बुधबार, १० भाद्र, २०८३

रसुवाको बाढीपहिरोमा जुम्लाका दर्जनौँ कामदार बेपत्ता भएको आशंका

रोजगारीका लागि रसुवा पुगेका जुम्लाको पातारासी क्षेत्रका दर्जनौँ कामदार बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन्।

एउटै हाइड्रोपावर कम्पनीमा काम गरिरहेका पातारासी क्षेत्रका करिब ७०–८० जनामध्ये अहिलेसम्म ६ जना मात्रै सुरक्षित स्थानमा पुग्न सफल भएको स्थानीयले बताएका छन्। बाँकी कामदारको अवस्था अझै अज्ञात छ।

बाढीपहिरोबाट ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका पातारासी–५ माथिल्लो लोर्पाका भक्तिराम बोहोराका अनुसार उनीसँगै काम गरिरहेका जुम्लाका धेरै कामदार सम्पर्कविहीन छन्।

‘बाढीपहिरोबाट बचेर हामी ६ जना सुरक्षित ठाउँमा आइपुगेका छौँ। तर, सँगै काम गर्ने अरू साथीहरूको अवस्था थाहा हुन सकेको छैन,’ बोहोराले बताए।

बाढीपहिरोबाट प्रभावित हाइड्रोपावर क्षेत्रमा जुम्लाका धेरै कामदार कार्यरत रहेको उनले जानकारी दिए। घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ। हेलिकप्टरमार्फत समेत खोजी तथा उद्धारको प्रयास भइरहेको बताइएको छ।

पातारासी–५ तल्लो लोर्पाका समाजसेवी रामन बुढाका अनुसार सिंगो पातारासी गाउँपालिकाबाट मात्रै ८०–९० जनाको हाराहारीमा रोजगारीका लागि रसुवा पुगेका छन्। घटनापछि उनी स्थानीय प्रशासनसँग सम्पर्कमा रहेर उद्धार तथा राहतका लागि पहल गरिरहेका छन्।

‘रसुवाका प्रमुख जिल्ला अधिकारीसँग राहत र उद्धारका विषयमा नियमित सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ बुढाले भने।

घटनापछि पातारासी गाउँपालिकाले पनि आफ्ना नागरिकको अवस्थाबारे तथ्यांक संकलन थालेको छ। गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार पातारासीका कुन–कुन वडाबाट कति जना रसुवा पुगेका छन् भन्ने विवरण संकलन गर्न सबै वडा अध्यक्षलाई जानकारी गराइएको छ।

स्थानीय तहले प्रारम्भिक विवरण संकलन गरिरहे पनि बेपत्ता कामदारको वास्तविक संख्या यकिन हुन सकेको छैन। उद्धार कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आउन बाँकी छ। रोजगारीका लागि घरदेखि टाढा पुगेका नागरिक विपत्तिमा परेपछि पातारासीका परिवारमा भने आफ्ना आफन्तको अवस्थाबारे चिन्ता बढेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार