शनिबार, १३ भाद्र, २०८३

तातोपानीमा स्याउ टिपाइ महोत्सव, बगैँचामै प्रतिकिलो ९० रुपैयाँमा बिक्री सम्झौता

तातोपानी गाउँपालिका–६ धौलापानीस्थित बजारौला स्याउ बगैँचामा स्याउ टिपाइ महोत्सव–२०८३ सम्पन्न भएको छ। स्थानीय स्याउ उत्पादनको प्रवर्द्धन, बजारीकरण र किसानलाई बगैँचामै उचित मूल्य उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

तातोपानी गाउँपालिका, कृषि विकास कार्यालय जुम्ला, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जुम्ला, ली–बर्ड/रेरास तथा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव सम्पन्न भएको हो।

महोत्सवमा यस वर्ष बगैँचामै प्रतिकिलो ९० रुपैयाँका दरले स्याउ बिक्री गर्ने सम्झौता भएको आयोजकले जनाएको छ। उक्त मूल्यअनुसार करिब ३४ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुँदा करिब ३० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। स्याउको बिक्री तथा बजारीकरणका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरिएको छ।

कार्यक्रमको अध्यक्षता कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले गरेका थिए। उनले जुम्लाको स्याउलाई स्थानीय बजारमा मात्र सीमित नराखी व्यवस्थित बजारीकरणमार्फत राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताए। किसानलाई उत्पादनदेखि बजारसम्म आवश्यक प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

महोत्सवका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधारमन्त्री माधव चौलागाईंले जुम्लाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार कृषि क्षेत्र भएको बताए। उनले स्याउ उत्पादनलाई व्यावसायिक र आधुनिक बनाउँदै स्थानीय उत्पादनको बजारीकरणसँगै सडक तथा अन्य पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिए। किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले स्याउलाई जुम्लाको पहिचानसँगै आम्दानीको प्रमुख स्रोतका रूपमा विकास गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए। उत्पादन वृद्धि, गुणस्तर कायम र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। उनले स्याउ किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै स्थानीयस्तरमै स्याउ प्रशोधन र बजारीकरण गर्न सके किसानको आम्दानी थप बढाउन सकिने बताए।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले कृषि उत्पादनको व्यवस्थित बजारीकरण र सुरक्षित ढुवानीका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। जुम्लाको स्याउको गुणस्तर र पहिचान कायम राख्दै बाहिरी बजारसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

जिल्ला प्रहरी प्रमुख चिरञ्जीवी दाहालले कृषि उत्पादनको सुरक्षित ढुवानी तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। किसानले उत्पादन गरेको वस्तु सहज रूपमा बजारसम्म पुर्‍याउन सुरक्षा तथा यातायात व्यवस्थापनसमेत महत्वपूर्ण रहेको उनको भनाइ थियो।

जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले आधुनिक प्रविधिको प्रयोगले स्याउको उत्पादन र गुणस्तर दुवै बढाउन सकिने बताए। कृषि क्षेत्रको विकासका लागि किसान, स्थानीय सरकार र सम्बन्धित संस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको उनले बताए।

स्याउ उत्पादक समूहकी सचिव लक्ष्मीचन्द विष्टका अनुसार यस वर्ष ‘सेन्सस प्रविधि’बाट खेती गरिएको स्याउको रङ, दाना र तौल राम्रो भएको छ। उत्पादित स्याउले बगैँचामै उचित मूल्य पाउन थालेको उनले बताइन्। उत्पादन लागतअनुसार मूल्य पाउन थालेपछि किसानमा व्यावसायिक स्याउ खेतीप्रति थप उत्साह बढेको उनको भनाइ छ।

महोत्सवमा ५२ जना किसान सहभागी भएका थिए। किसानका बगैँचामा करिब ६ हजार ५ सय स्याउका बिरुवा रहेका छन् भने करिब ७ हेक्टर अर्थात् १४० रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ। यस वर्ष उक्त क्षेत्रबाट करिब ३४ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार