माटोको थुप्रोभित्रबाट आएको बच्चा रोएको आवाजले खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको ध्यान तान्यो।
आवाज पछ्याउँदै खोजी गर्दा रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै फेला परेकी छन्।
शुक्रबार साँझ करिब सवा ६ बजे सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार
टोलीले ती बालिकालाई माटोमुनिबाट उद्धार गरेको हो।
टिमुरे क्षेत्रमा खोजी गरिरहेको टोलीले माटोभित्रबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल सोही स्थानमा उद्धार अभियान केन्द्रित गरेको थियो।
केहीबेरको प्रयासपछि माटोले पुरिएको अवस्थामा बालिका फेला परेकी थिइन्।
उद्धार गर्दा बालिका गम्भीर र अचेत अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारपछि उनलाई सीमा सुरक्षा चौकी टिमुरेमा ल्याएर न्यानो पार्दै प्राथमिक हेरचाह गरिएको थियो।
बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत तत्काल उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
तर रात परिसकेकाले हेलिकप्टर उडानमा कठिनाइ भइरहेको बताइएको छ।
माटोमुनिबाट आएको सानो आवाजलाई पछ्याउँदै गरिएको खोजीले बालिकालाई जीवितै बाहिर निकाल्न सम्भव भएको हो।
















