बुधबार, १० भाद्र, २०८३

अन्तर्वार्ता : चुनावमा बाचा गरेका ८० प्रतिशत काम भए, बाँकी काम पूरा गर्ने प्रयासमा छु, तिलक प्रसाद न्यौपाने

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकालमा के गरे? निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता कति पूरा भए? विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापन र बजेट परिचालनमा स्थानीय सरकारको भूमिका कस्तो रह्यो? यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित छ, ‘कार्यक्रम सिंहावलोकन’को यो विशेष शृंखला।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुगेको सन्दर्भमा चन्दननाथ नगरपालिका -१ का वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले आफ्नो वडामा भएका विकास निर्माणका काम, पूरा हुन बाँकी योजना, बजेटको अवस्था तथा आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धताको समीक्षा गरेका छन्।

वडा नम्बर १ कृषि उत्पादनका दृष्टिले जुम्लाको महत्वपूर्ण क्षेत्र मानिन्छ। विशेषगरी तरकारी उत्पादन, सिँचाइ र बजार व्यवस्थापन यहाँका प्रमुख विषय हुन्। न्यौपानेले ठिन्के कुलोलाई १२ महिना सञ्चालनमा ल्याउनु आफ्नो प्रमुख उपलब्धिमध्ये एक भएको बताएका छन्। सडक, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासमा पनि उल्लेख्य काम भएको उनको दाबी छ।

यद्यपि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, उत्पादित कृषि उपजले उचित बजार र मूल्य नपाउनु तथा नगरपालिकाबाट प्राप्त हुने बजेट पर्याप्त नहुनुजस्ता चुनौती अझै कायम रहेको उनले स्वीकार गरेका छन्। वडा अध्यक्ष न्यौपानेसँग यीनै विषयमा कार्यक्रम सिंहावलोकनका लागि कुटीरोका प्रतिनिधि महेश नेपालीले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ।

तपाईंहरूको कार्यकाल पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ। निर्वाचनका बेला जनतासँग विभिन्न प्रतिबद्धता गर्नुभएको थियो। ती प्रतिबद्धताअनुसार काम गर्न कति सफल भएँ जस्तो लाग्छ?

हामी निर्वाचित भएर आएपछि २०७९ जेठ ६ गते पदबहाली गरेका थियौँ। त्यसपछि जनताका दैनिक सरोकारका विषय र विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म काम गरेका छौँ।

निर्वाचनअघि वडा नम्बर १ का युवाहरूले सबै वडा अध्यक्षका उम्मेदवारलाई बोलाएर कान्जीरोवाको हलमा एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो। त्यहाँ सबै उम्मेदवारलाई आफ्नो भिजन, मिसन, उद्देश्य र वडाका लागि गर्न खोजेका कामबारे स्पष्ट धारणा राख्न भनिएको थियो।

मैले पनि त्यहाँ केही प्रतिबद्धता व्यक्त गरेको थिएँ। त्यसबेला बोलेका प्रतिबद्धतामध्ये कति पूरा भए, कति हुन सकेनन् भनेर समीक्षा गर्न युवाहरूलाई पनि अनुरोध गरेको छु। सम्भवतः उहाँहरूले त्यसको समीक्षा पनि गर्नुहुनेछ।

तपाईंले त्यसबेला के प्रतिबद्धता गर्नुभएको थियो?

चन्दननाथ नगरपालिका वडा नम्बर १ कृषि उत्पादनका हिसाबले परिचित क्षेत्र हो। यहाँ तरकारी खेतीलगायत विभिन्न कृषि उत्पादन हुन्छन्। त्यसैले मैले कृषिलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता गरेको थिएँ।

त्यसमा पनि ठिन्के कुलोको समस्या प्रमुख थियो। त्यहाँका कृषकहरूले कुलोमा पानी सञ्चालन गरिदिनुपर्‍यो भनेर जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयलगायत विभिन्न सरोकारवाला निकायमा कुरा राख्दै आउनुभएको थियो।

मेरो पहिलो प्रतिबद्धतामध्ये एउटा ठिन्के कुलोमा जसरी पनि पानी सञ्चालन गरेर रोपाइँ गराउने र त्यसलाई १२ महिना चल्ने बनाउने थियो।

ठिन्के कुलोले कति क्षेत्र सिँचाइ गर्छ?

ठिन्के कुलोले आचार्यबाडाको ठूलो भूभाग सिँचाइ गर्छ। त्यसपछि कालेखोलीसम्म पनि पुग्छ। करिब ९ सय मुरी बराबरको उत्पादन हुने क्षेत्रलाई यसले सिँचाइ सुविधा पुर्‍याउँछ।

म पदबहाली गरेको केही समयमै, जेठ २१ गते पानी ल्याएर रोपाइँ गराउन सफल भएको थिएँ। त्यसपछिका वर्षहरूमा पनि निरन्तर काम गर्दै अहिले ठिन्के कुलोलाई १२ महिना पानी आउने अवस्थामा पुर्‍याएका छौँ।

अहिले पनि १२ महिना सञ्चालनमा छ?

अहिले सञ्चालनमा छ। १२ महिना पानी आउने अवस्था बनाएका छौँ।

कृषिबाहेक अन्य विकास निर्माणका काम के-कस्ता गर्नुभयो?

सडक, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा पनि काम गरेका छौँ। पर्यटनतर्फ दासाङको चिहान क्षेत्र सुधार गरिएको छ। त्यहाँ क्रियाघर निर्माण गरिएको छ। दान्स–डुडाखोज सडकलाई प्राथमिकता दिइएको छ।

त्यसैगरी ठिन्केमा अहिले ‘भाइरल डाँडा’ भनेर चिनिन थालेको स्थानमा राष्ट्रिय झण्डा निर्माण गरेर पर्यटक आकर्षित गर्ने कृत्रिम पर्यटकीय गन्तव्य बनाइएको छ। त्यहाँ रेलिङ, सिँढीलगायतका संरचना निर्माण गरेका छौँ।

कुलालबाडाको बाटो, दाङ्गेको बाटो तथा दमैबाट लुवारबाडासम्मको भित्री बाटो ढलान गर्ने काम पनि भएको छ।

यी काम मैले व्यक्तिगत रूपमा गरेको भन्ने होइन। जनताको साथ, कर्मचारी साथीहरूको सहयोग, जनप्रतिनिधि साथीहरूको समन्वय र जुम्लाका अग्रजहरूको सहयोगबाट यी काम सम्भव भएका हुन्।

वडाको बजेटभन्दा बाहिरबाट समेत योजना ल्याएर विकास निर्माणका काम गरेका छौँ। अझै दुई–चारवटा काम बाँकी छन्। सबै काम एकैपटक सम्पन्न गर्न नसकिए पनि क्रमशः अगाडि बढिरहेका छौँ।

नगरपालिकाबाट प्राप्त हुने बजेट त पर्याप्त हुँदैन होला नि?

पर्याप्त छैन। नगरपालिकाले आफ्नो स्रोत साधनले भ्याएसम्म बजेट दिइरहेको छ। त्यसबाहेक संघ, प्रदेश तथा विभिन्न संघ संस्थासँग समन्वय गरेर थप योजना ल्याएका छौँ।

कृषितर्फ रिरास परियोजना, एएसपी, एएसटीपी लगायतका विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेका छौँ। प्याज पकेट क्षेत्र घोषणा गर्नेदेखि कृषि उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन भएका छन्।

मन्त्रालय र राष्ट्रिय तहमा काम गरिरहेका कर्मचारी तथा अन्य सरोकारवालाको सहयोगले पनि वडाको विकासमा योगदान पुगेको छ।

मनग्य बजेट ल्याउनुभयो भन्न मिल्छ?

मनग्य भन्न मिल्दैन, तर अरूको तुलनामा सन्तोषजनक बजेट ल्याउन सकेका छौँ भन्न मिल्छ।

अझै कुन-कुन ठाउँमा सडक ढलान गर्न बाँकी छ?

दानसौदेखि डुँडखोचसम्मको सडक र पानी ट्यांकीदेखि सार्कीबाडासम्मको सडक ढलान गर्न बाँकी छ। प्रदेशबाट हुने केही काम अहिले पनि भइरहेका छन् र आगामी वर्षका लागि पनि योजना छन्।

निर्वाचनका बेला वडाभित्रका सबै सडक पक्की बनाउने र एम्बुलेन्स तथा दमकल सहज रूपमा चल्न सक्ने बनाउने प्रतिबद्धता गरेको थिएँ। त्यसको करिब ८० प्रतिशत काम पूरा भएको छ। २० प्रतिशतजति बाँकी छ। यो वर्ष पनि त्यसका लागि बजेट र प्रयास जारी छ।

स्वास्थ्य क्षेत्रमा के-कस्ता काम गर्नुभयो?

म आएपछि आधारभूत स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरेर त्यहीँबाट स्वास्थ्य सेवा सुरु भएको छ। भवनलाई घेरबार गरिएको छ र नेपाल सरकारले आधारभूत स्वास्थ्य संस्थाबाट दिने सेवा सुविधा उपलब्ध गराइएको छ।

वर्षमा दुई, तीनपटक गाउँघर क्लिनिक पनि सञ्चालन गरेका छौँ। आधारभूत स्वास्थ्य संस्थासँगको सहकार्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा अतिविपन्न परिवारका लागि घरदैलोमै पुगेर स्वास्थ्य जाँच तथा सेवा दिने काम पनि गरेका छौँ।

तपाईंको वडामा माध्यमिक विद्यालय छैन, होइन?

हाम्रो वडामा एउटा संस्थागत र दुईवटा सामुदायिक विद्यालय छन्। तीमध्ये एउटा सामुदायिक विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ।

एउटा सामुदायिक विद्यालयको नतिजा कमजोर छ र विद्यार्थी संख्या पनि घटिरहेको सुनिन्छ। अवस्था त्यस्तै हो?

सामुदायिक विद्यालयको समस्या वडा नम्बर १ को मात्र होइन, देशभरकै समस्या हो। हाम्रो वडाको कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयको अवस्था तुलनात्मक रूपमा राम्रो छ। तर कक्षा ५ सम्म सञ्चालन भएको अर्को विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ।

त्यसलाई सुधार गर्न वडाले सहयोग गरिरहेको छ। अतिरिक्त शिक्षकको व्यवस्था गरेका छौँ। विद्यार्थीलाई पोसाक, कापी, कलम, झोलालगायत शैक्षिक सामग्रीको व्यवस्था गरेका छौँ। संघ संस्थासँगको सहकार्यबाट पनि सहयोग गरेका छौँ।

तर हामीले अपेक्षा गरेअनुसार विद्यार्थी संख्या बढाउन र विद्यालयको अवस्थामा सुधार ल्याउन भने सकेका छैनौँ।

यसको एउटा कारण जन्मदर घट्नु पनि हो। अहिले जन्मदर कम हुँदै गएको छ। बाहिर रोजगारीमा जाने अभिभावकका छोराछोरी पनि बाहिरै पढ्ने गरेका छन्।

अर्कोतर्फ अभिभावकमा सामुदायिक विद्यालयप्रतिको विश्वास घटेको देखिन्छ। पहिले शिक्षामा कमजोर रहेका अभिभावकले अहिले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भनेर निजी तथा संस्थागत विद्यालय रोज्ने गरेका छन्।

सामुदायिक विद्यालय बलियो हुनुपर्छ कि निजी क्षेत्रले चलाएका विद्यालयलाई प्राथमिकता दिनुपर्छ?

सामुदायिक विद्यालय बलियो हुनुपर्छ। सरकारले दिने सेवा सुविधा र अवसरका हिसाबले पनि सामुदायिक विद्यालयको महत्व छ।

तर सामुदायिक विद्यालय बलियो बनाउन केन्द्रदेखि नै शिक्षा नीतिमा सुधार आवश्यक छ। नीति परिवर्तन नगरेसम्म अपेक्षित सुधार आउन गाह्रो छ।

अहिले एउटा समस्या के देखिएको छ भने सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्नै छोराछोरी संस्थागत विद्यालयमा पढाउने अवस्था छ। शिक्षक आफैँले आफूले पढाउने विद्यालयमा विश्वास गर्न नसकेको देखिएपछि अभिभावकले कसरी विश्वास गर्ने?

सामुदायिक विद्यालय कमजोर हुनुको मुख्य कारण शिक्षक मात्र हुन् कि अरू पक्ष पनि जिम्मेवार छन्?

शिक्षक मात्र होइन, अभिभावक पनि जिम्मेवार छन्। हामी बोर्डिङमा पढ्ने बच्चालाई बिहानै उठाएर सफा कपडा लगाइदिन्छौँ, कपाल मिलाइदिन्छौँ, जुत्ता–मोजा मिलाउँछौँ र चिटिक्क पारेर विद्यालय पठाउँछौँ। तर त्यही बच्चा सामुदायिक विद्यालयमा जाने हो भने ‘जा, स्कुल जान’ भनेर सामान्य रूपमा पठाउने अवस्था छ।

यसमा अभिभावकको भूमिका पनि महत्वपूर्ण छ। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कमजोर छन् भन्ने होइन। उनीहरूले संस्थागत विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन्। कतिपय अवस्थामा उनीहरूको बाह्य ज्ञान पनि राम्रो हुन्छ।

समस्या के हो भने हामीले सामुदायिक विद्यालय पनि अब्बल छन् भन्ने विश्वास अभिभावकलाई दिलाउन सकेका छैनौँ।

वडा नम्बर १ जुम्लाकै धेरै तरकारी उत्पादन हुने क्षेत्रमध्ये पर्छ। तर उत्पादन राम्रो भए पनि बजारको समस्या देखिन्छ। स्थानीय सरकारले के गर्न सक्छ?

किसानले उत्पादन गरेको वस्तुले बजार पाएन भने उसको वर्षभरको लगानी जोखिममा पर्छ। त्यसैले स्थानीय सरकारले बजारको सुनिश्चितता गर्नुपर्छ।

तरकारी संकलन केन्द्र निर्माण गर्न सकिन्छ। मूल्य निर्धारणका विषयमा किसान र व्यापारीबीच समन्वय गर्न सकिन्छ।

हामीले पनि कृषक समूहसँग छलफल गरेर बजार मूल्य निर्धारणको प्रयास गरेका छौँ। तर हरियो तरकारीको मूल्य सधैँ एउटै हुँदैन। बजारमा माग बढ्दा मूल्य बढ्छ, माग घट्दा मूल्य घट्छ। यो बजार अर्थशास्त्रको सामान्य नियम हो।

हामीले किसानलाई कम्तीमा उत्पादन लागतभन्दा तल गएर आफ्नो उत्पादन नबेच्न आग्रह गरेका छौँ।

किसानले नाफा कसरी निर्धारण गर्ने?

सबैभन्दा पहिले उत्पादन लागत निकाल्नुपर्छ। बीउ राखेदेखि अन्तिम उत्पादन बजारमा लैजाँदासम्म कति खर्च भयो भनेर किसानले हिसाब राख्नुपर्छ।

त्यसपछि उत्पादन कति भयो र प्रतिकिलो लागत कति पर्‍यो भनेर हिसाब गर्नुपर्छ। लागतभन्दा माथि आफूले चाहेको नाफा जोडेर मूल्य निर्धारण गर्नुपर्छ।

व्यवसायमा सधै नाफा हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ घाटा पनि हुन सक्छ। तर घाटा कति भयो भन्ने थाहा पाउन पनि लागतको हिसाब आवश्यक हुन्छ।

नगरपालिकाले संकलन केन्द्र निर्माणको सुरुवात गरेको छ। केही प्राविधिक तथा सञ्चालनसम्बन्धी समस्या भएकाले त्यसको पूर्ण सञ्चालनमा समस्या आएको छ। त्यो समाधान भएपछि कृषि उपजको बजार व्यवस्थापनमा केही सहजता आउने अपेक्षा छ।

किसानलाई प्रोत्साहन गर्न वडाले के गरेको छ?

बीउ, मल र सिँचाइमा अनुदान तथा सहयोग दिँदै आएका छौँ। यी तीनवटै क्षेत्रमा हामीले विशेष जोड दिएका छौँ।

वडा बजारको नजिक भएकाले अहिले ढुवानीमा छुट वा अनुदान दिने कार्यक्रम भने आवश्यकताअनुसार सञ्चालन भएको छैन। आवश्यक परे व्यापारीहरूले पनि बाहिरबाट कृषि सामग्री ल्याउन सक्ने अवस्था छ।

अब नगरपालिकासँगको सम्बन्ध र बजेटको विषयमा कुरा गरौँ। केही वडा अध्यक्षले आफ्नो वडाले पर्याप्त बजेट पाएन भनेर असन्तुष्टि जनाउनुभएको थियो। एउटै राजनीतिक दलमा भएकाले विरोध गर्न नसक्ने अवस्था पनि हुन्छ?

त्यस्तो होइन। साथीहरूले आफ्नो वडाका लागि बजेट बढी चाहनु स्वाभाविक हो। जनप्रतिनिधिले आफ्नो क्षेत्रका लागि बढी बजेट माग्नु स्वाभाविक अधिकार पनि हो।

तर बजेट माग्दा तर्कसहित माग्नुपर्छ। कुन शीर्षकमा कति बजेट बढी छ, कहाँबाट कटौती गरेर आफ्नो वडामा ल्याउन सकिन्छ भन्ने आधार प्रस्तुत गर्नुपर्छ।

नगरपालिकाले गर्नैपर्ने न्यूनतम काम पूरा गरेपछि बाँकी स्रोतका आधारमा बजेट वितरण हुन्छ। स्रोत नै सीमित छ भने चाहेजति बजेट कहाँबाट ल्याउने?

हामीले पनि बजेटको विषयमा आफ्ना कुरा राख्छौँ। मेरो वडामा पहिलो वर्ष करिब ६०, ६२ लाख रुपैयाँ बजेट आएको थियो। त्यसपछि क्रमशः घट्दै गयो। अहिले संघ र प्रदेशबाट आउने रकमसमेत वार्षिक रूपमा घटिरहेको अवस्था छ।

सामान्य रूपमा बजेट बढ्दै जानुपर्ने हो, तर स्रोत घटिरहेका कारण समस्या भएको छ।

वडाको आन्तरिक आम्दानीको अवस्था कस्तो छ?

वडा र नगरको आन्तरिक आम्दानीलाई छुट्टाछुट्टै हेर्नुपर्छ। हाम्रो आन्तरिक आम्दानीको अवस्था ठीक छ। अघिल्लो समयमा हामी करिब सात लाख रुपैयाँको आसपासमा थियौँ। समग्र नगरपालिकाको आम्दानीमा जाने भएकाले यो वर्ष लक्ष्य हासिल भएको अवस्था छ।

निर्वाचनका बेला गरेका प्रतिबद्धतामध्ये पूरा गर्न नसकेको कुनै प्रमुख योजना छ?

मैले वडाभित्रका प्रत्येक सडक पक्की हुने र ती सडकमा एम्बुलेन्स तथा दमकल सहज रूपमा गुड्न सक्ने बनाउने प्रतिबद्धता गरेको थिएँ। त्यसको करिब ८० प्रतिशत काम पूरा भएको छ। बाँकी २० प्रतिशत काम पूरा गर्न प्रयास गरिरहेको छु।

यो वर्ष पनि त्यसका लागि बजेट छ। तर कार्यकालको अन्तिम वर्षमा अपेक्षित तालमेल नमिलेको अनुभूति भएको छ।

चुनाव नजिकिँदै गर्दा वितरणमुखी योजना ल्याएर चुनावी फाइदा लिन खोज्नुभएको त छैन?

छैन। मेरो प्राथमिकता वितरणमुखीभन्दा ठोस विकास निर्माण हो। म वडा अध्यक्ष भएर आएपछि पार्टीका आधारमा कसैलाई विभेद गरेको छैन। 

सेवा लिन फरक पार्टीका साथी आउनुभयो भने उहाँहरूलाई पनि समान रूपमा सेवा दिएको छु। कतिपय अवस्थामा आफ्नै पार्टीका मानिसभन्दा फरक पार्टीका साथीलाई अगाडि राखेर सेवा दिएको अवस्था पनि छ।

अब अन्तिमतिर जाऔँ। आगामी निर्वाचनमा फेरि वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ?

मैले धेरै ठाउँमा पनि भनेको छु, अब म वडा अध्यक्षमा उठ्दिनँ। तर राजनीतिबाट अलग हुने होइन। माथिल्लो तहमा प्रयास गर्छु। पार्टीले विश्वास गर्‍यो र जनताले पनि विश्वास गर्नुभयो भने नगरको माथिल्लो तहमा मेरो प्रयास रहनेछ।

आकांक्षीका रूपमा?

आकांक्षीका रूपमा मेरो प्रयास रहन्छ। नगर प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति, प्रदेश सांसद वा संघीय सांसदजस्ता माथिल्ला जिम्मेवारीका लागि अवसर आएमा म तयार छु।

तर मैले साथीहरूलाई पहिले नै प्रतिबद्धता गरेको छु। ‘एकपटक मलाई अवसर दिनुभयो भने फेरि वडा अध्यक्षमा तपाईंहरूलाई पछि पारेर म आउँदिनँ’ भनेको छु। त्यसैले अब वडा अध्यक्षमा दोहोरिने मेरो इच्छा छैन।

राजनीति गर्ने व्यक्तिले माथिल्लो जिम्मेवारीको आकांक्षा राख्नु स्वाभाविक हो। तर त्यसका लागि जनताको विश्वास र पार्टीको विश्वास दुवै आवश्यक हुन्छ।

हामी राजनीतिक दलसँग आबद्ध भएकाले पार्टीको अनुशासन पनि मान्नुपर्छ। ‘म भएँ भने भयो, म नभए केही हुँदैन’ भन्ने सोच राख्नु हुँदैन। पार्टीले आवश्यकता ठान्यो र जनताले पनि आवश्यकता महसुस गर्नुभयो भने म तयार छु।

अर्थात् पार्टीले आवश्यकता ठानेको अवस्थामा फेरि जनतामाझ जाने तयारी छ?

अवश्य जान्छु।

आफ्ना महत्वपूर्ण समय दिएर ‘कार्यक्रम सिंहावलोकन’को स्टुडियोमा उपस्थित हुनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।

आफ्ना विचार जनतामाझ राख्ने अवसर दिनुभएकोमा हजुरहरूलाई पनि धेरै–धेरै धन्यवाद। नमस्कार।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार