारमा नयाँ शैली र सोचका साथ व्यवसाय गर्ने युवा भनेर उनको परिचय बन्न थाल्यो। उनले ग्राहकलाई केवल सामान बेच्नेभन्दा पनि सम्बन्ध बनाउने प्रयास गरे।
तर हरिशरणको कथा यतिमै रोकिएन। उनको जीवनमा यशोदा महत आइन्।
जुम्लाको महत गाउँकी यशोदासँग विवाह भएपछि हरिशरणले जीवनसाथी मात्र पाएनन्, व्यवसायिक यात्राकी सहयात्री पनि पाए। यशोदाको आफ्नै रुचि थियो, बेकरी। हरिशरणसँग व्यवसाय विस्तार गर्ने चाहना थियो। दुवैको रुचि र सोच एकै ठाउँमा आएपछि उनीहरूले अर्को सपना देखे।
त्यो सपना थियो, हाइल्यान्ड क्याफे। यशोदा मार्टिना निकोलीको स्मृतिमा गरिएको आर्थिक सहयोगबाट सञ्चालन भएको बेकरी तालिम पूरा गर्ने १३ सहभागीमध्ये एक हुन्। तालिममा सिकेको सीपलाई घरमै सीमित राख्ने उनको मन थिएन। सीपलाई व्यवसायमा बदल्ने चाहना थियो।
हरिशरणले बजार र लगानीको पक्ष हेरे। यशोदाले बेकरी र क्याफेको काम सम्हाल्ने योजना बनाइन्। यसरी दुई फरक अनुभव एउटै सपनामा मिसिए।
यसैबीचमा एक वर्ष अगाडि १५ लाख रुपैयाँभन्दा बढी लगानीमा जुम्ला बजारमा उनीहरुले एच वान बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याए। क्याफो निरन्तर प्रगतिउन्मुख छ।

यसै बीचमा आइतबार बिहानदेखि हरिशरण र यशोदाले व्यावसायिक प्रयोजनका लागि ‘एच वान बोलेरो जीप सेवा’ पनि सञ्चालनमा ल्याएका छन्।
एकातिर खाद्य तथा आतिथ्य सेवामा प्रवेश, अर्कोतिर यातायात सेवामा लगानी, हेर्दा यी दुई व्यवसाय फरक देखिन्छन्। तर हरिशरणको दृष्टिमा यी दुवै एउटै सोचका परिणाम हुन्, आफ्नो ठाउँको आवश्यकता बुझेर अवसर खोज्ने।
‘यहाँ सम्भावना छैन भनेर बसिरहनुभन्दा यहाँ के गर्न सकिन्छ भनेर सोच्नुपर्छ। बजार सानो होला, तर आवश्यकता सानो हुँदैन,’ उनी भन्छन्।
जुम्लाजस्तो हिमाली क्षेत्रमा यातायात आफैमा व्यवसायिक आवश्यकता हो। गाउँ बजार आवतजावतदेखि सामान ढुवानीसम्म निजी सवारीको माग रहन्छ। यही आवश्यकतालाई उनले व्यवसायिक सम्भावनाका रूपमा हेरेर बोलेरो सेवा सुरु गरेका हुन्।
यता क्याफे भने यशोदाका लागि अझ व्यक्तिगत अर्थ राख्छ। बेकरी तालिममा सिकेको सीपलाई आफ्नै व्यवसायमा प्रयोग गर्ने अवसर उनले पाएकी छन्।
‘सीप सिकेर मात्र हुँदैन रहेछ। त्यसलाई काममा लगाउन पनि आँट चाहिँदो रहेछ,’ यशोदा भन्छिन्।
क्याफेमा आउने ग्राहकलाई उनी केवल उपभोक्ताका रूपमा हेर्न चाहन्नन्। उनका लागि क्याफे भेटघाट गर्ने, केही समय आराम गर्ने र कुराकानी गर्ने ठाउँ पनि हो।
‘मानिसहरू यहाँ खाना खान मात्र होइन, केही समय बसेर रमाउन पनि आउन् भन्ने चाहना हो,’ उनी भन्छिन्।
हरिशरण र यशोदाको यात्रामा पैसा र व्यवसायको हिसाबभन्दा बाहिर अर्को कथा पनि छ, साझेदारीको।
हरिशरणले एक्लै सुरु गरेको यात्रा अहिले दम्पतीको साझा यात्रामा बदलिएको छ। यशोदाको रुचि, हरिशरणको बजार बुझ्ने क्षमता र परिवारको भरोसा जोडिँदा नयाँ नयाँ व्यवसाय जन्मिएका छन्।
तर सफलताको यो तस्वीरभित्र जोखिम पनि उत्तिकै छ। १५ लाख रुपैयाँभन्दा बढी लगानीमा क्याफे खोल्नु, सवारीसाधनमा लगानी गर्नु र बजारमा नयाँ सेवा सुरु गर्नु कुनै सामान्य निर्णय होइन। लगानी फिर्ता हुने निश्चितता छैन। ग्राहकको रुचि परिवर्तन हुन सक्छ। बजारको आकार सीमित छ। प्रतिस्पर्धा बढ्न सक्छ।
तर हरिशरण जोखिमलाई व्यवसायको स्वाभाविक हिस्सा मान्छन्। उनको जीवनले उनलाई एउटा कुरा सिकाएको छ, अवसर पर्खेर बस्दा अवसर आउँदैन। त्यसलाई खोज्नुपर्छ।
घरको एउटा कोठाबाट सुरु भएको किराना पसल, त्यसपछि कपडा व्यापार, क्याफे र बोलेरो सेवा। हरिशरणको यात्रालाई हेर्दा व्यवसायको आकारभन्दा उनको सोचको विस्तार बढी देखिन्छ।
र यस यात्रामा यशोदा थपिएपछि उनको सपना एक्लो रहेन। दुई जनाको भयो।
सायद त्यसैले उनीहरुको क्याफेको एउटा कप कफीमा केवल स्वाद छैन। त्यहाँ एउटा दम्पतीको जोखिम मिसिएको छ। परिवारले दिएको भरोसा मिसिएको छ। बेकरी तालिमबाट प्राप्त सीप मिसिएको छ। गाउँबाट बजारसम्म आइपुगेको एउटा युवाको आत्मविश्वास मिसिएको छ।
हरिशरण र यशोदाको यात्रा ठूलो लगानी वा ठूलो बजारको कथा होइन। यो सानो ठाउँमा ठूलो सम्भावना देख्ने दृष्टिकोणको परिणाम हो।
जहाँ धेरैले सीमितता देख्छन्, उनीहरू त्यहीँ अवसर खोजिरहेका छन्। उनीहरूको यात्रा निरन्तर चलिरहेको छ। हिमाल, पहाडको कठिन मोडहरु पारि गरिरहेको बोलेरो जीपझैं।

















